• जीवनशैली | Jiwanshaili
  • कविता : तिमी नदुःख !


    – वसन्ती शाही

    म बेहुली बन्दाको तिम्रो खुसी
    म आमा बन्दा दुःखमा बदल्यौ
    कारण थियो मैले जन्माएको छोरी
    तिमीले यो बुझेनौ या बुझ्ने कोशिस गरेनौ
    त्यही छोरी एकदिन बेहुली बनेर
    कसैलाई सुखी र खुसी बनाउन सक्छे
    कसैकी पत्नी भएर घरबार सजाउन सक्छे
    आमा भएर तिम्रो वंश धान्ने छोरो पनि दिन सक्छे ।

    तिम्री आमा पनि कसैकी छोरी नै हुन्
    के उनीबाट तिम्रो हित र खुसी छिनिन्छ र ?
    के उनकै कोखबाट तिमी जन्मीएको होइनौ र ?
    के उनैको छाति चुसीचुसी तिमी हुर्किएको होइनौ
    अनि मैले छोरी पाउँदा किन दुःखी त ?

    तिम्री आमा जन्मिँदा उनका बाउ,
    तिम्री दिदी जन्मिँदा तिम्रा बाउ अनि उनका काका बाउ
    तिम्री फुपु जन्मिँदा उनका बाउ अनि काका बाउ
    म जन्मिँदा मेरा बाउ अनि मेरा काका बाउ
    र अनि मेरी छोरी जन्मिँदा तिमी र तिम्रो पितृसत्ता
    सबैसबै परपुर्खा एकपछि अर्काे गर्दै दुःखी हुँदै आए
    यसै क्रममा तिमी पनि भयौ, के अनौठो भयो र ?

    तिमिलाई डर छ,
    छोरा नहुँदा तिम्रो पिण्ड रोकिन्छ
    तिम्रो वंश अनि अंश सबै रोकिन्छ
    तिम्रो स्वर्ग जाने बाटो रोकिन्छ
    तिमि निःसन्तान हुन्छौ
    किनभने तिम्रो पितृसत्ताले यही सिकाउँदै आयो
    तिमीले पनि त्यही गर्याै, के अनौठो भयो र ?
    मेरा लागि, म त सधैं सहँदै आएकी जननी ।

    तिमीलाई थाह छ ?
    तिमीले पिण्ड दिएर तिम्री आमा स्वर्ग गएको ?
    तिम्रा बाउ अनि काका बाउ र परपुर्खा स्वर्ग गएको ?
    यहाँ स्वर्ग र नर्क भन्ने बस्ती पनि भएको
    कहाँ र कस्तो छ स्वर्ग तिमी भन्न सक्दैनौ
    किनभने तिमी स्वर्ग गएका छैनौ
    र गयो भने पनि तिमी फर्कंदैनौ
    तिमी त तिम्री आमा ज्यूदै हँुदा खिर खान्छौ
    र आमा भोकै हुन्छिन् थाह पाउँदैनौ
    जब आमा मर्छिन् उनलाई खिर खुवाउँछौ
    र आफु भोक भोकै बस्छौ ।

    के ज्यूँदी आमाको ब्यथा बुझ्ने कोसिस गर्यौ ?
    के मरेकी आमाको पेट खिरको पिण्डले भर्यौ ?
    विचरा तिमी, तिम्रो संस्कार अनि तिम्रो समाज ।

    तिम्रो समाजलाई भन
    भोलि मेरो छोरीले पनि पिण्ड दिन मिल्छ
    तिम्रो काजकिरिया गर्न अनि मलामी पनि जान मिल्छ
    तिम्रो अंश र वंशको हकदार पनि मेरी छोरी बन्न मिल्छ
    बरु उसले तिमी ज्यूदै हँुदा टन्न खिर खुवाइदिन्छे
    दुःख–बिरामी गाह्रो–सजिलो सबै हेरिदिन्छे
    कृपा गर, मरेपछिको खिरको पछि नलाग
    बरु ज्यूदै खाने खुवाउने कोसिस गर ।

    अनि भन यो पनि तिम्रो समाजलाई
    मरेपछि जाने अर्को संसार स्वर्ग कहीं छैन
    यहाँ भन्दा तल कुनै अर्काे नर्क पनि छैन
    तिमीलाई आमा चाहिन्छ, श्रीमति चाहिन्छ
    र चाहिन्छ बुहारी पनि तर किन छोरी त ?
    यीं सबै नाताका रुप त उनै छोरी हुन
    त्यही तिमीले जन्माएकी छोरी ।

    त्यसैले, म आमा बन्दा तिमी नदुःख
    तिम्रै छोरीको आमा त हुँ, मलाई आमा बन्न देऊ, नरोक
    मैले मात्रै एक्लै कहाँ छोरी जन्माउन सक्छु र ?
    तिम्रै बरदान त हुन्, तिमी धेरै नदुःख, तिमी धेरै नदुःख
    तिम्रो घर, तिम्रो समाज, अनि तिम्रो मनोरन्जन
    तिम्रा आफन्त अनि इष्टमित्र सबैलाई मैले नै सम्हाल्नु छ
    तिम्रो घर, अफिस र देश त मैले पनि चलाउन सक्छु नि
    त्यसैले मलाई विश्वास गर–
    मलाई माया गर, मेरो जन्मेको छोरीलाई हुर्किन देऊ
    मलाई आमा बन्न देऊ र असल पत्नी बन्न देऊ
    मलाई असल प्रेमिका बन्न देऊ
    र असल सासु पनि बन्न देऊ तिमी धेरै नदुःख ।

    यदी तिमीले साथ दियौ भने,
    म भोलि तिमीले चलाउने हवाईजहाज चलाउन सक्छु
    तिमी बिरामी पर्दा अप्रेसन गर्ने डाक्टर बन्न सक्छु
    तिम्रो लथालिंग भएको देशको बागडोर सम्हाल्न सक्छु
    त्यसैले तिमी धेरै नदुःख
    र नदुखाऊ तिम्रो अशान्त मनलाई
    बिन्ती छ– तिमी धेरै नदुःख ।
    ०००

    (सामाजिक सेवामा सक्रिय शाहीको ‘कर्णालीकी बुहारी’ नाम गैरआख्यान प्रकाशित छ ।)


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस