ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरोध
खोटाङ, १७ मंसिर
खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्गमा अवरोध पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका विभिन्न ठाउँमा सडकमाथिका ढुंगाखानीबाट निस्किएको ढुंगामाटो जथाभावी मिल्काउँदा सडकमा अवरोध खडा भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लगायतका स्थानमा सडकमाथिबाट ढुंगा निकाल्ने क्रममा निस्किएको ढुंगामाटो यत्रतत्र मिल्काउँदा सवारी आवागमनमा अवरोध पुगेको हो । सडकमा थुप्रिएको ढुंगामाटोले सडक दुर्घटनाको जोखिम बढाएको छ । सवारी आवागमनमा अवरोध पुगे पनि सडकमा थुप्रिएको ढुंगा माटो पन्छाउनमा कसैको ध्यान नपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गजेन्द्र राईले बताए ।
सडक, नहर, भवन लगायतका भौतिक संरचना निर्माणका लागि मध्यपहाडी आसपासबाट ढुंगा निकालिएको हो । ढिकुरेमा सडकभन्दा माथिबाट ढुंगा झिक्नेक्रममा सडकको कुना र डिलमा ढुंगामाटो थुप्रिएको छ । सोल्मामा ढुंगामाटोले सडकको आधा भाग ओगटेको छ । जग्गा धनीले निर्माण सम्वद्ध व्यक्तिलाई ढुंगा बिक्री गर्नेगरेका छन् । ढुंगा बिक्रीबाट कतिपय स्थानीयले राम्रो आम्दानी पनि लिने गरेका छन् ।
तर ढुंगा झिक्ने पक्षले ढुंगामाटो नपन्छाइ छोड्दा समस्या भएको हो । सडकमा थुप्रिएको ढुंगामाटो पन्छाउनका लागि आग्रह गरे पनि बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष हरिप्रसाद चौंलागाईले बताए । ‘जग्गा धनीले ढुंगा बिक्री गर्छन् । तर ढुंगा झिक्नेले सडकमा झरेको ढुंगामाटो नपन्छाइ जान्छ,’ वडाध्यक्ष चौंलागाईले भने, ‘ढुंगामाटो पन्छाउन लगाए पनि पन्छाइएको छैन । ढुंगा झिके पनि सडकलाई असर पुग्नु भएन ।’
क्याटेगोरी : मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस