• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार


    काठमाडौं । सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ ।

    सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७÷७८ मा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै गएको जनाइएको हो । आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा गई प्रसूति गराउने गर्भवतीको सङ्ख्या बढ्दै गएको जनाइएको छ । विसं २०७७ फागुनसम्ममा दक्ष प्रसूतिबाट प्रसूति गराउने महिला ७९.३ र स्वास्थ्य सेवामा गई प्रसूति गराउने ७७.७ प्रतिशत छन् ।

    यसैगरी नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, पूर्णरुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतलगायतका अन्य स्वास्थ्य सूचाङ्कमा सुधार भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । पाँच वर्षमुनिको बालमृत्युदर एक हजारमा २८, नवजात शिशुमृत्युदर एक हजारमा २८ दिनभित्र १६, शिशुमृत्युदर प्रतिएक हजारमा एक वर्षभित्रमा २५ जना रहेको उल्लेख गरिएको छ ।

    सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५४ कोभिड अस्पताल, १२५ कोभिड क्लिनिक र ८४ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस्तै २०७७ साल फागुन मसान्तभित्रमा २२ हजार १२७ क्वारेन्टिन श्यया, १३ हजार ७७२ आइसोलेशन श्यया, एक हजार १५४ सघन उपचार कक्ष आइसियु, ४७५ भेन्टिलेटर र ६७६ हाई डिपेन्डेन्सी युनिट एचडियु निर्माण गरेको जनाएको छ ।

    यसगैरी २०७७ फागुनसम्ममा सात हजार २२१ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । एकसय २५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र दुई हजार ६२६ उपस्वास्थ्य चौकी रहेका छन् । विसं २०७६ फागुनसम्म सात हजार १५४ रहेका थिए ।

    यस्तै सबै स्थानीय तहका हरेक वडामा एक स्वास्थ्य संस्था राख्ने योजनाअनुसार २०७७ फागुनसम्म दुई हजार ६२६ पुगेको छ । सरकारले आव २०७६÷७७ मा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा ८८.७, अन्तरङ्ग सेवा ४.१ र आकस्मिक सेवा ७.२ प्रतिशत बिरामीले लिएका छन् ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार