• जीवनशैली | Jiwanshaili
  • लकडाउनले लगाएको गुन !


    सन् २०२० सुरु हुनेबित्तिकै देखि संसारलाई हायलकायल पारेको कोभिड-१९ बाट जोगिने एक प्रभावकारी उपायको रुपमा प्रायः सबै मुलुकले लकडाउन घोषणा गरे । वर्षका ९ महिना बितिसक्दा पनि कुनै न कुनै स्वरुपको निषेध वा लकडाउन चलेकै छ । कोभिड भ्यासिन विकास भई परीक्षण भइरहेका सुखद खबरहरु आए तापनि कोभिडको तनावबाट मुक्त हुने समय अझै आइसकेको छैन ।

    लकडाउनको अवधिलाई कतिपय विद्वानहरुले पूँजीवादको लयमा बेसुरा दौडिरहेको दुनियाँको रिसेट अर्थात् वर्ल्ड रिसेट नाम दिएको पाइन्छ । लकडाउनले सर्वाधिक शक्तिशालीदेखि सबैभन्दा कमजोर मानिएका राष्ट्र होउन् वा व्यक्ति हरेकलाई असजिलो बनाइदियो । यसअघि चलिरहेको दैनिकीभन्दा फरक शैलीमा जिउनैपर्ने बाध्यतामा धकेल्यो । लकडाउनले अधिक दुःख दिए तापनि केही यस्ता गुन लगाएको छ, जुन हाम्रो बाँकी जीवनकै लागि महत्वपूर्ण इनपुटको रुपमा रहनेछन् ।

    प्रविधिको प्रयोगमा बढोत्तरी
    लकडाउनको कारणले घर, समाज र राष्ट्रले प्रयोग गर्दै आएको प्रविधिलाई कामचलाउबाट प्रोफेसनल बनाउन बल पुगेको छ । त्यसैको प्रभावस्वरुप केही महिनाको अन्तरालमै प्रविधिको प्रयोग अकल्पनीय ढंगले बढ्यो । व्यक्तिले भान्सादेखि शौचालयसम्म, घरदेखि अफिससम्म प्रविधिको प्रयोग गरे । आवश्यकता अनुरुप आफ्नो आर्थिक क्षमताले धान्नेसम्मका उपकरणको जोहो गरे ।
    लकडाउनकै कारण विश्वभर अनलाईन सपिङको भोल्युम ह्वात्तै बढ्यो । अनलाईन व्यापारको ट्रेन्ड यसरी बदलियो कि वर्षौंदेखि यही विषयमा दिमाग खियाइरहेका अध्येताहरुसमेत चकित परे ।

    अनलाईन एजुकेसनको लहर नै चल्यो । विद्यार्थीको भौतिक उपस्थितिबाहेक पठनपाठन असम्भव ठान्ने र अनलाईन सिस्टममा जाने कुनै हुटहुटी नभएका हाम्रा विश्वविद्यालयहरु एकाएक अनलाईन युगमा प्रवेश गरे । साना नानीहरुले समेत अनलाईन माध्यमबाटै अक्षर चिन्ने र साथीभाईसँग अन्तरक्रिया गर्ने मौका पाए ।

    सचेतना अभिवृद्धि
    पछिल्ला केही महिनाको तथ्याङ्क हेर्ने हो भने व्यक्तिको स्वास्थ्यप्रतिको संवेदनशीलता क्लाइमेक्समा पुगेको छ । ससाना समस्यामै पनि अस्पताल दौडिने बानीमा उल्लेख्य सुधार भएको छ । खानपान, आनीबानी, व्यवहार आदिका कारणले हुने स्वास्थ्य समस्या र दुर्घटनामा व्यापक मात्रामा कमी आएको छ । यतिसम्म कि लकडाउन अवधिमा मृत्युको तथ्याङ्कमा समेत कमी आयो । सामान्य अवस्थामा प्रायः व्यस्त हुने समाधिस्थल र घाटहरु सुनसान देखिए ।

    सचेतना, संवेदनशीलता र अनुशासन स्वास्थ्यको विषयमा मात्रै सिमित नरहेर स्रोत, साधनको प्रयोग अनि मितव्ययितामा पनि देखियो । यसप्रकार लकडाउनले सचेतना अभिवृद्धिमा बिर्सनै नसकिने गुन लगाएको छ ।

    स्वच्छ वातावरण
    कोभिडको विश्वंव्यापी महामारीको प्रभावले वातावरणलाई स्वच्छ राख्न निकै सहयोग गर्‍यो । मानिसहरुको चहलपहलमा कमी आउनासाथ फोहोर उत्पादनमा कमी, कार्बन उत्सर्जनमा कटौती, पर्यावरण संरक्षणका लागि महत्वपूर्ण भूमिका भएका स्थानहरुको उपयोगमा कमी आयो । पूर्वाधारहरुको विकास निर्बाधरुपमा हुन पाएका कारण कतिपय सुन्दर संरचनाहरु थपिए । यो सबैथोकको समिश्रणले वातावरण विगतमा भन्दा स्वच्छ र हराभरा देखिन थाल्यो ।

    इकोनोमी लाईफस्टाइल
    पेन्डेमिक चलिरहँदा बाध्यतामा नै सही मानिसहरुको फजुल खर्चमा उल्लेख्य कमी आयो । बैंक र पसलजस्ता पैसा झिक्ने अनि खर्च गर्ने माध्यम एकैसाथ बन्द हुँदा चाहेजति पैसा नहुने वा भएपनि खर्च गर्न नमिल्ने अवस्थाले व्यक्तिको जीवनलाई इकोनोमी हुन सघायो ।

    सामान्य अवस्थामै पनि अभावमा जिउन बाध्य हुनेहरुले जीवन ‘हाइबर्नेट मोड’मा र प्रशस्त पैसा हुनेहरुले समेत अप्टिमम लेभलमा चलाउने अभ्यास गरे । मानवजीवन फेरी पुरानै लयमा फर्किने सम्भावना उत्तिकै छ । तरपनि, लकडाउनले इकोनोमी मोडलको लाईफस्टाइल सिकाइदिएको छ ।

    नयाँ सोचको विकास
    कोभिडको महामारी सुरु हुनुअघिसम्मको अवधिमा मानिसले जसरी सोचिरहेको थियो, दुनियाँ जसरी चलिरहेको थियो अब त्यसरी हुँदैन भन्ने आम बुझाईको विकास भएको छ । स्वास्थ्य सेवादेखि प्रशासन र राज्य व्यवस्थाको सञ्चालनसम्म हरेक विषयमा नयाँ सोचको प्रभाव देखिन थालेको छ ।

    कोभिडकै सन्दर्भमा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा भ्याक्सिन विकासमा वर्षौं लाग्ने ट्रेन्ड बदलिएको छ । सामान्य अवस्थामा संसारभरिबाट छानीछानी वस्तु तथा सेवाको खरिद गर्न सकिनेमा अब उत्पादक र उपभोक्ताबीचको दूरी कसरी कम गर्ने भन्ने चिन्तन सुरु भएको छ ।

    विश्व राजनीति र शक्तिको रंगमन्चमा नयाँ दृश्यहरु देखिन थालेका छन् । व्यापार र उत्पादनको मोडलमा छिटै उल्लेखनीय परिवर्तन देखिनेवाला छ । अर्थशास्त्रका कतिपय मान्यताहरु भत्किने र कतिपय अझै मजबुत हुने संकेतहरु देखिएका छन् ।कोभिडको प्रभावले हरेकजसो क्षेत्रमा नयाँ सोच बिना अघि बढ्न नसकिने परिस्थिति सिर्जना गरिदिएको छ ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार