• जीवनशैली | Jiwanshaili
  • सुर्तीजन्य पदार्थ सेवनबाट वर्षेनी विश्वमा ८० लाख मानिसले ज्यान गुमाउछन्


    आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवश, कोरोना महामारीका कारण यस वर्षको कार्यक्रम भर्चुअल माध्यमबाट मनाइएको छ ।
    सुर्तिजन्य पदार्थ अन्तर्गत पर्ने चुरोट, बिडी, सिगार, हुक्का, खैनी लगायत आदि पर्छन् । यिनीहरू जुनसुकै तरिकाले प्रयोग गरे पनि स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ । तपाईं पनि यस्ता अम्लको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुहोस् । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण निर्णय गर्नु भनेकै ध्रूमपान सेवन बन्द गर्नु हो । अहिलेको अवस्थामा कोरोनाको जोखिम पनि यस्ता मानिसका लागि बढी खतरनाक देखिएकाले पनि डाक्टरहरुले यसलाई बन्द गर्न नै सल्लाह दिन्छन् ।

    कति मानिसले सेवन गर्छन् सुर्तीजन्य पदार्थ ?

    विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्छन् । तीमध्ये प्रत्येक वर्ष ८० लाख मानिसको सुर्तीजन्य पदार्थ सेवनकै कारण मृत्यु हुने गरेको छ । मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत ध्रूमपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोटसेवनले मात्र गर्छ । ३० देखि ५० वर्ष उमेर भएका चुरोट सेवनकर्तालाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेमाभन्दा पाँचगुणा बढी हुन्छ । अमेरिकामा पाँचमध्ये एक व्यक्तिको मृत्यु चुरोटसेवनले हुने गरेको अध्ययनहरूले देखाएका छन् । नेपालमा बर्सेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ। त्यो नेपालमा मृत्युको करीब १५ प्रतिशत हो।

    हृदयघात

    धूमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ । यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ । मुटुको रक्तनली साँघुरो बनाउँछ । सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ । चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ । चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । यी सबै कारणले रक्तसञ्चारमा बाधा पुर्याई हृदयघात गराउँछ ।

    फोक्सोको क्यान्सर

    चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।

    अन्य असर

    सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ । महिलाले सुर्तीसेवन गरे, बाँझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ । हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ ।

    सुर्तीजन्य पदार्थ सेवन गर्न छोड्नुका फाइदा

    चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ ।

    क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।

    केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ ।

    केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।

    बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ । रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।

    स्वाद र सुंघ्ने क्षमतामा सुधार भई खानामा रुचि बढ्छ ।

    शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।

    चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

     


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार