• जीवनशैली | Jiwanshaili
  • सङ्क्रमितको घरमै पुगेर निःशुल्क सेवा दिँदै खड्का


    बागलुङ नगरपालिका–१ निवासी ६५ वर्षीय सङ्क्रमित होम आइसोलेशनमा हुनुहुन्थ्यो । दश वर्षदेखि मधुमेह तथा उच्च रक्तचापको औषधि सेवन गर्दै आएकाले सङ्क्रमित भएसँगै उनि केही हतास भएका थिए ।

    यद्यपि घरमै निःशुल्क स्वास्थ्य सेवा तथा मनोपरामर्श सेवा पाएपछि उनलाई कोरोना जित्न निकै सहज मात्र भएन, थप उत्साह र ऊर्जासमेत प्राप्त भयो । उनि अहिले सङ्क्रमण मुक्त भइसकेका छन् । उनि जस्तै बागलुङ बजारका छ सङ्क्रमितले घरमै स्वयंसेवी नर्सबाट निःशुल्क सेवा र परामर्श पाएका छन् ।

    बागलुङमा लामो समय विभिन्न स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा सक्रिय बागलुङ–१ की स्वास्थ्यकर्मी नितु खड्का अहिले होम आइसोलेशनमा बसेका सङ्क्रमितको उपचार, मनोपरामर्श तथा स्वास्थ्य सेवामा व्यस्त छन् । बिएमए नर्स रहनुभएकी खड्काले यसअघि पनि वेलनेस नेपालका तर्फबाट नेपालमै पहिलो पटक प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) प्रत्येक घरघरमा पु¥याउने अभियान चलाउनुभएको थियो । उनले तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन तथा घरघरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरण समेत गरे ।

    कोरोनाको दोस्रो लहरसँगै सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आफूले सामाजिक दायित्व बोध गरेर निःशुल्क सेवा दिँदै आएको स्वास्थ्यकर्मी खड्काले बताए । “कोरोना महामारीमा स्वास्थ्यकर्मी भएको नाताले सङ्क्रमितको उपचारमा सहयोग गर्ने लक्ष्य लिएँ, अनि फेसबुकमार्फत अभियान चलाएँ”, खड्काले भने, “यही वैशाख २१ गतेदेखि आजसम्म फेसबुकको अभियान देखेर फोन गरेका छ सङ्क्रमितको घरमै पुगेर मनोपरामर्शसहितको स्वास्थ्य उपचार गरिसकेकी छु, तीन जनाले कोरोना जिते, तीन जना होम आइसोलेशनमै छन् ।”

    घरमै बसेर कोरोनासँगै लड्दै गरेका जो कोहीलाई निःशुल्क सेवा दिने उनको लक्ष्य छ । नउले भौतिकरूपमा पुग्न नसक्ने स्थानका मानिसलाई समेत फोनबाट मनोपरामर्श गर्दै आउनुभएको छ । “अझै पनि कोरोना लाग्नासाथ अस्पताल जानुपर्छ, अक्सिजन लगाउनु पर्छ भन्ने छ । धेरै आत्तिने, मानसिकरूपमा तनाव लिने गरेको पाइयो, जटिल अवस्थामा मात्रै अस्पताल जान जरुरी छ, नत्र घरमै सङ्क्रमण मुक्त हुन सकिन्छ”, खड्काले भने “सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका उपाय, मनोपरामर्श तथा सामान्य औषधि उपचार गर्दै आएकी छु ।” सङ्क्रमण हुनासाथ अक्सिजन लगाउनुपर्ने र अस्पताल पुग्नुपर्ने गलत धारणा विकसित भइरहेको र त्यसकै कारण अस्पताल भरिन थालेको उनको भनाइ छ । सङ्क्रमितको रक्तचाप र अक्सिजनको मात्रा ठीक भएमा आत्तिन आवश्यक नरहेको उनले बताए ।

    यही वैशाख २१ गतेदेखि बागलुङमा निषेधाज्ञा जारी छ । जिल्लामा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा छन् । उनीहरुलाई सामान्य औषधि र मनोपरामर्शले कोरोना जित्न सफल बनाउने खड्काको अभियान हो । उनले बागलुङबाटै भक्तपुरका एक सङ्क्रमितलाई समेत फोनबाट मनोपरामर्श दिँदै आएका छ । यस्तो बेलामा मनोपरामर्श औषधि उपचारभन्दा बढी आवश्यक रहेको उनको भनाइ छ ।

    खड्काको अभियान फेसबुकमा देखेर आवश्यक पिपिलगायत स्वास्थ्य उपकरण सहयोग समेत आएको छ । सामाजिक अभियानकर्मी पुकार बमको सहयोगमा प्राप्त पिपिइले अहिले सङ्क्रमितको घरमा पुग्न सहज भएको खड्काले बताए । कतिपय सङ्क्रमितले आफै पिपिइको जोहो गरिदिएका छन् ।

    अहिले सङ्क्रमितलाई मनोपरामर्शसँगै ज्वरो, रुघाखोकी, ढाड दुखाइ, भिटामिन सीको कमीलगायतका समस्या देखिएको र सोहीअनुसार औषधि सिफारिस गर्ने गरेको उनले बताए । खड्का वेलनेस समूह नेपालका अध्यक्ष, हाम्रो सानो प्रयास तथा रोट्र्याक्ट क्लब अफ बागलुङमा आबद्ध हुनुहन्छ । स्टाफ नर्स पढ्दादेखि नै सामाजिक तथा परोपकारी कार्यमा जोडिँदै आएको उनको भनाइ छ ।

    केही दिनअघि सुदूरपश्चिममा एक स्वास्थ्यकर्मीको निधन भएको थियो । यस्ता समाचारले पीडा दिने गरेको उनले बताए । “राज्यले स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा पनि ध्यान दिनुप¥यो । उपकरणहरू र नयाँ प्रविधि ल्याउनुप¥यो, राम्रो र सेवा सुविधा दिने सहुलियत शुल्कका अस्पतालहरू खोल्नुप¥यो”, उनले भने, “राज्यको नजरमा सधैँ पेलिँदै आएका स्वास्थ्यकर्मीहरूको महत्व जनताले पनि यतिबेला बुझिदिनुपर्ने हुन्छ ।”


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार