कोभिड-१९ विरुद्ध तयारी र सावधानीबारे सर्जकहरुलाई ५ प्रश्न

विगत तीन महिनादेखि फैलिएको कोरोना भाईरसले महामारीको रुप लिएको छ । हजारौंले ज्यान गुमाइसकेका छन् । संसारभर आतंक छ । नेपाली अर्थतन्त्र र सामाजिक जीवनमा समेत यसको प्रभाव परिसकेको छ । यसै पृष्ठभूमिमा हामीले कलाक्षेत्रका आधा दर्जन व्यक्तिलाई ५ वटा साझा प्रश्न सोधेका छौं ।
१. हिजोआज कुन ठाउँमा अनि के काममा व्यस्त हुनुहुन्छ ? परिवारसँगै हुनुहुन्छ कि नाइँ ?
२. विश्वव्यापी महामारीबाट जोगिन कस्ता उपाय अपनाउँदै हुनुहुन्छ ?
३. कोरोना भाइरसविरुद्ध सचेतना जगाउनका लागि केके गर्नुभएको छ ?
४. आसपासमा कस्तो प्रभाव परेको छ ?
५ . आफन्त/शुभचिन्तकलाई के सन्देश दिनुहुन्छ ?
निकेश खड्का, निर्देशक

अहिले म काठमाडौंमै छु । सतर्कता अपनाउँदै चपली हाईट-३ को पोस्ट प्रोडक्सनको काम र व्यक्तिगत कामहरु गर्दैछु ।
मास्क, ह्याण्ड वास आदि बेसिक सुरक्षा उपाय अपनाउँदै भीडबाट जोगिएर काम गरिरहेको छु ।
प्रायः रुमभित्रै बसेर गर्न मिल्ने कामहरु गर्दैछु ।
साँच्चै भन्दा कुनै खास अभियानमा लागेको छैन । तर, आफुलाई थाहा भएको र अरुले थाहा पाउन जरुरी छ भन्ने लागेको कुरा सामाजिक सञ्जालमार्फत सबैसम्म पुर्याउने कोशिस भने गरिरहेको छु ।
मर्निङ वाकमा जाँदा सुनसान थियो । सहर खाली खालीजस्तो लाग्यो । सबैजना होम क्वारेन्टाइनमा वा गाउँ फर्किएर सुरक्षित हुने उपायमा हुनहुन्छ । हाम्रो घर परिवारमा पनि आवश्यक सतर्कता अपनाईरहेका छौं ।
विदेशितर नराम्रो असर परिरहेकोले हामीलाई पनि अत्यास लाग्नु स्वाभाविक हो । आत्तिने भन्दापनि सबैजनाले आफ्नो आफ्नो ठाउँबाट सुरक्षा र सतर्कता अपनाउनु एकदमै जरुरी छ । तपाईं जहाँ भएपनि सुरक्षित र सतर्क रहनुहोस् ।
अभिमन्यु निरवी, लेखक

काठमान्डुमै छु । नियमित दैनिकीमा छु भन्नुपर्छ ।
अहिले म सकेसम्म कोठामै बस्ने । भिडभाडमा ननिस्कने । घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्ने । तातोपानी पिउने गरिरहेको छु ।
यो एउटा सरुवा रोग हो । जतिबेला जेपनि हुनसक्छ । त्यसैले भेटिएका मानिसहरुसँग यसलाई रोकथाम गर्ने विषयमा कुराकानी हुन्छ । सामाजिक सञ्जालमा यस विषयमा जानकारी शेयर गर्ने काम हुन्छ । सबभन्दा धेरै त हल्लाको पछि नलाग्न आव्हान गरिरहेको हुन्छु ।
अहिलेसम्म त्यस्तो केही प्रभाव देखिएको छैन । पसलमा ग्यास नपाइने, अत्यावश्यक सामान नपाइनेचाहिँ भइरहेको छ ।
खेलाँची र हेलचेक्र्याँई नगर्नुहोला ।
विमल डाँगी, गायक

म अहिले सपरिवार अमेरिकाको न्यूयोर्कमा छु ।
विभिन्न स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम कोरोनाबाट टाढै रहने उपाय अपनाउँदैछौं । घरबाट बाहिर नजाने, बाहिर गईहालेपनि आएर साबुनपानीले हात धुने, मास्क र स्यानिटाईजर प्रयोग गर्ने आदि ।
सामाजिक सञ्जाल र फोनमार्फत साथीभाई-आफन्तलाई आफुले जानेबुझेका सल्लाह दिने काम गरेको छु ।
कोरोनाबाट बच्न आफु सचेत रहौं र अरुलाई पनि सचेत बनाऔं ।
शोभा पाण्डे, गायिका

यतिखेर काठमाडौंमै छु । परिवारबाट टाढा छु । ‘घायल’ शीर्षकको नयाँ एल्बमको तयारी अन्तिम चरणमा पुगेर रोकिएको छ । बाँकी दैनिकी उस्तै छ ।
विभिन्न माध्यमबाट जानकारी लिएर सावधानी अपनाउने र सतर्क रहने प्रयास गरिरहेकी छु ।
कुनै अभियानसँग जोडिएर विशेष योगदान गरेकी छैन । आफुले पाएको जानकारी साथीभाई, इष्टमित्रसम्म पुर्याउने र सान्त्वना दिनेचाहिँ गर्दै आइरहेकी छु ।
सबैतिर त्रास र अन्योलजस्तो वातावरण छ । सहर सुनसान देखिन थालेको छ । घर परिवारसँग नियमित सम्पर्कमै छु । आवश्यक सावधानी अपनाएका छौं ।
नआत्तिनुहोस् । जुन ठाउँमा भएपनि सुरक्षित रहनुहोस् । सुरक्षाको उपाय पालना गर्नुहोस् । जोखिमपूर्ण स्थान र भीडभाडबाट जोगिनुहोस् भन्न चाहन्छु ।
बिपीन किरण, गीतकार

अहिले काठमाडौमै छु । बुबा-आमा सुनसरीमा बस्नुहुन्छ । परिवारका बाँकी सदस्य हामीहरु काठमाडौमा बस्छौ । कोरोनाको कारण सार्वजनिक कार्यक्रम, शैक्षिक संस्थालगायत धेरै क्षेत्र बन्द भैसकेका छन् । यस्तै अवस्था रहे केही दिनमा सुनसरी जाने तयारीमा छु ।
यसबारेमा आईरहेका विभिन्न जानकारीप्रति सचेत छु । सरकार र स्वास्थ्यसँग सम्बन्धित आधिकारिक निकायबाट प्राप्त सूचनाहरु संकलन गरी आफू र आफन्तलाई सजग गराएको छु ।
आधिकारिक र सत्य सूचनाहरु गाउँघर, टोल, छिमेकमा व्यक्तिगतरुपमा र सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने गरेको छु ।
सबै त्रसित छन् । कैयौं विकसित देशहरु यसको प्रभावले ध्वस्त बनिरहेको भएर पनि होला सबैतिर भय र त्रासको वातावरण छ । यसबाट त्रसितभन्दा पनि सजग हुनु आवश्यक छ ।
जुनसुकै बेला संक्रमण फैलिनसक्ने भएकोले हामी सचेत रहँदै सुरक्षामा विशेष ध्यान दिउँ ।
सुमिना लो, गायिका

यतिखेर परिवारसँगै नयाँबजार, काठमाडौंमा छु ।
मौसम परिवर्तनसँगै महामारीको त्रास बढिरहेको छ । मनमा डर त छैन तर सजग छु । नेपालमा पनि महामारी फैलन सक्छ भनेर सतर्क अवस्थामा छौं ।
कोरोनाविरुद्ध अभियान नै त केही छैन । आफुले जानेबुझेको, सुनेको कुरा इष्टमित्रलाई जानकारी दिइरहेको छु । सरसफाई र खानपानमा विशेष ध्यान दिनुहोला भन्ने गरेको छु ।
स्कुल, अफिस बन्द भएपछि धेरै मानिस गाउँ फर्किएका छन् । सुनसान हुन थालेको छ । बजारमा धेरै किसिमका सामानको अभाव छ ।
आफु सुरक्षित रहनुहोस् । सरसफाईमा ध्यान दिनुहोस् । नआत्तिनुहोस् । नडराउनुहोस् । सकारात्मक सोच राख्ने र सुरक्षित रहनुहोस् भन्न चाहन्छु ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस