म्याद सकियो, अक्सिजन प्लान्ट आएन
जाजरकोट / ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।
जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।
ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो । नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए ।
उनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उनले बताए । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताए । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना सङ्क्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस