• जीवनशैली | Jiwanshaili
  • होली खेल्दा विषाक्त रंगहरुबाट छालालाई कसरी जोगाउने ?


     

    रङहरुको पर्व होली पहाडमा आज तराइमा भोली सोमबार गरी नेपालमा दुई दिनसम्म हर्सोल्लासपुर्वक मनाइदैछ ।
    यो पर्वलाई अत्यधिक सावधानिपुर्वक मनाउनुपर्छ । नत्र यसले दिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता आउन सक्छन् । प्राचीन कालमा फूल, पात, वनस्पती आदिबाट रङ बनाइन्थ्यो । त्यही भएर होलीबाट शारीरिक हानि–नोक्सानी होला भन्ने हुँदैनथ्यो, खासै नकारात्मक प्रभाव पर्दैनथ्यो । अचेल रङमा रङमा खतरनाक रसायन प्रयोग हुने गर्छ । त्यसैले होली खेल्दा रङर अबिर मुख, आँखा र कानभित्र जान दिनु हुँदैन । रङ छरेका ठाउँमा पनि चनाखो हुनुपर्छ, श्वासका माध्यमले फोक्सोमा नजाओस् भनेर । होली खेल्दा सामान्यतः छालामा सबैभन्दा बढी समस्या हुने गर्छ । छाला पोल्ने, छालाको रङ बदलिने, सुक्खा हुने, पिल्सिने आदि हुन सक्छ । रङ बढी उपयोग गर्दा छाला सुक्खा हुने समस्या देखिने चिकित्सकहरु बताउँछन् । रङ दल्दा विभिन्न रसायन छालाको भित्री सतहमा पुग्छन् र छालामा नोक्सान पुग्छ । छालामा बिमिरा देखिने, एक्जिमा, एलर्जी, डाबरजस्ता समस्या हुन सक्छ ।
    होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ । हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पु¥याउनुपर्छ। छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम अथवा म्वइस्चराइजर लगाउनुपर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ । होलीमा छालालाई रङको प्रभावबाट जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउनुपर्छ । हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउनुपर्छ । म्वइस्चराइजरले छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ ।
    रङले प्रत्यक्ष रूपमा गर्ने असर
    रङमा रसायन मिसिइने भएकाले छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ । जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा यो अझै बढेर जान्छ । रंङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ । एक्जिमाको रूपमा पनि देखापर्न सक्छ । कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ ।
    अप्रत्यक्ष रूपमा गर्ने असर
    छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ । त्यसपछि छालाको संक्रमण हुने खतरा हुन्छ । छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ । डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ । कपालमा रङ लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ । नङको कापमा रङ पर्दा नङ पाक्ने समस्या देखापर्छ । रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ । घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ ।
    होली खेल्नुअघि ध्यान दिनुपर्ने कुराहरु
    आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ । होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ । हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ । पूरै शरीर ढाक्ने गरी खुकुलो कपडा लगाउनुपर्छ । शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पु¥याउँदैन । होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ। सकेसम्म कम रसायन मिसिएको रङ छनोट गर्नुपर्छ ।
    होली खेलेपछि
    एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ । नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ । रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ । होली खेलिसकेपछि शरीरमा लागेको रङ हटाउन र छाला सफा गर्न नुहाउनु एक घण्टाअघि शरीरमा बेसन लगाउने । नुहाउँदा रङ लागेको छालाको भागमा भिजेको बेसनलाई राम्ररी दल्ने । त्यसपछि केही समय राखी सुक्न दिने र सुकेपछि सफा पानीले पखाल्ने। यसले शरीरमा लागेको रङलाई हटाउ मद्दत गर्छ । फेसवासले अनुहार धुने । अनुहार सफा गरेपछि म्वइस्चराइजर लगाउने। रङको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ । हातबाट रङ सफा गरिसकेपछि भिटामिन ‘ई’ युक्त क्रिमले मसाज गर्ने। जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ ।

     


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार