• जीवनशैली | Jiwanshaili
  • सुदुरपश्चिममा औलोको जोखिम बढ्दो


    डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ ।

    औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो । उनका अनुसार छ जिल्लामा मात्रै १८६ जनामा औलो रोग देखापरेको छ । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेका हुन् ।

    जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ । चालू आवमा ११५ आयातित औलोका बिरामी रहेको बताइएको छ । प्रदेशमा आव २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । त्यसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए ।

    प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् । त्यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार