पहिराले स्वास्थ्यचौकी उच्च जोखिममा
बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर हुँदै बौडैचौर चापाखर्क जाने सकड बन्द भएको छ ।
दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थ्य चौकीको नयाँ भवन मुनि गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो । लगातारको चार दिन परेको वर्षाका कारण पहिरो बढेर स्वास्थ्य चौकीमुनीको सडकसमेत बन्द गरेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवासमेत प्रभावित हुनसक्ने उनको भनाइ छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको र सडकसमेतको विकल्प खोज्नुपर्ने अवस्था छ ।
“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्ष नै भासिएको थियो, अहिले त झन पहिरो बढेर सडकसमेत पुरेको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भने, “भवन निर्माण गर्दा उपयुक्त जग्गा छनोट नभएका कारण र अव्यवस्थित सडकका कारण स्वास्थ्यचौकी पहिरोको जोखिममा परेको छ ।”
तत्कालै पहिरोको विषयमा बागलुङ नगरपालिकालाई जानकारी गराएपछि नगरप्रमुख जनकराज पौडेलले सोमबार जोखिममा रहेको स्वास्थ्य चौकीको अवलोकन गरेका थिए । नगरप्रमुख पौडेलले ततलै सडकबाट ग्याविन राखेर सडक खुलाउने र स्वास्थ्यचौकीको पहिरो रोकथाम गर्ने प्रतिवद्धता जनाएका छन् । तत्कालै समस्याको समाधानतर्फ नलाग्ने हो भने स्वास्थ्य चौकी विस्थापित हुने खतरा भएको स्थानीयको गुनासो छ । स्वास्थ्य चौकीको अग्रभागको ढलान छिया–छिया भएर चर्किएको छ । भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्नु पूर्वसावधानी नअपनाउँदा भएको स्थानीयको भनाइ छ । सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपयुक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिए ।
झण्डै २५० मिटर तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घरसमेत उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस