• जीवनशैली | Jiwanshaili
  • महिनावारीका बेला बजारको पेनकिलर खानु हुँदैन


    महिनावारी अर्थात् रजस्वला महिलाहरूमा हुने एक प्राकृतिक प्रकृया हो । जुन किशोरी अवस्थाबाट सुरु हुने गर्दछ ।धार्मिक तथा सामाजिक परम्पराका कारण नेपालमा महिनावारीको विषयमा धेरै चर्चा हुने गरेको पाईदैन् ।नेपालमा महिनावारीबारे स्वयं महिलाहरूनै खुलेर आफ्नो कुराहरू राख्ने गरेको पाइँदैन । रजस्वला हुँदा हुने शारीरिक दुखाई, मानसिक तनाव तथा हर्मोन परिवर्तन जस्ता कुराहरू महिलाको स्वास्थ्यसंग सम्बन्धित विषय हो । यसरी स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो प्रकृया बारेमा खुलेर चर्चा नहुँदा महिलाहरूले धरै शारिरिक तथा मानसिक समस्याहरू भोग्दै आइरहेका छन् । यसै गरी महिनावारी स्वास्थ्य तथा यससँग सम्बन्धित कतिपय महत्त्वपूर्ण जानकारीहरू पाउन सकिरहेका छैनन् ।

    ‘सुरक्षित महिनावारी दिवस’को अवसर पारेर जीवनशैलीका रीता श्रेष्ठले प्रसूति गृहका स्त्री रोग विशेषज्ञ डाक्टर बबिता साहसँग गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

    महिनावारी अथवा रजस्वला प्रकृयाको बारेमा बताइदिनुहोस् ?

    महिनावारी भनेको हाम्रो प्रजनन प्रकृया सँग सम्बन्ध रहेको एउटा प्राकृतिक प्रकृया हो । यो प्रक्रिया हरेक अट्ठाइस दिनमा दोहोरिन्छ जुन स्वस्थ महिनावारीको साइकल हो । यो प्रकृया सामान्यतया ४ देखि ५ दिनसम्म चल्ने गर्छ । यो प्रकृया चलिरहँदा प्रति दिन ८० एम एल सम्म रजस्वला हुनुलाई सामान्य मानिन्छ । छोरी मान्छे बढ्दै जाँदा १३ वर्ष देखि १५ वर्षसम्ममा यो प्रकृया सुरु हुने गर्दछ । तर कसै कसैलाई भने हर्मोनका कारण छिट्टै भएको पनि पाइएको छ । तर १५ वर्ष पार गरी सक्दा पनि यो प्रकृया सुरु भएन भने चिकित्सककोमा जचाउन जानुपर्छ ।

    महिनावारी विषयलाई लिएर प्राय विवाहित अविवाहित सबैलाई केही न केही समस्या हुन्छ नै, यस्तो किन हुन्छ?

    महिनावारीमा समस्या आउने उमेर भनेको ३५ वर्ष पछि हो । सानै उमेरमा पाठेघर तथा महिनावारीको विषयलाई लिएर त्यस्तो धेरै समस्याहरू आउँदैन । महिनावारी हुँदा तल्लो पेटमा दुखाइ हुनु, स्तन दुख्नु, कसै कसैलाई बढी रत्तश्राव हुनु, दिक्क लाग्नु चाहिँ सामान्य नै हुन्छ । महिनावारी चलिरहँदा हर्मोन परिवर्तन हुने भएकाले हाम्रो शरीरमा विभिन्न परिवर्तनहरू आउन सक्छ । तर असामान्य तरिकाले दुखाइ भएको छ, टुक्राहरू धेरै मात्रामा बगी रहेको छ, रक्तस्राव नै एकदम धेरै मात्रामा भइरहेको अवस्था छ भने चाहिँ पाठेघरमा केही समस्याहरू भएको हुन सक्छ । त्यसैले यस्तो खालको लक्षणहरू देखिएको भए तुरुन्त स्त्री रोग विशेषज्ञकोमा गएर जचाउनु पर्छ ।

    महिनावारी हुँदा सफाइमा ध्यान दिइएन भने हाम्रो योनीबाट निस्किने रगतबाट समेत पनि इन्फेक्सन हुन सक्छ ।

    प्राइभेट पार्ट हाई जिन र महिनावारीको सम्बन्ध के कस्तो छ ?

    प्राइभेट पार्ट हाई जिन र महिनावारीको सम्बन्ध एकदम धेरै नै छ । प्राइभेट पार्ट हाई जिनमा ध्यान दिइएन भने योनीमा घाउहरू हुने र विभिन्न खाले इन्फेक्सनहरू हुन सक्छ र त्यही इन्फेक्सन बढ्दै गएर पाठेघरसम्म पनि पुग्न सक्छ र महिनावारीलाई प्रभाव पार्न सक्छ । महिनावारी हुँदा सफाइमा ध्यान दिइएन भने हाम्रो योनीबाट निस्किने रगतबाट समेत पनि इन्फेक्सन हुन सक्छ । र अर्को एकदम ख्याल गर्नुपर्ने कुरा भनेको हामीले सफाइ गर्दा प्रयोग गर्ने पानी । पानी पनि सफा भएन भने हामीले जति नै सफा गरे।पनि हामीलाई पानीको इन्फेक्सन पनि हुन सक्छ । जसले योनीलाई सुख्खा बनाउने, पिसाब पहेँलो हुने, पिसाब पोल्ने, सेतो पानी बग्ने जस्ता समस्या आउँछ र यिनै समस्याहरूले महिनावारीलाई निकै प्रभाव पार्ने गर्दछ । त्यसैले दिसा पिसाब गरेपछि र शारीरिक सम्पर्क पछि र महिनावारी भएको समयमा विशेष गरी आफ्नो प्राइभेट पार्टलाई एकदम राम्रोसँग सफा गर्नु पर्छ ।

    महिनावारी हुँदा दुखाइ कम गर्न पेनकिलर अत्यधिक प्रयोग भएको पाइन्छ, के यो ठिक हो?

    बजारमा सजिलै पाउन सकिने पेनकिलर वा दुखाइ कम गर्ने औषधिको प्रयोग स्वास्थ्यका हिसाबले फाइदाजनक छैन । महिनावारीको समयमा धेरैले पेनकिलर खाने गरेको पाइएको छ तर अन्य कडा खालका पेनकिलर खानु भन्दा पनि महिनावारी भएको बेलामा मेफटाल खादा केही फाइदा पाउन सकिन्छ । तर सकेसम्म महिनावारीको समयमा तातो झोल पदार्थ पिउने, तातोले सेक्ने र आराम गर्ने गर्दा स्वास्थ्यमा लाभ मिल्छ ।

    भित्री वस्त्रहरू कस्तो खालको प्रयोग गर्नु पर्छ ?

    हामीले भित्र लगाउने भित्री वस्त्रकाेकपडा जहिले पनि कटनको हुनुपर्छ । नाइलन वा अन्य क्वालिटीको भित्री वस्त्र प्रयोग गर्दा इन्फेक्सन हुने सम्भावना एकदम धेरै हुने गर्दछ । त्यस्तै हामीले सकेसम्म महिनावारीको समयमा स्यानीटरी प्याडको प्रयोग गर्ने गर्नुपर्छ ।  प्याडको प्रयोग गर्दा प्रत्येक २ घण्टा अनिवार्य रूपमा परिवर्तन गर्नुपर्छ । महिनावारी हुँदा वा नहुँदा पनि साैचालय गइसकेपछि आफ्नो प्राइभेट पार्टलाई पानीले सफा गर्ने र सुख्खा बनाउने गर्नुपर्छ । ओसिलो र चिसो भयो भने फंगल इन्फेशन हुने भएकोले आफ्नो प्राइभेट पार्टलाई एकदम सफा राख्नुपर्छ ।

    महिनावारीको समयमा तातो झोल पदार्थ पिउने, तातोले सेक्ने र आराम गर्ने गर्दा स्वास्थ्यमा लाभ मिल्छ ।

    महिनावारीसंग मानसिक स्वास्थ्य पनि जोडिएको कुरा कत्तिको सत्य हो ?

    यो कुरा सत्य हो कि महिनावारी र मानसिक स्वास्थ्य एकअर्कासंग सम्बन्धित छन् । महिनावारीको समयमा हर्मोन परिवर्तन हुने हुँदा मानसिक रूपमा केही परिवर्तनहरू आउने गर्दछन् । दिक्क लाग्ने, खान मन नलाग्ने, छिटो रिस उठ्ने जस्ता व्यवहारहरू महिनावारीको समयमा हुने गर्दछ । मानसिक अवस्थामा परिवर्तन आउने भएको कारण महिनावारी र मानसिक स्वास्थ्यको सम्बन्ध रहन्छ ।

    महिनावारीलाई स्वस्थ बनाउन र सबै महिला नै स्वस्थ रहन क गर्ने ?

    महिनावारीलाई स्वस्थ बनाउन प्राइभेट पार्ट हाईजिनमा विशेष ध्यान दिनुपर्छ । महिनावारीको समयमा भारी सामानहरू उठाउने र शरीर लाई बल पर्ने कामहरू गर्नु हुँदैन । साथै व्यायाम, स्वस्थ खानपान, सकारात्मक सोच र सक्रिय दैनिक जीवन यापन गर्न सकियो भने महिनावारी पनि समयमा नै हुने र महिला आफू पनि स्वस्थ रहन सक्छन् । वर्षमा २ वा १ पटक भए पनि चिकित्सककोमा गएर पाठेघरको चेकजाँच गराउनु पर्छ ।

     

     


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार