• जीवनशैली | Jiwanshaili
  • संगीत क्षेत्रमा टिक्न अनुशासन चाहिन्छ : राजेश थापा


    गायक रामकृष्ण ढकालको १५ औं एल्बम आवरणमा समावेश गीत छ- ‘म हुरीमा दियो जलेको देख्छु, पानीमा आगो बलेको देख्छु…।’ श्रोतामाझ निकै लोकप्रिय यो गीतको संगीतसँग प्रायः सबै श्रोता-दर्शक परिचित छन् । भलै त्यसको सर्जक को हो? भन्‍ने थाहा नहुन सक्छ । यो र यस्तै कर्णप्रिय धूनका सर्जक हुन् राजेश थापा । रमेश बीजीले लेखेको यो गीत राजेशको पहिलो कृति भने होइन ।

    थापा विगत दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा समर्पित सुर-सर्जक हुन् । लोकगीतदेखि पप गीतसम्म धून भरेका उनीसँग संगीतको औपचारिक पढाई र करिब बीस वर्षको संगीतकर्मको अनुभव पनि छ । रामकृष्ण ढकाल, अञ्‍जु पन्तदेखि पछिल्लो पुस्ताका निकिता थापा र शशि रावलसम्मले राजेशको संगीतमा आवाज दिएका छन् । राजेश भन्छन् – पहिलो नभएपनि रामकृष्ण ढकालले गाएको गीत मेरो करिअरको टर्निङ पोइन्ट बन्यो । यसो भन्‍न कञ्‍जुस्याइँ गर्नुपर्दैन । बरु यो गीत चिर परिचित लोकगीत रचनाकार रमेश बीजीले लेखेको पहिलो आधुनिक गीत हो ।

    ढुङ्‍खर्कदेखि काठमाडौंसम्म

    सुरका सर्जक र संगीतका साधक राजेशको जन्मस्थान काभ्रेपलाञ्‍चोक जिल्लाको ढुङ्‍खर्क हो । राजधानीको नजिकै रहेपनि सञ्‍चार र यातायातको विकासको लहर चल्नुअघि नै उनको बाल्यकाल बित्यो । पचासको दशकको मध्यतिर उनी उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरे ।

    उनको बालसखा मात्रै नभएर राजधानीमा संघर्षको बेलाका सहयात्री हुन् पत्रकार भीम गौतम । संगीतकार थापा सम्झिन्छन्, स्कुल लेभलमा हुने उट्पटाङ र राजधानीको संघर्षपूर्ण दैनिकीमा भीम र म सधैँ सँगसँगै थियौं ।

    संगीतकार राजेश थापा

    थापाको बाल्यकाल गाउँले परिवेशमा हुर्कने औसत केटाकेटीको भन्दा फरक थिएन । बट्टाको घिउ चोरेर खाएपछि बुबाले कुटेको, स्कुलमा हेडसरको सिग्नेचर नक्‍कल गरेर भित्ताभरि बनाएपछि कुटाई खाएको सम्झनासँगै उनी नोस्टाल्जिक हुन्छन् ।

    आजको दिनमा यौटा अब्बल संगीतकार बन्‍नका लागि उनीसँग अरु केटाकेटीको भन्दा फरक विशेषता भने पक्‍कै थियो । त्यो हो, कलाप्रतिको लगाव ।

    निकै लजालु स्वभावका भएपनि गीत संगीत र कलाप्रति उनको खास लगाव थियो । स्कुले उमेरमा गाउँ टोल र स्कुलमा हुने साँस्कृतिक कार्यक्रमहरुमा राजेशको नाम आइहाल्थ्यो । उनको कलाप्रतिको झुकाव देखेर दाईले गाउँमै कोपिला नाट्‍य परिवार नामको संस्था स्थापना गरिदिनुभयो । बाल्यकालमै उक्त संस्थामा सक्रिय हुँदा राजेशको प्रतिभा फक्रिने मौका पायो । मादल, बाँसुरी बजाउने, समुहमा गाउन अघि सर्ने उनले नाचगान र कलासम्बन्धी गतिविधिमा सानैदेखि विशेष चाख राख्थे ।

    रहरले भन्दा पनि स्वतःस्फुर्त क्षमताको पहिचान गरेर संगीततिर लागेको उनी बताउँछन् । वि.सं. २०५४ सालमा काठमाडौं आएपछि संगीतको औपचारिक पढाइको लागि आरआर क्याम्पस भर्ना भए । साँस्कृतिक संस्थानको प्रशिक्षणमा आफुलाई अझै तिखार्ने मौका मिल्यो । अन्य इन्स्टिच्युटहरुले दिने प्रशिक्षणमा पनि सहभागी हुँदै गए । सुरेश गैरे संगीतकर्ममा समकालीनमात्रै नभएर हितैषीको रुपमा उनले लिने विशेष नाम हो ।

    सोझोपनको बैगुन

    मृदुभाषी र सरल व्यक्तित्वका राजेशले काठमाडौंमा बिताएको दुई दशकको समयमा अनेक अनुभुति बटुलेका छन् । राजेश राजधानी आउने र यता बस्ने दाई गाउँ छिर्ने एकैसाथ भएपछि सुरुदेखि नै उनले आफुलाई त्यही अनुरुप ढाल्नुपर्‍यो । काठमाडौंको दैनिकी, संघर्ष, करिअर सबै सबैथोकमा उनले अभिभावकबाट भन्दा बढी साथ साथीभाईबाट पाए ।

    आफु इमानदार हुँदाहुँदै पनि साथीभाईले त्यसको दुरुपयोग गर्न खोजेका थुप्रै अनुभुति उनले सङ्‍गालेका छन् । समयको बेवास्ता गरेर दिनभर कुराइदिने, होच्याउने, एकाध काम गर्दैमा आफुलाई ‘सुपेरियर’ र सर्वज्ञानी ठान्‍नेहरु पनि यो बजारमा उनले भेटेका छन् ।

    यसरी संघर्ष गर्दै अघि बढ्दा अचेल उनलाई कम्तीमा पनि दैनिकी चलाउन समस्या छैन । भन्छन्, संगीतकर्मबाट गुजारा चलेकै छ । खास आकाङ्‍क्षा र जिन्दगीप्रति गुनासो केही छैन । सन्तोष नै ठूलो कुरा रहेछ ।

    आफु इमानदार हुँदाहुँदै पनि साथीभाईले त्यसको दुरुपयोग गर्न खोजेका थुप्रै अनुभुति उनले सङ्‍गालेका छन् । समयको बेवास्ता गरेर दिनभर कुराइदिने, होच्याउने, एकाध काम गर्दैमा आफुलाई ‘सुपेरियर’ र सर्वज्ञानी ठान्‍नेहरु पनि यो बजारमा उनले भेटेका छन् ।

    यद्यपि उनमा यसप्रति खासै गुनासो छैन । ती प्रसङ्‍गहरुबारे उनको सामान्य प्रतिक्रिया छ – सायद सोझोपनको बैगुन यही हो ।

    यहाँ सबैथोक छ

    राजधानीमा आएपछिको औपचारिक पढाईले संगीततर्फ दिशानिर्देश गरेको उनको बुझाई छ । तर, सुरुवातमा उनले स्कुलमा शिक्षकको रुपमा काम गरे । अध्यापनकै क्रममा यौटा दोबाटो आयो । जसमा उनले दुईमध्ये एक छान्‍नैपर्थ्यो । मासिक २१ सय तलब आउने शिक्षकको काम गर्ने कि १ एक हजार रुपैयाँ कमाई हुने संगीत शिक्षक बन्‍ने? राजेशले दोस्रो अप्सन रोजे । उनको बुझाई छ, आफुलाई विश्‍वास गर्न सकियो भने संसार जितिन्छ भनेको यही हो सायद ।

    हरेक क्षेत्रको राम्रो नराम्रो पक्ष हुन्छ । नेपालको संगीत क्षेत्र यसको अपवाद हुन सक्दैन । नेपाली संगीतले प्रविधिको उपयोग गर्दै फाईदा लिन सकेन ।

    हरेक क्षेत्रको राम्रो नराम्रो पक्ष हुन्छ । नेपालको संगीत क्षेत्र यसको अपवाद हुन सक्दैन । नेपाली संगीतले प्रविधिको उपयोग गर्दै फाईदा लिन सकेन । लहडमा कलाक्षेत्रमा लाग्नेहरु पनि प्रशस्तै हुन्छन् । कला र कलाकारिताको गरिमा नबुझ्नेहरु पनि धेरै छन् । यी टिप्पणीहरु अस्वाभाविक नभएको बताउँदै राजेश भन्छन्, यहाँ सबैथोक छ ।

    मूलधारको संगीत परिवर्तन भएको छैन । हुँदैन । तर, हरेक पुस्ताको आफ्नै धार हुन्छ । नयाँ पुस्ताले फरक धारको प्रतिनिधित्व गरिरहेको छ । नयाँ पुस्तामा पनि संगीत सिकेर, बुझेर आउनेहरुको कमी छैन । सिकेर आउनेहरुले पक्‍कै राम्रो गर्छन् । समाजले कलाकारलाई आईडल ठानेर त्यही अनुरुपको अपेक्षा गरेको हुन्छ । त्यसैले कलाकर्मी समाजप्रति जिम्मेवार हुनुपर्छ उनको बुझाई छ ।

    अनुशासन नभए टिक्न गाह्रो छ

    दर्जनभन्दा बढी एकल एल्बमसहित सयौं गीतमा संगीत भरेका राजेशको बुझाईमा गीतको मुटु शब्द हो । संगीत र गायन क्रमशः दोस्रो र तेस्रो चरणमा आउने विषय हुन् । उनको अनुभवमा गीत कस्तो बन्‍ने भन्‍ने कुरा शब्दमै निर्भर हुन्छ । संगीत र गायनले त्यसमा ‘भ्यालु एड’ गर्ने हो ।

    संगीत भर्नेक्रममा कहिलेकाहीँ निकै लामो समय लाग्ने गरेको अनुभुति उनीसँग छ । कुनै गीतको शब्द निकै पावरफुल हुने र हेर्नबित्तिकै संगीतको ढाँचा बनिसक्ने उनी बताउँछन् ।

    नेपाली संगीत क्षेत्रका एक विशिष्ट संगीतकारको पहिचान बनाएका राजेश थापाको निष्कर्ष छ – सिर्जनाको यौटा स्तर हुनैपर्छ । तर, त्यतिले मात्रै पनि टिकाउँदैन । टिक्नको लागि चाहिने महत्त्पूर्ण गुण अनुशासन हो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस