• जीवनशैली | Jiwanshaili
  • दैनिक लामो समयसम्म काम गर्नेमा ज्यान लिने स्वास्थ्य समस्या बढी


    एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले दैनिक रुपमा कामको अवधि लामो हुँदा वार्षिक रुपमा सयौँ हजार मानिसको ज्यान जाने गरेको जनाएको छ।

    काम गर्ने समय अवधि र स्वास्थ्य मृत्युदरमा पर्ने असरबारे विश्वकै पहिलो बिस्तारित अध्ययन भएको हो। अध्ययन अनुसार सन् २०१६ मा दैनिक लामो अवधि काम गरेकै कारण स्ट्रोक वा मुटु सम्बन्धी रोगबाट विश्वभर सात लाख ४५ हजार मानिसको ज्यान गएको थियो।

    यसबाट दक्षिण पूर्वी एसिया र पश्चिमी प्यासिफिक क्षेत्रका मानिस बढि प्रभावित भएको अध्ययनले देखाएको छ। कोरोना भाइरसको महामारीका कारण सृजित परिवेशले दैनिक कार्यअवधि र गम्भीर स्वास्थ्य समस्याको सिधा सम्बन्धलाई थप बढावा हुन सक्ने डब्लुएचओले जनाएको छ।

    हप्ताको ५५ घण्टा वा त्यो भन्दा बढि काम गर्नेहरुमा ३५ देखि ४० घण्टा काम गर्नेमा भन्दा स्ट्रोकका कारण मृत्यु हुने जोखिम ३५ प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ। यस्तै मुटु सम्बन्धी रोगबाट मृत्यु हुने जोखिम १७ प्रतिशत बढि रहने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ।

    अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओसँगको सहकार्यमा गरिएको अध्ययन अनुसार लामो अवधि काम गरेका कारण उत्पन्न स्वास्थ्य समस्याले मृत्यु हुने मध्ये झण्डै तीन चौथाई अधवैँशे वा पाको उमेरका पुरुष छन्। लामो अवधि गरेको कामको प्रभाव गम्भीर स्वास्थ्य समस्याका रुपमा वर्षौँपछि पर्ने देखिएको अध्ययनमा उल्लेख छ।


    क्याटेगोरी : प्रवास, समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार