४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण
काठमाडौँ / कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ ।
आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोका औषधी निःशुल्क वितरणको व्यवस्था मिलाऐका हुन् । आयुर्वेद चिकित्सक डा ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडिबुटीबाट यो औषधी तयार पारिएको हो ।
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् ।
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका कोरोना पोजेटिभलगायतलाई गुर्जोलगायत जडिबुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक डा यादवले जानकारी दिनुभयो । यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उहाँको भनाई छ । कार्यालय प्रमुख राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लाहानको प्रमुख रहनुभएका उहाँले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका हुन् ।
हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब दुई लाख मानिसलाई खुवाइएको उनले बताए । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्यले बताए ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडिबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाई छ । आयुर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस