• जीवनशैली | Jiwanshaili
  • वर्षात् महिनामा फुड प्वाइजनिङ हुन नदिन के गर्ने ?


    काठमाडौं । अहिले वर्षाको मौसम भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो हुने गर्दछ ।

    तापक्रममा आएको तातो र चिसोको उतारचढावले गर्दा हाम्रो शरीरलाई अरू मौसमको तुलनामा बढी प्रभावित गरिरहेको हुन्छ । लगातार तलमाथि भइरहने तापक्रमले हाम्रो शरीरलाई जति प्रभाव पारिरहेको हुन्छ त्यति नै हामीले खाने गरेको खानेकुरामा पनि पारिरहेको हुन्छ । तापक्रममा आएको उतार चढावका कारण वर्षाको समयमा अरू मौसमको तुलनामा खानेकुरा चाँडै बिग्रिने गर्छ ।

    जसको कारण कतिपय अवस्थामा बिहान पकाएको खानेकुरा बेलुका खाँदा नै बिग्रिएर फुड प्वाइजनिङ समेत हुने गर्छ । तुलनात्मक रूपमा हेर्दा वर्षा महिनामा खानेकुराबाट हुने रोगब्याधीको समस्या अरू मौसमको भन्दा बढी हुने गर्छ । त्यसैले वर्षा मौसममा खानेकुरा खाँदा विशेष सावधानी अपनाउन नसकेमा फुड प्वाइजन हुने सम्भावना बढी नै हुने देखिन्छ ।

    यदि कुनै खानेकुरा खाएको १ देखि ६ घण्टाको बिचमा बान्ता हुन थाल्यो भने तपाईँले आफूलाई फुड प्वाइजनिङ भएको ठाने हुन्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्शमा जानु नै राम्रो हुन्छ । फुड प्वाइजनिङ मुख्य रूपमा रोग लगाउने ब्याक्टेरिया भएको खानेकुराको सेवन गर्नाले हुने गर्छ । यस्तो अवस्थामा खाना पकाउँदा सरसफाइमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । यो बाहेक पकाएर लामो समय राखेको खानेकुरा, नछोपेको खानेकुरा, एकदमै चिसो गरेर राखेको खानेकुरा खानुलाई अहिलेको अवस्थामा फुड प्वाइजन हुने मुख्य कारण मानिन्छ ।

    बर्षातको समयमा बाहिर तयार भएको खानेकुरा र प्याकेजिङ गरिएको खानेकुराको सेवनलाई कम गर्नु नै राम्रो मानिन्छ । त्यसैले बर्षात्को मौसममा फुड प्वाइजनिङ हुन नदिन यी कुराहरूमा विशेष ध्यान दिनुपर्छ ।

    – बासी खानेकुराको नखाने ।

    – आधा पाकेको खानेकुरा नखाने ।

    – सफा भाँडामा पकाएको खानेकुरा मात्र खाने ।

    – फ्रिजमा लामो समय राखिएको खानेकुरा नखाने ।

    – मांसु एकदमै कम खाने ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार