पहाडमै हाडजोर्नीको शल्यक्रिया सेवा
पूर्वी पहाड पाँचथरमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि यससम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो । यसै साताबाट सञ्चालनमा आएको हाडजोर्नीको शल्यक्रिया सेवाबाट हालसम्म तीन बिरामीले सेवा लिइसकेको अस्पतालले जनाएको छ ।
हालसम्म पूर्वी पहाडका जिल्लामा हाडजोर्नीको शल्यक्रिया सेवाको अभाव थियो । यससम्बन्धी ससाना समस्याको उपचार गर्नसमेत झापा, मोरङ तथा सुनसरीका विभिन्न अस्पताल जानुपर्ने बाध्यता थियो ।
नियमित जाँच गराउनुपर्ने, हड्डीमा राखिएको स्टिल तथा रड झिक्नुपर्ने तथा ‘ड्रेसिङ गराउनुपर्ने बिरामी महङ्गो शुल्क तिरेर बाहिर बस्न बाध्य थिए । यही समस्यालाई मध्यनजर राखेर उक्त सेवा सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक राजेन्द्र कार्कीले बताए ।
विशेषज्ञ चिकित्सकका अतिरिक्त उक्त अस्पतालले करीब रु १८ लाख लागतमा अत्याधुनिक सेवा प्रदान गर्ने ‘सीआर्म मेसिन’ जडान गरेको छ । यहाँबाट पूर्वी पहाडका सेवाग्राहीलाई सेवा दिन आएका डा लिम्बूले हाडजोर्नीका ६० प्रतिशत समस्या समाधान गर्न आफू सफल हुने बताए । हाडजोर्नी भाँचिएको, टुटेको, फुटेकाको शल्यक्रियामार्फत उपचार गर्ने, स्टिल राख्ने तथा झिक्ने, जोर्नीसम्बन्धी समस्याको उपचार गरिने डा लिम्बूले बताए ।
उक्त अस्पतालले तराईका अस्पतालको तुलनामा ५० प्रतिशत कम शुल्कमा उपचार गर्ने जनाएको छ । ‘हाम्रो मुख्य उद्देश्य भनेको यहाँका बिरामीलाई यहीँ सेवा प्रदान गर्नु हो’, डा लिम्बूले भने, ‘यसैले हामी कम शुल्कमा बिरामीलाई सेवा दिन चाहन्छौँ ।’
यहाँ यसअघिसम्म भाँचिएको, टुटेको, फुटेकोलगायत हाडजोर्नीसम्बन्धी कुनै पनि सेवा सञ्चालनमा थिएनन् । दुर्घटनामा पर्नेलाई न्यूनतम पाँच घण्टाको यात्रापछि तराईका जिल्लामा लगेर उपचार गर्नुपर्ने बाध्यता थियो । हाडजोर्नीसम्बन्धी सेवा दिने सरकारी अस्पताल पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मात्रै हो ।
पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामलगायत जिल्लाका बिरामीलाई यहाँसम्म पु¥याउन कम्तीमा आठ घण्टा समय लाग्छ । भाँचिएको, टुटेको, फुटेको हड्डी राम्रोसँग नजोडिने, नियमित सेवा तथा परामर्शका लागि महङ्गो शुल्क तिरेर होटेलमा बस्नुपर्ने जस्ता समस्या थिए ।
उक्त अस्पतालले फिदिममै हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएपछि पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका बिरामीले सेवा लिनसक्ने भएका छन् । घरमै हिँड्ने क्रममा लडेर कुर्कुच्चाको हड्डी फुटेपछि उपचारका लागि आउनुभएका फिदिम नगरपालिका–५ का रविन तुम्बापोले फिदिममै शल्यक्रिया सेवा पाउँदा खुशी लागेको बताए ।
विशेषत दुर्घटनाका घाइतेको समयमा उपचार हुन नसक्दा हड्डी राम्रोसँग नजोडिने, बाङ्गो जोडिने तथा कतिपयलाई समयमा अस्पताल पुर्याउन नसक्दा मृत्यु नै हुने गरेको थियो । पच्चीस श्ययाको उक्त अस्पतालले सेवा क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस