दयनीय बन्दैछ मिर्गौला बेच्नेको दिनचर्या
पाँचखाल नगरपालिका–७ जोरपीपल मिर्गौला बेच्नेको दैनिक जमघटस्थल हो । छदेखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ । कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएका यस क्षेत्रमा मिर्गौला विक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि पर्दैनन् उनीहरु । होस–बेहोसमा हुने उनीहरु “हाम्रो फोटो र भिडियो लिएर जाने र पैसा कमाउने हामीलाई केही नदिने रु” भन्दै आक्रमणमा उत्रिएका थुप्रै घटना छन् । जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।
विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । १९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका–२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गौला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि बिक्री गरेको बताउनुहुन्छ । “अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गौला बेच्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन् ।
“मदिरा सेवनले शरीर पनि कमजोर बन्दैछ, केहीले त भएको रुखोपाखो पनि बेचेर सकिसके, आयआर्जनका काम गर्न सकिएको छैन, अनि यो भन्दा दुःखदायी के हुन्छ अब रु नवराज मिजारले दुखेसो पोख्नुभयो । अझ उहाँ जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बाँयातर्फ शल्यक्रिया गरेको आठ इन्चको खतसमेत देखाउने गर्नुहुन्छ । उहाँलाई ‘दलाल’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको थियो । दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गौला बिक्री गराउँदा पाँचखाल र ज्याम्दीको दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो । स्वेच्छाले मिर्गौला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन् । एक पीडितका अनुसार मिर्गौला बेच्ने थुपैलाई दुई चरणमा कोरोनाले थलायो ।
यी समुदायमा कुनैपनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन । नेपाल नाजेरत सोसाइटी नामक संस्थाले हालै जोरपीपल क्षेत्रमा निःशुल्क बाख्रा वितरण गरेको सयमध्ये ३० मिर्गौला बेच्ने परिवारले पाए । वडाध्यक्ष पुष्कर ढकालले विभिन्न निकायबाट चालु आर्थिक वर्षको शुरुमा पाँचखाल नगरमा आएको लक्षित समुदाय विकास कार्यक्रमअन्तर्गत करिब ८० मिर्गौलापीडितलाई प्रदान गरिने निर्णय गरे पनि आवको अन्त्यमा अन्यत्रै लगिएको बताउनुभयो । उहाँका अनुसार वडामार्फत गत वर्ष भने मिर्गौला बेचेका ८४ परिवारलाई मौरीघार वितरण गरिएको थियो ।
काभ्रेबाट केही वर्षदेखि मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च ९पिपीआर०को प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।
काभे्रको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । काभे्र
प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानूनी कारवाही गरेको थियो । मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्र्तगत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजायँ हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी ब्यवस्था छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस