गुणात्मक साहित्य सिर्जनाको कमी छ

- मोदनाथ प्रश्रित
तपाईँ साहित्य र राजनीतिलाई कसरी हेर्नुहुन्छ?
साहित्य मानसिक र बौद्धिक रुपमा स्रष्टा व्यक्तिले सिर्जना गर्ने विषय हो । राजनीति समग्र राज्यव्यवस्था, राजनीतिमा क्रियाशील व्यक्तिहरु र सङ्गठनद्धारा स्थानीय, राज्यस्तरीय र अन्तर्राष्ट्रिय स्तरका समस्याहरुको समाधानमा केन्द्रित भएर अघि बढ्ने विषय हो ।
साहित्यमा कसरी प्रवेश गर्नुभयो?
घरमा रहेको सचित्र नेपाली महाभारत पढ्दै र मावली हजुरबा महान् कवि दधिराम मरासिनीका कविता सुन्दै जाँदा साहित्यसारिणीमा हिँड्ने प्रेरणा भित्रैबाट ब्युझँदै आयो । कलम चलाउँदै अघि बढेँ ।
प्रगतिशील साहित्यबारे के भन्नुहुन्छ?
समाजमा रुढीग्रस्त, परम्परावी र त्यस्तै कुराको पक्षपोषणमा उभिने तमाम कुराको विरुद्ध, लोकतन्त्र, प्रगतिवादी दर्शन, अग्रगामी विचार र समाजवादको पक्षमा उभिने साहित्य प्रगतिशील साहित्य हो ।
साहित्यको माध्यमबाट देशलाई के गरेँजस्तो लाग्छ?
म किशोर र युवा हुँदा नेपाल जातपात, छुवाछुत, भूतप्रेत, बोक्सी आदिजस्ता अन्धविश्वासले ग्रस्त थियो । पुरुषसत्ता महिलाहरुलाई दासीजस्तै ठान्थ्यो । जालीफटाहा र सामन्तहरुको बिगबिगी थियो । जनताको श्रमिक पक्ष दलिएको थियो । मेरो ध्यान सबभन्दा यिनै विषयतिर केन्द्रित भयो र मूलतः यिनै र यस्तै विषयमा आधारित भई लेख्न सुरु गरेँ । बढी भावनामय विषयतिर भन्दा समाजमा रहेका समस्याहरुतिर केन्द्रित भएर लेख्दै आएँ । यस लेखनले समाजमा निकै सकारात्मक प्रभाव पारेको कुरा पाठक र समीक्षकहरुबाट अवगत हुँदै आएको छ । यी सबै कुरा सोच्दा देशनिम्ति थोरथार भए पनि केही गरेछु जस्तो लाग्छ ।
सङ्घीय राज्यमा प्रगतिशील साहित्य कस्तो हुनुपर्छ ?
युरोपमा वा अरु देशमा जस्तो ढङ्गले सङ्घीय राज्यको कुरा नेपालमा उठेको छैन । अहिले नेपालमा सङ्घीयताबारे समाधानै हुन नसक्ने गरी जसरी जातीय, क्षेत्रीय, इलाकीय नक्साङ्कन नै फरक-फरक विचार र आन्दोलनको जटिलता देखापरिसक्यो । यसले गर्दा सङ्घीय राज्यमा प्रगतिशील साहित्य कस्तो हुनुपर्छ भन्ने छलफलको सन्दर्भ नै अहिले म देख्दिनँ ।
नेपालमा साँस्कृतिक आन्दोलनबारे के भन्नुहुन्छ ?
नेपाल शाक्तयुगको मातृतन्त्र, शैवयुग, वैदिक युग हुँदै विभिन्न जाति-जनजातिका अनेक संस्कृतिहरुको विशाल शृङ्खलाहरुको देश बनेको छ । अब इतिहासका महत्त्वपूर्न उपलब्धिहरुको जगेर्ना गर्दै जनतामा जातीय चेतना हैन, मानवीय, वर्गीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चेतनासहित श्रम, विज्ञान र विकासलाई सशक्त तुल्याउने साँस्कृतिक आन्दोलनको आवश्यकता छ ।
जनता कसका विरुद्धमा छन् जसतो लाग्छ ?
जनता गरिबी, अनुत्पादक शिक्षा, बेरोजगारी र सधैँभरी गुट, फुट चलाएर राष्ट्रको प्रगति रोक्ने अदूरदर्शी कुकुरझगडा प्रवृत्तिका नायकहरुका विरुद्धमा बढी छन् । अरुको विरोधमा कम छन् ।
वर्तमान नेपाली साहित्यबारे केही बताउनुहुन्छ कि ?
राजनीतिमा तीव्र गतिरोध आएको बेला मात्रात्मक रूपमा नेपाली साहित्य निकै मौलाएको छ तर सिमित अपवादबाहेक गुणात्मक रूपमा राष्ट्रलाई झक्झक्याउने खाले साहित्यसिर्जना अलि कम भएको छ जस्तो लाग्छ ।
के तपाईँले आफ्नो सम्पूर्ण जीवन प्रगतिशील ध्येयमा लागिरहनुभएको छ ?
जो मानिस प्रगतिशील ध्येयमा दर्शन, राजनीति, संस्कृति, साहित्य र व्यवहारअनुरुप अघि बढ्ने सङ्कल्पमा लागेको हुन्छ, जो लोभलालचमा लागेर आफ्नो आस्था र आदर्शलाई बन्धक बनाउँदैन, ऊ जीवनको उमेर, शक्ति र सामर्थ्यअनुसार प्रगतिशील ध्येयमा लागिरहेकै हुन्छ । तीमध्ये म पनि एक हुँ । प्रगतिशीलताप्रति मेरो दृढ विश्वास छ ।
(सुपरिचित प्रगतिशील लेखक, राजनीतिज्ञ तथा आयुर्वेद विज्ञ प्रश्रितसँग बालमुकुन्द कार्कीले गरेको कुराकानीको सम्पादित अंश । प्रस्तुत अन्तरवार्ता पत्रकार, साहित्यकार कार्कीको वार्तासङ्ग्रह ‘लेख्नेको बोली’बाट साभार गरिएको हो)
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस