देश सम्झेर अस्पताललाई सहयोग
बागलुङ / जापानलाई कर्मथलो बनाएका यहाँका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गरेका हुन् ।
स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । कोरोना महामारीसँग जुधिरहेको अस्पताललाई अत्यावश्यक चिकित्सा सामग्रीरऔषधि जोहोका लागि सघाउ पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको प्रकाशले बताए ।
“अस्पतालमा अक्सिजन अभाव भएको खबर थाहा पाएपछि जेजति सकिन्छ सहयोग गरौँ भन्ने सोच आयो”, उनले भने, “सङ्कटमा साथ दिनु स्वदेशप्रतिको हाम्रो दायित्व पनि त हो ।” खड्काद्वय र खत्रीको जापानमा ‘नेपलिज ग्लोबल गु्रप जापान’ नाम गरेको कम्पनी छ । सहयोग बुझेपछि अस्पतालका अध्यक्ष मगरले उक्त रकमको सदुपयोग गरिने प्रतिबद्धता जनाए ।
“हामी टिममा पनि छलफल गर्छौँ, अक्सिजन सिलिण्डर या अरु कुनै अत्यावश्यकीय सामग्री व्यवस्थापनमा खर्च हुन्छ”, उनले भने, “महामारीको कठिन घडीमा प्रवासी युवाले गरेको सहयोग हाम्रा लागि अमूल्य छ ।” कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सिङ्गो राज्य संयन्त्र लागे पनि जनस्तरबाटसमेत स्वतःस्फूर्तरूपमा सहयोग जुटिरहेको छ ।
यसअघि आइतबार मात्र जापानमा रहेका तीन नेपाली संस्थाले धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई रु सात लाख ३७ हजार बराबरका चिकित्सा सामग्री उपलब्ध गराएका थिए । महामारीको यस विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस