निद्रैमा कविता बर्बराउने कवि
–दृष्टान्त शर्मा
२०३७, माघमा पोखरामा भएको ‘टिकटमा मुक्तक’ कार्यक्रममा कविता वाचन गर्दै हरिभक्त कटुवाल । तस्वीर स्रोत : कणाद महर्षि ।
भावुक र कल्पनाशील भएकै कारण कविहरू कल्पनामा डुब्छन् । यसबाहेक व्यक्तिको आ–आफ्नो स्वभाव, गुण र आचरणले पनि ऊ कत्तिको कल्पनाशील छ भन्ने कुरा निर्धारण गर्छ । तरु अधिक कल्पनाशीलताले कसैलाई फाइदा पुग्दैन किनभने यो आम जनजीवनको लागि स्वीकार्य हुन सक्दैन ।
कवि एवं गीतकार हरिभक्त कटुवाल यस्तै भावुक र कल्पनाशक्ति उच्च भएका कवि थिए । मानिसको जीवनका घात–प्रतिघातलाई अत्यन्त मार्किक ढंगले सम्बोधन गरेर कविता लेख्न सक्ने उनको खुबीलाई उच्च मानिन्छ ।
कटुवाल वि.सं. १९९२ साल असार १८ गते भारतको असम राज्यको डिब्रुगढ जिल्लाको ख्वाङ्ग गेरगेरीमा जन्मिएका थिए । कविता लेखनकै कारण नेपाल आइपुगेका उनी २०२६ सालदेखि काठमाडौंमै बसोबास गर्न थाले ।
कटुवालले काठमाडौंमा अनेकौं मानसम्मान र घातप्रतिघातको सामना गर्नुपर्यो । यसमध्ये उनको जीवनको उत्तरार्धतिर घटेको एउटा घटना अत्यन्तै रोेचक छ ।
नेपालकै पहिलोपटक टिकट काटेर मुक्तक सुन्ने कार्यक्रम आयोजना भएको थियो पोखरामा, ‘टिकटमा मुक्तक’ । २०३५ साल माघ २० गतेको उक्त कार्यक्रममा काठमाडौंबाट कवि हरिभक्त कटुवाल, दिनेश अधिकारी, कणाद महर्षिलगायत करिब दुई दर्जन कवि पोखरा गएका थिए ।
पोखरामा मुक्तक गोष्ठी सम्पन्न भयो । त्यसै दिन बेलुकीको खानापछि मदिरापान पनि चल्यो । आयोजकले नै त्यसको प्रबन्ध गरेका थिए । त्यहाँ कटुवालले पिएर हाँसो उठ्ने कुरा गर्दा युवा कविमाझ हाँसोको बाढी नै उर्लियो । कविहरू हाँसखेलमा रमाइरहेका थिए भने यता सेतो सुट–पाइन्ट लगाएका कटुवाल भाइ कविहरूलाई जिस्काउनमै व्यस्त थिए ।

कविहरूलाई राति सुत्नका लागि पोखराकै एकजना स्थानीय साहित्यकारको घरमा लगियो । त्यतिबेलाका युवा कवि कणाद महर्षि र कटुवाल सँगै सुते, भुइँमा । सुतेको केही समयपछि कणाद ब्यूँझिए । तर छेउमै सुतेका कटुवाल थिएनन् । शौचालय गए कि, कता गए भनी एकछिन त कणादले वास्ता गरेनन् । तर, निकै बेरसम्म कटुवाल नआएपछि उनले साथीहरूलाई उठाए । सबैजना मिलेर त्यस घरको वरपर खोजे तर फेला पारेनन् ।
घरमूलीलाई लिएर मध्यरातमा उनीहरू कटुवालको खोजी गर्न निस्किए । अन्ततः त्यसै गल्लीमा रहेको रक्सी पसलको ढोका अगाडि उभिएर ढोका ठटाइरहेका भेटिए कार्यक्रममा विशिष्ट अतिथि कवि हरिभक्त कटुवाल ।
कणादले यति राति नचाहिने ठाउँमा आएको भनेर हप्काए पनि । तर, कटुवाललाई त्यसको परवाहै थिएन । उल्टै आफूलाई रक्सी नपुगेको भन्दै थप गरिदिन आग्रह गरे । स्थानीयवासीको आग्रहपछि बल्लबल्ल पसल खुल्यो र कटुवाललाई रक्सी थपियो । यसपछि सबैजना मिलेर उनलाई सुताउन ल्याए ।
सुतेको केही समयमै कटुवाल मसिनो स्वरमा बर्बराउन थाले । कणाद ब्यूँझिएर कटुवालको कुरा ध्यान दिएर सुन्न थाले । कटुवाल निद्रामै लयबद्ध कविता गुनगुनाइरहेका थिए । नयाँ कविता हो कि पुरानो कविता हो, कणादलाई छुट्याउन गाह्रो परेन । किनभने कटुवालका अधिकांश छोटा कविता उनलाई थाहा थियो । करिब आधा घन्टापछि कटुवाल निदाए र कणाद पनि सुते ।
भोलिपल्ट बिहान चिया खाने समयमा कटुवाललाई कणादले सोधे– ‘दाइ हिजो राति तपाईंले कविता भन्नुभएको याद छ त ?’
जवाफमा कटुवालले याद नभएको बताए । कटुवाललाई रासत गल्लीको पसलसम्म गएको मात्र याद रहेछ ।
कणादलाई लाग्यो, कटुवालले नयाँ कविता भनेका हुन् । उनलाई राति उठेर कापीमा टिप्न पाएको भए हुने रहेछ भन्ने पछुतो भयो । उक्त गीतिकविता सार्न नसकेकोमा कणाद अहिले पनि थकथक गरिरहन्छन् ।
०००
पोखरा मुक्तक महोत्सवमा कणादले नै कटुवालको कविता वाचन गर्दै गरेको पूर्ण कदको तस्बिर खिचेका थिए । सम्झनाको चिनोस्वरूप अब उनीसँग यही तस्बिर बाँकी छ । कणादले आफ्नो एक कवितासंग्रहको नाम कवि हरिभक्तकै स्मृतिमा समर्पित गरेका छन् । ‘घाउमा हरिभक्त कटुवाल’ नामक उक्त कवितासंग्रह साझा प्रकाशनबाट प्रकाशित छ ।
कार्यालयको कामले कणाद पोखराबाट कार्यक्रमको भोलिपल्ट एक्लै फर्किए । तर, कटुवाल र अरू कविहरू एकदुई दिन त्यहीँ बसे । फर्कंदा कवि विश्वविमोहन श्रेष्ठसँगै फर्किएका थिए, कटुवाल । पोखरा–काठमाडौंको एकदिने बाटो कटुवाल र विश्वले करिब एक हप्ता लगाए । यस क्रममा उनीहरूले कति होटल चहारे, कहाँ कहाँ घुम्न गए ? लेखाजोखा नै छैन ।
यस्ता अनौठा बानी र उच्च प्रतिभा भएका कवि एवं हरिभक्त कटुवालको निधन पोखरामा भएको यो घटनाको दुई वर्षपछि, २०३७ साल भदौ २५ गते जन्मस्थान असमको डिब्रुगढमा नै भयो ।
०००
(कवि कणाद महर्षिसँगको कुराकानी र हरिभक्त कटुवाल स्मृति अंक ‘अभिव्यक्ति, पूर्णाङ्क– २८’ को आधारमा ।)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै






प्रतिक्रिया दिनुहोस