युनिफाइड कोरोना अस्पताल बनाउने सरकारी निर्णय अनिश्चित बन्दै
वीर अस्पतालको भर्खरै मात्र निर्माणसम्पन्न नयाँ भवनमा सञ्चालन हुने भनिएको ‘कोरोना युनिफाइड अस्पताल’ सुरु हुने अनिश्चित बनेको छ ।
वैशाख २५ गतेको मन्त्रीपरिषद बैठकले युनिफाइड अस्पताल बनाउने निर्णय गरेपनि स्वास्थ्य मन्त्रालय र वीर अस्पलाबीच कसले सञ्चालन गर्ने भन्ने अन्योल कायमै छ । वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाका अनुसार नयाँ भवनको पहिलो र दोस्रो तल्ला सबै पूर्वाधारसहित सञ्चालन गर्न तयार पारेर राखिएको छ ।
तर, अक्सिजन प्रवाह गर्न अहसज स्थिति बनेकाले वार्ड सञ्चालनको काम रोकिएको छ । ‘बेड राखेर उपचार सुरु गर्न सबैकुरा ठीकठाक छ’ सापकोटाले भनिन्, ‘उपचार गराइरहेकै बिरामीलाई अक्सिजन पुर्याउन हम्मेहम्मे छ । नयाँ भवन सञ्चालन कसरी गरौं !’
यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम वीर अस्पतालको नयाँ भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत वीरले नै सञ्चालन गर्ने बताउँछन् । ‘हामीले युनिफाइड अस्पताल सञ्चालन गर्न समिति बनाउने तयारी पनि गरेका थियौं’ डा. गौतमले भन्छन्, ‘उक्त भवन वीरकै स्वामित्वमा भएकाले उनीहरूले नै सञ्चालन गर्ने कुरा भएको छ ।’
गौतम भन्छन्, ‘अस्पताल खुलेपनि त्यो देशकै लागि हुने हो । यसैले वीरले नै सञ्चालन गर्छ ।’
यसरी हेर्दा मन्त्रीपरिषद्को निर्णय एक साता नपिबत्दै अलपत्र परेको देखिन्छ । अहिलेसम्म युनिफाइड अस्पताल बनाउन मन्त्रालयको तर्फबाट कुनै काम सुरु भएको छैन । यता, वीर अस्पताल प्रशासन पनि अक्सिजन अभावले गर्दा नयाँ भवनमा बेड राखेर उपचार सुरु गर्न रोकिएको छ ।
अहिले वीर अस्पतालमा राष्ट्रिय ट्रमा सेन्टरबाटसमेत बिरामी सारिने गरेकाले निकै भडि बढेको अस्पताल स्रोत बताउँछ ।
यस्तो छ वीरको नयाँ भवन
वीर अस्पतालको मुख्य भवनको दायाँपट्टि रहेको नयाँ सर्जिकल भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको स्वामित्वमा छ । सात तलाको रहेको विशाल भवनमा पाँच सयभन्दा बढी बिरामीलाई एकैसाथ उपचार गर्न मिल्छ ।
अन्डरग्राउण्ड पार्किङ र पहिलो तला रिसेप्सन बनाउन तयार पारिएको यो भवनमा पाँच तलामा उपचार वार्डहरू हुन्छन् । आधुनिक अस्पतालका सबै सुविधा सञ्चालनमा गर्न मिल्ने तरिकाले बनाइएको छ । भवन दायाँ र बायाँबाट लिफ्ट राखिएको छ भने दुवै तर्फ भर्याङ र अपांगमैत्री बाटो राखिएको छ ।
प्रत्येक तलमा डाक्टर र नर्सहरूको लागि छुट्टाछुट्टै च्याम्बर बनाइएको छ । यस्तै सजिलोका लागि वार्ड र वार्डबाहिर पर्याप्त शौचालय राखिएको छ ।
अक्सिजनका लागि भित्तामै फिट गरिएको पाइप तथा ठूलो आकारका बिरामी बस्ने वार्ड प्रत्येक तलामा बनाइएको छ ।
क्याटेगोरी : खोज/विशेष, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस