दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरु
गण्डकी प्रदेश सरकारले रु ७५ लाख विनियोजन गरेपछि सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढाइएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको हो ।
कोभिडका बिरामीका लागि अस्पतालले छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था मिलाइएको छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले रु ७५ लाख विनियोजित गरेकामा रु ५३ लाखमा बोलपत्र स्वीकृत भई काम शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । बन्दाबन्दीको अवस्था भए पनि अत्यावश्यक क्षेत्र भएकाले उपकरण भारतबाट ल्याई छिट्टै प्लान्ट निर्माण गर्न लागिएको उनले बताए।
अक्सिजन प्लान्ट निर्माणपश्चात दैनिक १० सिलिण्डर उत्पादन गर्न सकिने छ । अस्पतालमा उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्तिमा विश्वसनीय हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
कोरोना लक्षित बिरामीका लागि अस्पतालमा भेन्टिलेटरसहितको अलग उपचार कक्ष सञ्चालन गरी १६ सङ्क्रमितको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख गुरुदक्त घिमिरेले बताए । उपचारका लागि अहिले चार चिकित्सक र चार स्टाफ नर्स परिचालन गरी सेवा प्रदान गरिएको छ । दमौली अस्पतालमा छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीका केही क्षेत्रका मानिस उपचारका लागि आउने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस