• जीवनशैली | Jiwanshaili
  • मकवानपुरमा बढ्दै सरुवा रोग : एक बर्षमा ६८ जनामा स्क्रब टाइफस


     

    हेटौंडा /  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले अन्य मुलुकहरुसँगै नेपाललाई पनि आक्रान्त बनाइरहेको छ । कोरोना संक्रमणको क्रासले गर्दा नियमित उपचार गराउँदै आएका बिरामीको उपचारमा समेत समस्या उत्पन्न भैरहेको अवस्थ्या छ ।

    २०१९ डिसेम्बरमा चिनको वुहान शहरबाट  सुरु भएको कोरोना भाइरसले विश्वका शक्तिसाली राज्यहरुलाई समेत प्रभावित पारेको अवस्था छ । पछिल्लो समय कोरोना रोगको मात्रै चर्चा परिचर्चा भैरहेको  समयमा अन्य सरुवा रोगहरुले पनि धेरै मानिसहरु संक्रमित भैरहेका छन् ।

    सबै सिजनमा लाग्ने सरुवा रोगहरु त छँदैछ । बिशेष गरि मौषमी सरुवा रोगहरु पनि माहामारी कै रुप लिने गरेको छ । नेपालको भौगोलिक हिसाबले पनि ठाउँ अनुसारको फरक / फरक रोगहरु देखा पर्ने गरेका छन् ।

    नेपालमा २०७२ सालको भूकम्प पछि देखापरेको स्क्रब टाइफस नामक रोग स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकअनुसार मकवानपुर जिल्ला सहित ६३ जिल्लामा स्क्रब टाइफसको बिरामी फेला परेको देखिएको छ ।

    आर्थिक बर्ष २०७६ / ०७७ मा मकवानपुर जिल्लामा स्क्रब टाइफसका बिरामी भन्दा डेंगू रोगका बिरामीको संख्या धेरै थियो । तर यो बर्ष डेंगू रोग नियन्त्रणमा केही सकारात्मक परिवर्तन आउँदा झण्डै ४ हजारको हाराहारीमा भेटिएको डेंगूका बिरामी गत आ.व २०७७/ ०७८ मा भने १३ जनामा मात्रै डेंगु रोगको संंक्रमण भएको पाइएको छ ।

    अघिल्ला आ.व बर्षहरुको तथ्यांकको तुलानामा अहिले सम्मको तथ्यांक हेर्दा मकवानपुर जिल्लामा गत आ.व २०७७/०७८ मा स्क्रब टाइफसका बिरामीहरु बढेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आर्थिक बर्ष २०७५/०७६ मा मकवानपुर जिल्लामा २५ जनामा स्क्रब टाइफसका बिरामीहरु भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

    उनका अनुसार त्यस्तै आ.व २०७६/०७७ मा जिल्लाका २९ जनामा स्क्रब टाइफसको संक्रमण भएको पाइएको थियो भने गत आ.व २०७७/०७८ मा सबैभन्दा धेरै ६८ जनामा स्क्रब टाइफस रोगको संक्रमण भएको पाइएको छ । जिल्लामा रहेका विभिन्न सरकारी तथा निजी अस्पताल, मेडिकल तथा क्लिनिकहरुमा गरिएको परिक्षणको क्रममा ६८ जनामा सो रोगको संक्रमण भएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । जम्मा संक्रमित मध्ये ४९ जना महिला र १९ पुरुषलाई स्क्रब टाइफस रोग देखा परेको हो ।

    पुरुषको तुलानामा महिलाहरु प्राय : घर बाहिर खेतबारीको काममा व्यस्त हुने कारण पनि बढि महिलाहरुमा यो रोगको संक्रमण भएको हुनसक्ने जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी घिमिरे बताउँछन् । उनले भने  घारी, जंगल जस्ता ठाउँमा बढि यो रोगको जोखिम हुन्छ । त्यसैले पनि महिलालाई स्क्रब टाइफसको जोखिम बढेको पाइएको छ ।

    स्क्रब टाइफस एक प्रकारको जीवाणु रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा ( माइट ) को टोकाइका कारण फैलिने रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।

    मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ ।

    यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ ।

    स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र दु्रत परीक्षणसमेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालहरूमा द्रुत परीक्षण किटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ । स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम ज्वरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ ।

    किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ । खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुन्द्रि वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने गर्नु पर्दछ ।

    सामान्यता मानिसले आफ्नो घरवरपर मुसा आउन नदिने वातावरण तयार गर्नुपर्छ । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चउरमा सुत्नुहुँदैन । संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिनासाथ स्वास्थ्यसंस्थामा गएर उपचार सुरु गरिहाल्नुपर्छ ।

     


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार