• जीवनशैली | Jiwanshaili
  • म्याद गुज्रिएका औषधि छर्किंदा स्वास्थ्यमा समस्या


    महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए ।

    उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्नेलगायत समस्या देखिएको छ ।

    छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने दुई वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएपछि औषधि छर्किएकाले स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीय राजीव कापरले बताए ।

    वडाध्यक्ष राकेश राउतले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरे । उनले औषधिमा पानीको मात्रा मिलाएर नछर्किएको हुनसक्ने र सोही कारण केही फाट्टफुट्ट समस्या हुनेसक्ने जानकारी दिए । स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन् ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार