• जीवनशैली | Jiwanshaili
  • छल गर्‍यो मायाले


    • भद्रगोल शर्मा

    प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्‍न भएको छ । त्यसबाहेक विगत केही महिनादेखिका हरेकजसो घटनाले चरम निराशा जगाउँछन् । नेपाली नागरिकसँग जस्तोसुकै अप्ठेरो परिस्थितिलाई पनि सहजै पचाइदिन सक्‍ने क्षमता छ, त्यो बेग्लै कुरा हो ।  

    राजनीतिमा कसैलाई ठूलै चीज दिएर पनि तह लगाउन सकिन्छ भन्‍ने उदाहरण खोज्न टाढा जानुपर्दैन । दुईजना मुर्धन्य कमरेड ठूलै कुर्सी पाएर पनि हलचल गर्न नसक्‍ने हालतमा पुगेका छन् । भिजिट नेपाल २०२० बाट देशले केही नपाउने अवस्था थियो, पाएन । यो परियोजनाबाट यतीको मूर्ति बनाउने, ब्याच, टिसर्ट र स्टिकर छाप्‍ने केही व्यापारीबाहेक अरु कसैले केही पाएनन् । भ्रमण वर्षका नाउँमा गरिएको तामझाम र हल्लाखोरबाट केही नहुने अवस्थामा कोरोना भाइरसले लोकलाज र गाल भने टरेको छ ।

    भिजिट नेपाल २०२० बाट देशले केही नपाउने अवस्था थियो, पाएन । यो परियोजनाबाट यतीको मूर्ति बनाउने, ब्याच, टिसर्ट र स्टिकर छाप्‍ने केही व्यापारीबाहेक अरु कसैले केही पाएनन् ।

    अर्का धुरन्धर कामरेडलाई नत कृषिमा केही गर्नसक्‍ने, न राजनीतिमा केही गर्नसक्‍ने खालको कुर्सी मिलेको छ । उता बामदेव कामरेडलाई अनेक आशा देखाउँदै गिजोल्दै गरेको लोकले बुझेको छ । महरा कामरेडलाई अदालतले सफाई दिएको छ । तर, एकजना स्वनामधन्य कामरेड जेलबाट बाहिरिँदै गर्दा अर्का कामरेडको गोप्य कुराकानी छताछुल्ल भएर कुर्सी गुमेको छ । देशभर गाउँदेखि केन्द्रियस्तरका कामरेडहरु अनेक लफडामा परेका छन् । हुँदाहुँदा झापाको बालुवाटार काण्डसमेत महाकालीसम्म फैलिएको छ ।

    प्रम कामरेडको रहर र रुचिमाथि आफ्नै सहकर्मी कामरेडहरुले चिसोपानी खन्याउँदै आएका छन् । प्रमको हेप्पी बड्डेमा बडेमानको केक काटिएको छ । त्यसको आकार देशको नक्सासँग मिल्न गएकाले केक खाँदापनि हल्लाखोर हुने अवस्था आइलागेको छ । भारत, युरोप, अमेरिकातिर पनि उस्तै केक खाइने गरेको दलिल पेश गरिएपनि विवाद साम्य हुनसकेको छैन ।

    प्रम कामरेडको रहर र रुचिमाथि आफ्नै सहकर्मी कामरेडहरुले चिसोपानी खन्याउँदै आएका छन् । प्रमको हेप्पी बड्डेमा बडेमानको केक काटिएको छ ।

    राष्ट्रिय ध्वजा र नक्सा भनेको प्राविधिक विषयमात्रै होइन । धोती, टोपी, जुत्ता, टेबलपोस लगायतका लुगाफाटो मात्रै नभएर खानेकुराको समेत जनजीवनसँग भावनात्मक सम्बन्ध छ भनी तर्क गर्नेहरु हाबी भएका छन् । विदेशतिर राष्ट्रिय झण्डाको रङका कपडाबाट लगौंटी र भित्री वस्‍त्रसमेत बनाएर लगाइन्छ । टोपीमा भएपनि जुत्तामा भएपनि झण्डाको आकार आए पुग्छ । तर, हामीकहाँ झण्डा कुल्चिन मिल्दैन । देशजस्तो केक बनाएर खान मिल्दैन भन्‍ने तर्क सामान्यजनदेखि बडेबडे कामरेडसम्मले गर्दै आएका छन् ।

    त्यतिमात्रै हो र, केक खानु आफैमा गलत होइन भन्‍नेहरुले समेत युरोप, अमेरिकाबाट केक खानमात्रै सिकेर हुन्छ? विकास, इमानदारी, सदाचारचाहिँ सिक्‍नुपर्दैन? भन्दै धारिला प्रश्‍नले आक्रमण गरिरहेका छन् ।

    सरकार आफैले दुईवर्ष टिक्‍नु नै महान उपलब्धि हो भन्‍नुपरेको छ । आफ्नै जोडबलले ल्याएको बहुमत आफैलाई भारी हुने छाँट देखिएपछि प्रतिपक्षीलाई बोलाएर दुखेसो पोख्‍नुपर्ने दशा आइलागेको छ । प्राकृतिक विपत्ति, महामारी आफ्नै कार्यकालमा आउनु संयोगमात्रै हो । पराईले हेप्‍नु, पेल्न खोज्नुपनि अनौठो होइन । तर, आफ्नाले नै पेलेर भित्तामा पुर्‍याउने कोशिस गरे ।

    प्रम कामरेडको रहर र रुचिमाथि आफ्नै सहकर्मी कामरेडहरुले चिसोपानी खन्याउँदै आएका छन् । प्रमको हेप्पी बड्डेमा बडेमानको केक काटिएको छ ।

    यही मेसोमा संगीत साँझको आयोजना भयो । बडेबडे कामरेडहरुले बालुवाटारमा बाँसुरी बजाएको, सारङ्गी रेटेको तस्वीर सार्वजनिक भयो । बाँसुरीको धूनमा खेल्‍न सकेको भए ‘छल गर्‍यो मायाले’ बोलको लय आउँथ्यो होला । धून भर्ने ढंग पुगेन । ताल मिलेन । बेसुरा र्‌याइँर्‌याइँ र टुरटुरमात्रै आयो । यति हुँदापनि लोकले गाली गर्न भने छोडेन । मनको व्यथा कसले बुझिदिने?


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस