मौरीबाट उपचार गर्ने केन्द्र स्थापना गरिँदै
पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार एपि (थेरापी) केन्द्र स्थापनाको काम शुरुआत गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो ।
प्रदेश सरकारको रु पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा शिव रिजालले जानकारी दिए । उनले भने, “अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ ।” केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ ।
सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उनले बताए।
उनले भने, “मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।” नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौँमा रहेको भन्दै उनले यसको विस्तार गर्नसकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिए । मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तार बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने बताइएको छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि सौराहामा एपि थेरापी केन्द्र स्थापना गर्ने भनेको भए पनि सो स्थानमा व्यवस्थापनमा कठिन परेपछि भण्डारामा स्थापना गरिएको हो । मौरीपालक कृषकलाई मह उत्पादन मात्र नभएर मौरीको विभिन्न परिकार उत्पादनका लागि मद्दत पुग्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो ।
मौरीबाट उत्पादन हुने शाही खुराक, पोलन, कुट, मौरी विषलगायतका अन्य उत्पादनबाट विभिन्न रोगको उपचार हुने भएकाले यी वस्तु उत्पादनमा जोड दिन केन्द्र सञ्चालन गर्न लागिएको उनले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस