सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु
कर्णाली / पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिकरूपमा शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरेको हो । सेवा शुरु भएसँगै सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने यहाँका नागरिकको बाध्यता तत्कालका निम्ति हटेको छ ।
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन् । साउनसम्म यो सेवा पाक्षिक र भदौदेखि साप्ताहिक सेवा शुरु गर्ने लक्ष्य लिइएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
उक्त शिविरमा पहिलोपटक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पदम गिरी र डा रविन केसीले पश्चिम क्षेत्रका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गरेका छन् । “शिविरमा एकै दिन ५५ जना स्थानीयवासीको जाँच ग¥यौँ”, डा गिरीले भने, “अधिकांशमा हड्डी र नशाको समस्या देखियो ।” विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीलाई एक्सरे, ल्याबसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भए पनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले निकै पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए । कर्णालीमै उपलब्ध जनशक्तिबाट यहाँका सबै नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारले लिएको मन्त्री बुढाक्षेत्रीले जनाए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस