• जीवनशैली | Jiwanshaili
  • बालसाहित्य शाखा वा पुच्छर होइनः यशु श्रेष्ठ


    यशु श्रेष्ठ नेपाली बालसाहित्यको क्षेत्रमा सुपरिचित नाम हो । कुनै निश्‍चित उदेश्यबिना नै १७ वर्षअघि बिरानो राजधानी सहरमा प्रवेश गरेका श्रेष्ठका दर्जनौं कृति प्रकाशित छन् । लेखेरै बाँच्‍न सकिन्छ भन्‍ने मान्यता राख्‍नेमात्रै नभएर थोरै संख्यामा रहेका पूर्णकालीन लेखकमध्ये एक श्रेष्ठसँगको कुराकानीः

    बालसाहित्य नै लेखनको केन्द्रबिन्दु बनाउने निधो कसरी गर्नुभयो ?

    वयस्कका लागि साहित्य लेख्‍ने र अध्ययन गर्ने क्रम चलिरहेको थियो । ‘नेपालमा पठन संस्कार र संस्कृति छैन । एक हजार किताब हो छापिने, त्योपनि बिक्री हुन गाह्रो छ’, यस्तो कुरा कानमा ठोक्किन आइपुग्थ्यो । यस्तो सुन्दै अनुभव गर्दै जाँदा मेरो ध्यान सिर्जना सँगसँगै पठन संस्कारतिर तानियो । विभिन्न अग्रज सर्जकहरूसँग भेटघाट गरेँ । छलफल गरेँ । संस्कार भन्ने कुरा बालककालदेखि नै आउनुपर्ने रहेछ भन्‍ने लाग्यो । सिर्जना गर्दै जानेक्रममा बालसाहित्यप्रतिको चेत विकास हुँदै गयो । अनि यसैमा केन्द्रित भएर कलम चलाउन थालियो ।

    बालसाहित्यबारे बुझ्न, जान्न खोजेँ । सिक्दै गएँ । अनि लेख्‍न खोजेँ । लेख्दै जाँदा चारवटा चीजले मलाई बालसाहित्यमै केन्द्रित बनायो ।

    एक – म बालबालिकासँग रमाउने रहेछु । उनीहरूलाई माया र सम्मान गर्नेरहेछु । त्यसैले बालबालिकाले आफूलाई मिठो लाग्ने खानेकुराजस्तै मिठो लाग्ने गरी, रमाउँदै पढ्न पाउन् भन्ने लागेर बालबालिकाकै लागि लेख्न थालेँ ।

    दुई –  पठन सीप, संस्कार र संस्कृतिको विकास गर्नुपर्छ । त्यो बालसाहित्यबाटै सम्भव छ भन्ने निधोमा पुगेँ र बालसाहित्य लेख्न थालेँ ।

    तीन –  बालसाहित्यबिना असल र सचेत मानिसको निर्माण अनि राष्ट्रनिर्माण नै नहुने पो देखेँ । अझ भनुँ भने बालसाहित्यबिना संसार अधुरो देखेँ ।

    चार –  लेख्दै जाँदा सुन्दै गएँ, बालसाहित्य त केही पनि होइन । यसले बाँच्ने आधार र पहिचान पनि दिँदैन । बालसाहित्य मात्र लेख्नु मुर्खता हो! यस्तो सुनेपछि झनै चुनौती महसुस गरेँ । चुनौतीको सामना गर्न र यस्तो देख्‍ने चश्मा हटाउनका लागि पनि म बालसाहित्यमै केन्द्रित भइरहेको छु ।

    मूलधारको साहित्य र बालसाहित्यमा के फरक छ ?

    केही पनि फरक छैन । साहित्य जुनसुकै होस्, ती सबै मूलधारकै हुन् । बालसाहित्य शाखा हो वा पुच्छर हो भन्ने बुझाईसँग म सहमत छैन । तर, वयस्क र बालबालिकाका लागि लेखिने साहित्यको कुरा सोध्नुभएको हो भनेचाहिँ यसमा धेरै नै फरक छ । यसबारेमा अलग्गै कुराकानी गर्नु जरूरी हुन्छ ।

    साहित्य जुनसुकै होस्, ती सबै मूलधारकै हुन् । बालसाहित्य शाखा हो वा पुच्छर हो भन्ने बुझाईसँग म सहमत छैन ।

    निचोडमा भन्दा, ठूलाका लागि लेखिने साहित्य आत्मसन्तुष्टिका लागि र लेखकको चाहनाले पनि लेख्‍न सकिन्छ । बालसाहित्यमा त्यसरी हुँदैन । बालसाहित्य बालबालिकाको सन्तुष्टिका लागि हुनुपर्छ । बालसाहित्यमा सिर्जनशीलता सँगसँगै कतिपय प्राविधिक कुराहरू पनि छन् । ती बुझेर लेख्नुपर्छ ।

    नेपालको बालसाहित्य अहिले कस्तो अवस्थामा छ ?

    उदाउँदो र निकै जुर्मुराउँदो अवस्थामा छ । बालसाहित्यप्रति निकै चासो राखेर र आवश्यकता महसुस गरेर कामहरू भइरहेका छन् । विभिन्न प्रयोगहरू भइरहेका छन् । बालसाहित्यमात्रै सिर्जना गर्ने, प्रकाशन गर्ने सर्जक/संस्थाहरू बढिरहेका छन् । यसले निकै सकारात्मक पाटो र बाटो देखाइरहेको छ ।

    तपाईंको पहिलो कृति कुन हो ? कृति लेख्ने उत्प्रेरणा कसरी पाउनुभयो ?

    मेरो पहिलो बालसाहित्यको कृति ‘देशको माया’ भन्ने बालकथा सङ्ग्रह हो । बालकथा लेखनमा मेरा मार्गदर्शक हुनुहुन्थ्यो, सौरभकिरण श्रेष्ठ । उहाँ ‘सुनकेस्रा’ बालमासिकमा सम्पादक हुनुहुन्थ्यो ।

    सौरभ दाइले नै बालपत्रिकाका बारेमा पनि हामी केही गरौँ भन्नुभयो । यही क्रममा एकदिन निरन्तर प्रकाशनका वासुदेव पराजुली, जो ‘बालप्रतिभा’ बालपत्रिका प्रकाशन गर्नुहुन्थ्यो, उहाँसँग भेट भयो । ‘बालप्रतिभा’ पढ्ने केटाले बालकथा लेखेको सुनेपछि उहाँ खुसी हुनुभयो र मेरा कथाहरू प्रकाशन गर्ने कुरा गर्नुभयो । त्यही निरन्तर प्रकाशनबाट ‘देशको माया’ प्रकाशन भयो । बिक्री पनि राम्रो भयो ।

    वि.सं. २०६६ सालपछि लेखन तीव्र गतिमा बढ्यो । हालसम्म एक सय पच्चिसभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् ।

    बिक्रीपछि उहाँले मलाई केही पैसा पनि दिनुभयो । यसरी अर्को अनि अर्को बालसाहित्यको कृति प्रकाशन गर्ने बाटोमा म लागेँ । त्यसपछि मैले बालसाहित्यको बारेमा बढी चासो दिने र खोज्ने क्रम बढाउँदै लगेँ । वि.सं. २०६६ सालपछि लेखन तीव्र गतिमा बढ्यो । हालसम्म एक सय पच्चिसभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् ।

    लेखन यात्रामा यहाँसम्म आइपुग्दा भेटेका र छुटेका कुरा केके हुन् ?

    मैले पहिचान पाएँ । यो मैले भेटेको सबैभन्दा महत्वपूर्ण कुरा हो, जसले मलाई आफ्नो जीवन सहज तरिकाले बाँच्न सहयोग गरिरहेको छ । आफ्नो/अरूका देश र समाजलाई बुझ्ने मौका पाएँ । बालबालिकाका अनुहार पढ्न र माया/सम्मान गर्न पाएँ । चेतना पाएँ । धेरै विद्वान मित्रहरू पाएँ ।

    छुटेको त खै के नै छ र ? अँ, वयस्क साहित्य लेख्न छुटेको छ । पैसा नै ठूलो हो । पैसा कमाउनु नै जीवनको मूल उद्देश्य हो भन्ने साथीहरूको साथ छुटेको छ ।

    छुटेको त खै के नै छ र ? अँ, वयस्क साहित्य लेख्न छुटेको छ । पैसा नै ठूलो हो । पैसा कमाउनु नै जीवनको मूल उद्देश्य हो भन्ने साथीहरूको साथ छुटेको छ । लेखनमात्र होइन, अरू तरिकाबाट देशमा केही गर्छु भन्ने सोच छुटेको छ ।

    अरू पेशा, व्यवसाय, रुचि आदिका घुम्तीबारे के भन्नुहुन्छ ?

    यो मेरा लागि रमाइलो प्रश्न हो । यो प्रश्‍नले बितेका धेरै कुरा सम्झायो । हामीले कलिलो उमेरमै आफ्नो ठाउँमा पुस्तकालय स्थापना गरेर सञ्चालन गर्‍यौँ । एउटा राम्रो समूह थियो । सामुहिक कार्य गर्ने सोच थियो । उमेर बढ्दै गएपछि पुस्तकालयको श्रीवृद्धि पनि गर्ने र आ–आफ्ना कार्यहरू पनि अगाडि बढाउने भन्ने सोचमै हामी यताउता लाग्यौँ । तर, पछि एक हुनै सकेनौँ । पुस्तकालय हस्तान्तरण भयो र आमा समूहले सञ्चालन गर्नुभयो ।

    सामुहिक कार्यमै जोडबल गर्दै एउटा क्लब बनाउने र त्यसबाट विभिन्न काम गर्ने सोचले अघि बढ्यौं । त्योपनि त्यसै तुहियो । कृषि र प्रविधिमा केही गर्ने सोचले साथीहरूको समूह बनाएर काम अघि बढायौँ । सफल भएन । आमाले बारम्बार भन्नुहुन्थ्यो, ‘साझे कि बाझे ।’ यो कुरा मैले बुझ्दै गएँ । हामीमा सामुहिक काम गर्ने, मिलेर अघि बढ्ने परिपाटी कम रहेछ क्यार! बृहत समूहमा काम गर्ने प्रयासहरु तुहिँदै गएको अनुभवपछि मैले यस्तो सोच कम गर्न थालेँ ।

    मार्गदर्शक, सहयोगी, संरक्षक र सहयात्रीहरू कोकोलाई सम्झिन चाहनुहुन्छ ?

    कसैलाई बिर्सेकै छैन, त्यसैले सम्झन्छु भन्नैपर्दैन । सबैलाई सम्झिरहेकै छु । मेरी आमा जो ‘क’ अक्षर जान्नुहुन्न तर मलाई ‘कखग’ सिकाउनुभयो । कविता लेख है बाबु! भन्ने मेरो विद्यालयका शिक्षक प्रकाश गौतम, प्रधानाध्यापक ध्रुवमोहन अधिकारी, बालकथा लेख्न सहयोग गर्ने सौरभकिरण श्रेष्ठ मैले सधैँ सम्झने नाम हुन् ।

    मेरा अग्रज रमेश विकल, तेजप्रकाश श्रेष्ठ, विजय चालिसे, प्रा.डा. ध्रुवकुमार घिमिरे, शाश्वत पराजुली, कृष्णदीप सिग्देल, नवराज रिजाल, अनुराधा, अनन्त वाग्ले, गोपिनी पाण्डे, भोला श्रेष्ठ, केशवराज भट्ट आदि धेरैधरै नाम मेरो दिमागमा सधैँ ताजै रहनेछन् ।

    रत्न पुस्तक भण्डार, कथालय, परिचय, खोजी, काठमाडौँ, ऐरावती आदि प्रकाशन गृह र सहयोगी हातहरू । प्यारा बालबालिकाहरूलाई त झन् कहाँ बिर्सन सक्छु र ? तपाईँ पनि मेरा मनका कुराहरूलाई फैलाईदिएर सहयोग गरिरहनुभएको छ । यहाँ नाम नलिइएका पनि धेरैजना हुनुहुन्छ ।

    मेरा अग्रज रमेश विकल, तेजप्रकाश श्रेष्ठ, विजय चालिसे, प्रा.डा. ध्रुवकुमार घिमिरे, शाश्वत पराजुली, कृष्णदीप सिग्देल, नवराज रिजाल, अनुराधा, अनन्त वाग्ले, गोपिनी पाण्डे, भोला श्रेष्ठ, केशवराज भट्ट आदि धेरैधरै नाम मेरो दिमागमा सधैँ ताजै रहनेछन् ।

    लेखेरै बाँच्न गाह्रो छ भन्नेहरूलाई के भन्नुहुन्छ ?

    तपाईंहरू सही भन्दै हुनुहुन्छ भन्छु । लेखेरै बाँच्ने अवस्था बन्न सर्जकले धेरै नै मेहनत गर्नुपर्छ । एउटा उद्योग चलाउनेहरूलाई हेरौँ वा एउटा व्यापारी वा किसानलाई हेरौँ, उनीहरूले कति मेहनत गरिरहेका हुन्छन् । यदि त्यहाँ ठाउँ र समयअनुसार मेहनत पुगेन भने त्यो उद्योगी वा व्यापारी वा किसान कोही बाँच्छ ? पक्कै बाँच्दैन ।

    त्यस्तो  कुनैपनि पेशा वा व्यवसाय छैन, जसले बिना मेहनत जीवन बचाउने ग्यारेन्टी गरोस् ।  कुनै क्षेत्र अलि फराकिलो होला, कुनैको साँघुरो । तर, ठाउँ र समयअनुसार मेहनत गर्‍यो भने बाँच्न गाह्रो छैन । आजका दिनसम्म म लेखेरै बाँचिरहेको छु । अरू कुनैपनि पेशा गरेको छैन । लेखेरै जीवन चलाइरहेका मजस्ता धेरै सर्जकहरू हुनुहुन्छ ।

    तर, बाँच्ने भनेको के हो ? बाँच्नका लागि गास, बास, कपास, शिक्षा र स्वास्थ्यको कुरा छ । यी कुरासँगै विलासी जीवन फरक छ । यी सबैकुरा भएर पनि सन्तुष्ट वा असन्तुष्ट कुन जीवन बाँच्ने ? यो अलग कुरा छ । अनि फेरि, कालजयी भएर बाँच्ने, अजरअमर हुने कुरा छ । त्यसैले हामी कुन जीवन बाँच्ने दौडमा छौ ? पहिला त्यो स्पष्ट हुन जरुरी छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस