सम्भव छ यौन रोगको उपचार
हाम्रो शरीर विभिन्न प्रणाली मिलेर बनेको हुन्छ । यिनै प्रणालीहमध्ये एक हो, प्रजजन प्रणली । यसै प्रजजन प्रणाली र तिनका सहायक अंगहरूमा हुने संक्रमणलाई यौन रोग भनिन्छ । विशेषतः यौन रोगहरू एक व्यक्तिबाट अर्कोमा सर्ने प्रकृतिका हुन्छन् ।
नेपालका अधिकांश नागरिकको आर्थिक स्तर न्युन छ । सरसफाइ, जनचेतना र प्रभावकारी स्वास्थ्य सेवा सहजै उपलब्ध छैन । यसकारण पनि रोग लागेपछि समयमै उपचार पाउन गाह्रो छ । तर विगत केही दशकदेखि एन्टिबायोटिकको प्रयोग धेरै हुन थालेकाले केही सामान्य प्रकृतिका संक्रामक यौन रोगमा भने कमी आएको छ । आफूलाई लागेको रोगको विषयमा मानिसहरूले खुलेर भन्न थालेका छन् र यौनरोगका विभिन्न समस्याको उपचार गर्न सम्बन्धीत विशेषज्ञ भएको ठाउँमा आउने चलन बढेको छ ।
कुनै पनि रोग वा समस्यासँग डराउनु मानवीय स्वभाव नै हो । तर कुनै घाउ औंलामा लाग्दा र यौन अंगमा लाग्दा व्यक्तिले त्यसमाथि राख्ने धारणा फरक हुन्छ । यौन अंगमा केही समस्या आउँदा मानिस संवेदनशील बन्छ । यसबाहेक हाम्रो सामाजिक धारणामा पनि कसैलाई यौन तथा प्रजजन रोग भएमा उसमाथि नकारात्मक सोच राखिन्छ । यिनै कारणहरू गर्दा मानिस यौन रोग भनेपछि तर्सने गर्छन् । तर अधिकांश यौन रोगको उपचार हुने भएकाले लाज मान्न, डराउन र आफ्नो समस्या लुकाउन हुँदैन । फराकिलो चेतना राखेर रोगको निदान गर्नतर्फ लाग्नुपर्छ ।
नेपालमा बढी देखिएका यौन रोग
पहिलापहिला मानिसहरू भिरिङ्गी, धातुमेहजस्ता रोग लिएर स्वास्थ्य संस्थामा आउँथे । अहिले एन्टिबायोटिकलगायत घाउ निको पार्ने औषधीको प्रयोग बढेर यी रोगहरू कम देखिन थालेका छन् । सन् १९९० पछि भने एचआइभी र एड्सका समस्या बढी देखिन थालेका हुन् । एचआइभीले मानिसको समग्र शारीरिक क्षमतामा शिथिलता र संक्रमण ल्याउने भएकाले यो अलि उच्च तहको डरलाग्दो रोग हो ।
यसबाहेक नेपाली महिलाहरूमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सर हुनेजस्ता समस्या बढी देखिने गर्छ । यससँगै जनेन्द्रीयमा दाग आउने, घाउहरू हुने र मुसा आउने समस्या पनि देखिन थालेका छन् ।
यौन रोगका लक्षणहरू
यौन रोग लागिसकेपछि पिसाब फेर्दा पोलिरहने, पिसाबबाट केही धातु चिजहरु अथवा पिप बग्ने हुन्छ । यस्तो हुँदा युरिथ्राइटिस (पिसाबको नलीमा इन्फेक्सन हुने) हुन्छ । गोनोरिया रोग लाग्दा यस्तो लक्षण देखा पर्छ ।
अर्को घाउमात्रै हुने रोग पनि हुन्छ । यससँगै पुरुषको लिंग तथा महिलाको योनिमा घाउ, खटिरा सिफिलिस रोगमा हुन्छ । रोगको सबै प्रकृति भने उपचार, टेस्ट गरेर मात्रै थाहा हुन्छ । कुनै यौनरोगले पूरै शरीरलाई असर गर्छ भने कुनै यौनांगमा मात्रै सीमित हुन्छ ।
यौनांगमा काई परेजस्तो ढुसी जम्मा हुने, पिसाब पोल्ने, पिप आउने समस्याले पनि धेरैलाई सताउँछ । यस्तै यौन सम्पर्क गर्दा योनीभित्रपट्टि दुख्ने, तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वरिपरि घाउ–खटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा र काछका गन्थ्रीहरू सुन्निने, दुख्ने वा फुटेर घाउ हुनेजस्ता लक्षणहरू देखिन्छन् ।

यौन रोगबाट बच्ने उपायहरू
व्यक्ति आफ्नो यौन व्यवहारमा सचेत रहन्छ भने अधिकांश यौन रोगबाट बच्न सकिन्छ । यसकारण सचेतना नै यौन रोगबाट बच्ने प्रमुख तत्त्व हो । सुरक्षित यौन व्यवहार गर्ने, पुरुषहरूले अनिवार्य रुपमा कण्डमको प्रयोग गर्ने बानीले यौन रोगबाट बताउँछ । निर्मलीकरण नगरेको सुई औजार उपकरण प्रयोग नगरी जाँचेको रगत वा रगतबाट बनेको पदार्थको मात्रै प्रयोग गर्नुपर्छ ।
यौन र यौन रोगको बारेमा संकोच वा लाज नमानिकन जानकारी लिने, सुरक्षित यौन व्यवहार अपनाउने र यौन अंगको नियमित सरसफाइ गर्ने बानीले यौन रोगबाट बच्न सघाउ पुर्याउँछ । हाम्रो समाज यौन स्वास्थ्यबारे त्यति खुल्न चाहँदैन जसका कारण विभिन्न जटिलताहरु उत्पन्न हुने गर्छन् ।
कतिपयले शारिरिक सम्पर्कका बेला गर्ने सामान्य गल्तीले पनि ठूला समस्या निम्त्याउन सक्छ । यौन रोगबाट बच्ने प्रमुख उपाय भनेको शारिरिक सम्पर्कका बेला प्रयोग गर्ने अस्थायी साधन पनि हो । यस्ता साधन महिला र पुरुष दुवैका लागि सहजै उपलब्ध छन् ।
यता प्रकृतिले नै महिलाको शारीरिक संरचना जटिल बनाएको छ । यसले गर्दा यौन तथा प्रजजन रोग महिलामा बढी देखिनु स्वभाविक कुरा हो । महिलाको यौन अंगको शारीरिक क्षेत्रफल नै बढी हुन्छ जसले गर्दा सरसफाइ गर्न र संक्रमण भउको थाहा पाउन गाह्रो पर्छ ।
पुरुषमा बाहिरी तत्व भएको हुनाले लिंग र अण्डकोषमा आएको समस्या प्रष्टसँग देखिन्छ । पिसाबमा समस्या आयो भने जलन हुन्छ, केही पिप देखिन्छ । तर महिलाहरूमा भएको समस्या बाहिरी रूपमा केही देखिँदैन । इन्फेक्सन भइसकेको भए पनि उनीहरूलाई थाहा नै हुँदैन ।
यौनरोगका कारणले क्यान्सर हुन सक्ने सम्भावना उच्च रहको हुन्छ । जस्तै पाठेघरको मुखको क्यान्सर पनि यौन रोगको कारणले नै हुने हो । भाइरसको संक्रमणले गर्दा क्यान्सर हुने हो जुन यौन रोगका कारणले पनि हुन सक्छ । तर स्तन क्यान्सर चाहिँ योन रोगमा पर्दैन यो जिनेटिक (वंशाणुगत) तथा संक्रमणका कारणले हुन्छ ।
तथ्याङ्कहरू हेर्दा पनि वैदेशिक रोजगारीबाट फर्केकाहरूमा यस्ता समस्या धेरै देखिने गरेको छ । भारतका विभिन्न ठूला सहर, थाइल्यान्ड, मलेसियाजस्ता देशरूमा रोजगारीका लागि गएका नेपालीहरू यौन समस्या बढी देखिने गर्छ ।
श्रीमतिबाट टाढा बस्नुपर्दा लामो समय एक्लै गुजार्नुपर्दा मानिसले यौन चाहना मेट्न वैकल्पिक उपाय रोज्छ । जुन समयमा सामान्य ध्यान नपुर्याउँदा यौन रोगको संक्रमणमा फस्ने सम्भावना रहन्छ । यसर्थ ‘रेडलाइट एरिया’जस्ता स्थानहरू जाँदा विचार पुर्याउनुपर्छ ।
किशोरकिशोरी र युवामा यौन रोग
दुर्गम स्थानमा कलिलै उमेरमा हुने विवाह र इन्टरनेटको सहजताले कलिलो उमेरमा नै यौन कार्यमा युवाहरू संलग्न हुन्छन् । यसले गर्दा असुरक्षित गर्भ रहनेदेखि अन्य जटिल किसिमका स्वास्थ्य समस्याहरू आएका छन् । सहरी क्षेत्रमा पनि युवाहरू आफूखुसी औषधीहरू सेवन गरिरहेका छन् ।
विशेषतः किशोरीहरूले आफ्नो भविष्यको जीवन सम्झेर पनि सर्तक हुनै पर्छ । अन्यथा सन्तान जन्माउँदादेखि लिएर वृद्धअवस्थासम्म अनेकौं समस्या आउँछन् । युवाहरूले परिवार नियोजनका साधन र औषधीको दुरुपयोग गर्न हुँदैन । सम्बन्धीत विशेषज्ञको परामर्शपछि मात्र औषधि लिने र रोगका लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
(एजेन्सी तथा यौन रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारसँगको कुराकानीमा।)
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस