रोल्पाका द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बीमा
दशवर्षे माओवादी सशस्त्र द्वन्द्वबाट सबैभन्दा धेरै प्रभावित यहाँका स्थानीय तहले द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् । सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाले सो कार्यक्रम ल्याएका हुन् ।
सुनिलस्मृति गाउँपालिकाले यसअघि नै एक सय द्वन्द्वपीडितका लागि यो कार्यक्रमको योजना बनाएको थियो । रोल्पा नगरपालिकाले पनि यसै वर्षदेखि यो कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । नगरको कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको हो ।
नगरपालिकाले सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट पीडित भएकालाई यो सुविधा दिने निर्णय गरेको छ । हालका लागि तीन सय द्वन्द्वपीडितलाई उक्त सुविधा दिने निर्णय भए पनि आवश्यकताअनुसार थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।
द्वन्द्वका क्रममा मारिएकाका परिवार, बेपत्ता, घाइते अपाङ्ग, यौनहिंसामा परेका तथा प्राकृतिक अपाङ्गता भएका र नगरभित्रका अतिविपन्नसमेत यो सुविधाबाट लाभान्वित हुने नगरपालिकाले जनाएको छ । द्वन्द्वमा आफन्त गुमाएका तथा बेपत्ता भएका, आफैँ घाइते तथा अपाङ्ग भएका र यौनहिंसामा परी मनोवैज्ञानिक त्रास भोगेर आर्थिक रुपले कमजोर अवस्थामा रहेकाले बीमापछि स्वास्थ्योपचारमा सहयोग मिल्ने नगरप्रमुख पूर्ण केसीले बताए ।
तत्कालीन स्थानीय शान्ति समितिको तथ्याङ्कअनुसार जिल्लामा ९४६ ले द्वन्द्वका क्रममा ज्यान गुमाएका थिए । त्यसमा ७६२ राज्यपक्ष, १६५ विद्रोही पक्ष र आठ दोहोरो भिडन्तमा मारिएका हुन् । एघार जना कुन पक्षबाट मारिए भन्ने खुलेको छैन । द्वन्द्वमा बेपत्ता भएका ३३ जनाको अवस्था अझैसम्म अज्ञात छ । राज्य पक्षले २७ र विद्रोही पक्षले छ जना बेपत्ता बनाएको तथ्याङ्कमा उल्लेख छ ।
द्वन्द्वका कारण जिल्लामा ५९५ घाइते तथा अपाङ्ग भएको तत्कालीन स्थानीय शान्ति समितिको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये ७७ जनाले मासिक रुपमा जीवन निर्वाह भत्ता लिइरहेका छन् । सोमध्ये विशिष्ट श्रेणी १० र प्रथम श्रेणीका ६७ जना रहेका छन ।
द्वन्द्वमा यौनहिंसामा पर्नेहरुको नाम गोप्य राखिएको छ । उनीहरुको अवस्था निकै दर्दनाक रहेको महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । पारिवारिक र सामजिक दृष्टिकोणबाट अपहेलित उनीहरुलाई राज्यले समेत उचित संरक्षण गर्न नसकेको उहाँको भनाइ छ । स्थानीय तहको यो कदमले उनीहरुलाई ठूलो राहत पुग्ने आचार्यले बताए ।
जिल्लाका केही स्थानीय तहले द्वन्द्वपीडितका लागि थालेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सकारात्मक रहेको द्वन्द्वका क्रममा श्रीमान् गुमाएकी रोल्पा–१० निवासी धनमाया पुनले प्रतिक्रिया दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस