• जीवनशैली | Jiwanshaili
  • सप्तरीमा अज्ञात रोगबाट एक जनाको मृत्यु २५ जना भन्दा बढी बिरामी


    सप्तरी । सप्तरीमा अज्ञात रोगले एक जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी बिरामी परेका छन् ।

    जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो । बिहीबार साँझ टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकी उनको राति साढे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए ।

    फुड प्वाइजनिङ भइ पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको डा.झाले बताए । सोही लक्षणबाट मृत्यु भएकी रजककै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर गरिएको छ ।

    यस्तै, महदेवा गाउँपालिका–२ चकलाटोलसँगै जोडिएको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन् । तिलाठी कोईलाडी –८ का विभिन्न परिवारका सदस्यहरुलाई टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय सत्यनारायण यादवले बताए । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।

    स्थानीय सत्यनारायण यादवका अनुसार अस्पताल नगएका बिरामीहरुको स्थानीय मेडिकल र घरमै स्लाइन पानी लगाइ उपचार भइरहेको छ ।

     


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार