निषेधाज्ञाका कारण संक्रमण घट्यो
काठमाडौँ / कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ ।
निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताए । तर उनीहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराए । उपत्यकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी वैशाख २६ गते झन्डै चार हजार दुई सय पुगेको थियो । यो सङ्ख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ ।
जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । अहिले दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या निषेधाज्ञा लागू हुनुभन्दा एक साता अघिको अवस्थामा आएको छ ।
यसैगरी वैशाख अन्तिमतिर काठमाडौँ उपत्यकामा झन्डै साढे ४२ हजार सक्रिय सङ्क्रमित थिए । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या उपत्यकामा २४ हजार ६४६ मा झरेको छ ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेको बताए । उनले निषेधाज्ञा जारी भएको एक महिनापछि सङ्क्रमितको सङ्ख्या घट्न थालेको भए पनि कोरोनाको जोखिम कम भयो भन्न नमिल्ने बताए ।
-गोरखापत्र दैनिक
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस