आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप
वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको छ । साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ ।
कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७र७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका छन् । उक्त उपचारका क्रममा १७ वर्षभन्दा माथि उमेर समूहका बिरामीले अत्यधिक उपचार सेवा लिएको केन्द्र प्रमुख एवं डा सृष्टि श्रेष्ठले बताए ।
तुलनात्मकरूपमा अघिल्लो वर्ष २०७६/७७ को तुलनामा गत आव २०७७/७८ करिब चार हजार बढी बिरामीले सेवा लिएको बताइएको छ । आव २०७६÷७७ मा सात हजार ९९० व्यक्तिले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ । साथै केन्द्रले मकवापुरका विभिन्न चार पालिकामा नागरिक आरोग्य केन्द्रसमेत स्थापना गरेको छ ।
वाग्मती गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका र थाहा नगरपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्षबाट नेपाल सरकारले निःशुल्करूपमा दिएको २३ प्रकारका औषधिबाहेकका फिजियोथेरापी, ल्याब, पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र र ओपिडी टिकटमा समेत शुल्क लिन थालिएको डा श्रेष्ठले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २०७८ साउन १ गतेदेखि ओपिडी टिकट र ल्याब सेवा सञ्चालन गरिएको छ ।
कोभिड–१९ महामारीको समयमा पनि केन्द्रले निरन्तर सेवा दिँदै आइरहेको छ । मकवानपुरमा निषेधाज्ञा भए पनि औषधालयबाट उपचार तथा परामर्श लिनेको सङ्ख्यामा कमी नआएको र कोरोना महामारीबाट मानिसमा आयुर्वेदमा चासो बढेको छ । साथै सेवा सुविधासँगै पर्याप्त जनशक्ति भएका कारण यस वर्ष उपचार गराउन आउनेको सङ्ख्या वृद्धि भएको डा श्रेष्ठले बताए ।
पर्सा जिल्लाको रानीगञ्जमा नारायणी अञ्चल आयुर्वेद औषधालयका नामबाट सञ्चालन हुँदै आएको र औषधालय विसं २०३४ मा हेटौँडामा स्थानान्तरण गरिएको थियो । स्थान्तरणपश्चात विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा हालसम्म रहेको छ । हाल नारायणी अञ्चल आयुर्वेद औषधालयलाई जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र नामकरण गरिएको छ ।
औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामी–झाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको बताइएको छ । औषधालयमा फिजियोथेरापी, प्रयोगशाला सेवा र पञ्चकर्मअन्तर्गत पूर्वकर्मसेवा तथा शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा छ । आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेका छन् । गत वर्ष सबैभन्दा बढी बिरामी ग्याष्टिकका रहेका थिए । त्यसैगरी हाडजोर्नीसम्बन्धी समस्या भएका रोगी पनि उपचारका लागि आएका थिए ।
सो केन्द्रको आव २०७७/७८ मा आर्थिक प्रगति ८५ प्रतिशत रहेको छ । प्रदेश सरकारको रु एक करोड ९७ हजार र सङ्घीय सरकारको रु ७० लाख गरी रु एक करोड ७० लाख ९७ हजार बजेट प्राप्त भएकामा कार्यालय व्यवस्थापन, कर्मचारी तलब खर्च र औषधि खरिदमा बजेट खर्च भएको डा श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस