• जीवनशैली | Jiwanshaili
  • सिनेजगतमा ‘बेमौसमी’ तरङ्ग


    कोभिड १९ को महामारीबाट सर्वाधिक प्रभावितमध्ये सिनेमा क्षेत्रपनि एक हो । यतिखेर नेपाली सिनेमा क्षेत्र संकटबाट कसरी जोगिने ? भन्‍नेमा केन्द्रित हुनुपर्नेमा त्यसको ठीक विपरीत बेमौसमी बहसले तरङ्गित हुन पुगेको छ । कलाकार र फिल्मसम्बद्ध व्यक्तिहरु दुईधारमा विभक्त भएर अनेक क्रिया प्रतिक्रिया गरिरहेका छन् । त्यसको केन्द्रमा छन् दुईजना नायिका । र, तीसँग जोडिएका मुद्दाहरु हुन् – नायिकाको सामान्यज्ञान र दुर्व्यवहार ।

    एकजना नायिकाले टेलिभिजन अन्तर्वार्ताको क्रममा दिएको उदेकलाग्दो जवाफको यतिखेर सबैतिर चर्चा भइरहेको छ । अर्की नायिकाले आफुमाथि दुर्व्यवहार भएको, सुटिङ सेटमै अश्‍लील गाली गर्ने गरेको उल्लेख गर्दै सामाजिक सञ्‍जालमा भिडियो पोस्ट गरेकी छन् ।

    समर्थन र विरोधको लहर

    कलाकार, सञ्‍चारकर्मी तथा आम सामाजिक सञ्‍जाल प्रयोगकर्ता आफुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक गर्ने नायिकाको समर्थन र विरोधमा दुई कित्तामा बाँडिएका छन् ।

    भिडियोमा नायिकाले आफू १७ वर्षको हुँदा दुर्व्यवहारमा परेको उल्लेख गरेकी छन् । त्यसैगरी आफुले बोलाएको भए त्यतिबेला प्रहरी आउनसक्‍ने अवस्था रहेको समेत उल्लेख छ । घटनाको विषयमा आफुले एक व्यक्तिलाई बताएको तर ‘चलचित्र उद्योगमाथि नै नियन्त्रण गर्नसक्‍ने शक्तिशाली’ व्यक्तिको विरोध गर्दा फिल्मको अफर नपाउने सुझाव ती व्यक्तिले दिएको नायिकाको भनाई छ ।

    आलोचकहरुले नायिकाको यही भनाईलाई लिएर विरोध गरिरहेका छन् । कतिपयले वर्षौंसम्म किन चुप लागेर बसेको ? भन्‍ने प्रश्‍नसमेत गरेका छन् । समर्थकहरुले भने जुनसुकै समय र परिस्थितिमा भएको भए तापनि दुर्व्यवहारको समर्थन गर्न नसकिने उल्लेख गरेका छन् । ऋचा शर्मा, वर्षा सिवाकोटी, प्रियंका कार्की, अर्जुन कुमारलगायत कलाकार, निर्माताले दुर्व्यहारको विरोध गर्दै नायिकाको पक्षमा मत प्रकट गरेका छन् ।

    केहीले भने आफु अनुकुल हुँदासम्म घटना सार्वजनिक नगरेको भन्दै दुर्व्यवहार गर्ने व्यक्तिमात्रै नभएर पीडित भनिएकी नायिकासमेत गलत भएको टिप्पणी गरेका छन् ।

    तेस्रो धार

    यस किसिमका व्यवहार र विवादले कलाक्षेत्रलाई नै असर पार्ने भन्दै विवाद निरुपणका लागि संस्थागत पहल गर्नुपर्ने आवाज समेत उठेको छ । त्यसैगरी कतिपयले यो विवाद क्षणिक भएको समेत बताएका छन् ।

    निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठकले कलाकारबीच देखिएको विवाद टुङ्‍ग्याउन कलाकार संघको भूमिका आवश्यक होकि ? भन्‍ने प्रश्‍न गर्दै सामाजिक सञ्‍जालमा टिप्पणी गरेका छन् । पाठकको टिप्पणीमा प्रतिक्रिया लेख्दै चलचित्र लेखक, समीक्षक तथा पत्रकार सामीप्यराज तिमल्सेना भन्छन्, ‘फिल्म बन्‍न थालेपछि विवाद गर्नेहरुको दोस्तीको समाचार पढ्न पाइनेछ । र, सम्बन्धित व्यक्तिको उजुरीबिना संस्थाले बोल्नु जरुरी छैन ।’

    विगतमा पनि बेलाबखत यस्ता विषयहरुको उठान हुने र त्यतिकै हराउने गरेको पाइन्छ । पत्रकार तिमल्सेनाको टिप्पणीजस्तै यसपालिको विवादले धेरै समय नलिने र यसै टर्ने सम्भावना उत्तिकै बलियो छ । तथापि सिनेमा जगतमा यस किसिमका विवाद पटकपटक देखिइरहनु र त्यसबाट समाज नै तरङ्गित हुनु दुःखद विषय हो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस