• जीवनशैली | Jiwanshaili
  • लकडाउनले रोकेन सृजनालाई


    साहित्य, संगीत, नाटक र चित्रकलाका स्रष्टा सृजनामा सक्रिय

    ०००

    बन्दाबन्दीले अधिकांश पेशा–व्यवसायी अब के गर्ने भनेर अन्योलमा छन् । उनीहरूको पेशामा लकडाउनका कारण गिरावट आएको छ । तर सृजनशील काममा लाग्ने साहित्यकार, चित्रकार तथा संगीतकर्मीहरू भने लामो अवधिको बन्दाबन्दीलाई पनि उपयोगी बनाउने सुरमा छन् ।
    सरकारले लागू गरेको लकडाउनको मोडल परिवर्तन भएपनि बन्दाबन्दी भएको तीन महिना कटिसकेको छ । राज्यको स्वास्थ्य संरचनाले महामारी नधान्ने भएपछि लकडाउन झनै बढ्ने देखिन्छ । अवस्था नियन्त्रणमा आएपनि सार्वजनिक कार्यक्रम, जमघट र भौतिक अन्तरक्रिया निकै कम हुने निश्चित छ ।

    ८० वर्ष टेक्न लागेका कवि एवं संस्कृतिविद् तुलसी दिवस बन्दाबन्दीमा आन्तरिक रुपमा सक्रिय रहेको बताउँछन् । दिवसका अनुसार केही न केही सोचेर, केही विचार गरेर बस्नुपर्ने मानवीय स्वभाव लकडाउन छ भन्दैमा स्थिर हँुदैन । बरु सृजनशील मानिसलाई महामारी र लकडाउनले आन्तरिक सक्रियता जगाउन घच्घच्याएको छ ।

    उनी भन्छन्, ‘प्रिय मान्छेलाई अंगालो हाल्न पनि नपाउने यो समयमा आफ्नो र अर्काको सुरक्षामा सचेत हुने धारणा म स्वयंमा पनि विकसित भएको अनुभव गरेको छु । असहज परिस्थितिले गर्दा नै मानवीय अज्ञानताबारे सोच्न पाएको छु ।’

    आन्द्राको क्यान्सरसँग जुधिरहेका चितवन निवासी साहित्यकार रेशम विरही बन्दाबन्दीको समयमा लेखनमा झनै सक्रिय छन् । नयाँ निबन्धसंग्रहको लागि लेख्नेदेखि नयाँ खण्डकाव्य सक्ने योजनामा छन् उनी । स्वास्थ्यमा सुधार हुँदै गएकाले उनी आफ्नो साहित्य रचनातर्फ बढी समय दिइरहेका छन् ।

    काठमाडौंको सिरानमा पर्ने मूलपानी बस्ने साहित्यकार नारायण ढकालको विगत एक वर्ष लकडाउनजस्तै गरी बित्यो । कार्यक्रम र पारिवारिक कामबाहेक उनी एक वर्षसम्म घरबाट बाहिर निस्केनन् । राजनीतिमा पनि सक्रिय रहेका ढकाललाई घर बस्नु परेकोमा कुनै फिक्री छैन ।
    ‘लकडाउन सुरु हुँदानहुँदै मार्खेजको किताब दोहोर्याएँ र इटालियन लेखक इगानियो सिलोनीको ‘फोन्टामारा’ उपन्यास पढें’ ढकालले भने ‘लकडाउनको सकस आजसम्म परेको छैन ।’
    पूर्व इटहरिका कवि हेमन यात्री लकडाउनभन्दा केही अगाडि मोरङ मिक्लाजुङमा रहेको आफ्नो जन्मगाउँ आइपुगे । त्यसपछिका तीन महिनामा ठूलो क्षेत्रफलमा तरकारी खेती गर्न थाले । ‘उपयुक्त अवस्था आए नियमित गाउँमा आएर कृषिको काम गर्ने योजना छ’ यात्रीले भने ‘गाउँमा बसेरै पनि सृजना गर्न झन् सहज भएको छ ।’

    देशभरि डुलेर नियात्रा लेख्दै हिँड्ने नियात्राकार युवराज नयाँघरेका पाइला यति लामो समय कहिले रोकिएन । देशका कुनै न कुनै भागमा घरम्न गइरहनुपर्ने उनी विगत तीन महिनामा कतै जान पाएनन् । ‘बरु बिहान ‘मर्निङ वाक’ जाने अनि दिउँसो कीर्तिपुर, चोभारजस्ता नजिकका गन्तव्य हिँडेरै जाने गरेको छु’ नयाँघरेले भने ।

    लकडाउन थपिँदै गएपछि उनी आफ्नो निबन्ध र नियात्राका दुई किताब लेख्न निरन्तर लागेका छन् । पत्रपत्रिकाका लागि रचना लेखिरहेकै छन् ।
    यीबाहेक साहित्य क्षेत्रमा भर्चुअल गोष्ठी, छलफल, विमर्श र अन्तरवार्ता नियमित भइरहेका छन् । लेखकहरू आफ्ना रचनामाथि खुलेर छलफलमा उत्रने क्रम बढेको छ ।

    संगीतको आफ्नै संसार

    साहित्यकारमात्र होइन संगीत क्षेत्रका सर्जक पनि लामो समयको बन्दाबन्दीलाई सृजशील बनाउन प्रयासरत देखिन्छन् । उनीहरू कहिले आफ्ना पुराना गीत आफैं गाएर सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् त कहिले नयाँ गीत गाएर युट्युबमा अपलोड गर्छन् ।

    रेडियो नेपालमा चार दशक बिताएर अवकाश लिएका वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीले लकडाउन सुरु हुनुअघि नै कोरोना सचेतनामाथ गीत कम्पोज गरे । रायमाझी कै अगुवाईमा उक्त गीत नेपाली, भोजपुरी, मैथीली, थारु र पश्चिमी थारु गरी पाँच भाषामा रेकर्ड भयो । यसपछि उनले सीमा विवादमाथि पनि संगीत कम्पोज गरे ।

    ‘अरु साथीहरूलाई बन्दले केकस्तो असर गर्यो तर मेरा लागि अति सृजनशील समय पाएँ’ रायमाझीले भने ‘आफ्नो व्यक्तिगत साधनालाई पनि रोकेको छैन र नयाँ गीत कम्पोजको काम पहिलाभन्दा रफ्तारमा चलेको छ ।’

    नेपथ्यका गायक अमृत गुरुङ गाउँमै बसिरहेको कुरा सामाजिक सञ्जालमा उनले राख्ने तस्वीरले धेरैलाई थाहा भयो । गुरुङ पनि गाउँमै बसेर कृषिको काम र नयाँ गीत कम्पोज गर्न तल्लीन छन् ।
    बन्दाबन्दीमै कवि तथा लोकगायक संगीत श्रोताका तीनवटा लोक भाकाका नयाँ गीत आयो । घर जान नपाएका नागरिकको दर्दमाथि उनले आफ्नै स्वरमा रेकर्ड गरेको गीत सामाजिक सञ्जालमार्फत् बाहिर ल्याए ।

    पप गायक जेम्स प्रधान, योगेश्वर अमात्य, न्ह्यु ब्रजाचार्य, सुन्दर कुमार महर्जन र गोपाल रसाइलीसहित पाँच जनाको जोडीले भर्चुअल भीडियोबाट सामाजिक सञ्जालमा गीत प्रस्तुत गरे । उनीहरूले दुर्गालाल श्रेष्ठको शब्दमा रहेको ‘मलाई देऊ तिम्रो एकैछिन’ बोलको गीत फरकफरक स्थानमा बसेर संयुक्त स्वरमा गाए ।

    ०००
    कलाका अन्य विधाभन्दा तुलनात्मक रुपमा लकडाउनको मारमा परेको नाटकका स्रष्टा पनि बन्दाबन्दी छ भन्दैमा स्थिर बसेका छैनन् । नाट्यकर्मी राजन खतिवडा घरमै बसर नाटकमाथि नयाँ काम गर्ने अभ्यासमा छन् । उनी रंगमञ्चमाथि लेखिएका पुस्तक दोहोर्याएर पढ्दै छन् । खतिवडा भन्छन्, ‘रंगमञ्च र निर्देशनमा गर्न सकिने नयाँ प्रयोगको व्यक्तिगत अभ्यास गर्दै छु । बन्द भयो भन्दैमा आफ्नो कर्ममा विश्राम दिनुहुँदैन ।’

    कलाकार दयाहाङ राईसहित मण्डला थिएटरका कलाकार मिलेर नियमित रुपमा नाटकमाथि विमर्श गरेको उनले सुनाए । यता निर्देशक अनुप बराल रंगमञ्चमाथि नयाँ किताब लेख्न व्यस्त छन् । गृहनगर पोखरामै रहेका बराल नाटक प्रदर्शन रोकिए पनि नाटकलेखन, विमर्श र अभ्यास रोक्न नहुने मत राख्छन् ।

    निर्देशक सुनिल पोखरेलका अनुसार पनि बन्दाबन्दीको समयमा सानो समुह बनाएर रिहर्सल गर्ने तथा नाटक लेखेर नयाँनयाँ प्रयोग गर्न सकिन्छ । बन्दको समय लम्बिँदै जाँदा कलाकार निष्क्रिय हुन नमिल्ने तर्क पोखरेलको छ ।

    उनी भन्छन्, ‘नाटकका विविध आयाममा भर्चुअल बहस गरेर नयाँ धार (ट्रेण्ड) कै पनि विकास गर्न सकिन्छ । प्रतिकुल अवस्था हुँदैमा सृजनशील मानिसलाई संकटले रोक्न सक्दैन ।’
    कलाकार रविन्द्र श्रेष्ठ लकडाउन सुरु भएसँगै घरमै बसेर चित्र बनाउन व्यस्त छन् । विदेशी राष्ट्रका कलाकारसँग मिलेर संयुक्त चित्र बनाउने काममा लागेका उनी कलाकारिता लकडाउनकै कारणले नरोकिएको बताउँछन् । ‘थिम’मा रहेर चित्र कनाउन रुचाउने श्रेष्ठ चित्रकारितामा गरिने नयाँ प्रयोगको व्यक्तिगत अभ्यासमा छन् ।

    यता कलाकार एरिना ताम्राकार र आशा डंगोलको जोडीले पनि लकडाउनमा प्रत्येक दिन नयाँ चित्र बनाएर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिहेका छन् । जेठ पहिलो साता कलाकारहरूले चित्रकलाको पहिलो भर्चुअल प्रदर्शनी गरे । प्रदर्शनीमा कोरोना र लकडाउनसम्बन्धी १९ जना कलाकारका चित्र राखिएको थियो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस