रुपन्देहीमा महिलाको रहस्यमय मृत्यु,हत्या भएको माइती पक्षकोआरोप
रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ ।
बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए । माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
विष सेवन गरी आत्महत्या गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो । ‘किटनाशक विष सेवन गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले हत्या भएको भनिरहनुभएको छ,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने ।
अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।
पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाई छ । कर्तव्य ज्यानमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डिएसपी पौडेलले बताए । अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ । तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेका थिए । बुधबार राती ९:३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।
क्याटेगोरी : समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस