• जीवनशैली | Jiwanshaili
  • नेपाली मनका रसिला कवि


    कुनै समय थियो कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना, मीठो नेपाली’ नपढ्ने विद्यार्थी कमै थिए । कृष्णप्रसाद पराजुलीको उक्त किताबसँगै उनका बालकविता र गीतहरू नपढ्ने विद्यार्थी कमै छन् । २० को दशकदेखि अहिलेसम्म पराजुलीका रचना नीजि एवं सरकारी पाठ्डपुस्तकमा राखिएका छन् ।
    पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गते काभ्रेपलाञ्चोकको भ्रमरकोटमा भएको हो । उनले ‘साहित्यरत्न’ पूरा गरेका थिए र लामो समय प्राध्यापन गरे ।

    उनले ‘पूर्व एक नम्बर’, ‘नेपाली शुद्ध लेखौं’, ‘आँखाभरि सपना मुटुभरि गीत’, ‘सय थुँगा फूल’, ‘सुनकेस्रा’, ‘राम्रो रचना मीठो नेपाली’ लगायतका कृति लेखेका छन् । साथै नेपाली शब्दकोश निर्माणमा उनको हस्तक्षेपकारी योगदान छ । उनै कविको जन्म दिवसको उपलक्ष्यमा उनको दुई कविता यहाँ प्रस्तुत गरिएको छ

    आँखाभित्र बिलाउँदैन

    आँखाभित्र बिलाउँदैन जति, भाषाभेष
    म त आएँ विदेशबाट सम्झी आफ्नै देश
    चिल्ला चौडा बाटा देखेँ
    आकाश ताक्ने घर
    जस्तो देखे पनि मैले
    सम्झेँ गाउँघर
    हामी उठौँ विकासमा छाड्नु प¥यो रेस
    म त आएँ विदेशबाट सम्झी आफ्नै देश
    सातै सागर तरी गएँ
    पातालभूमि टेकेँ
    छक्कै पार्ने झिलिमिली
    संसार नौलो देखें
    गोडा उनै, हात उनै– कामै गर्नु बेस
    म त आएँ विदेशबाट सम्झी आफ्नै देश ।

    ०००
    लाग्छ मलाई मीठो मधुपर्क

    किन–किन लाग्छ मलाई मीठो मधुपर्क
    फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क !
    जीवनमा रस घोल्दा
    मान्छे बाँच्न सक्छ
    नीरस जीवन राम्रो होइन
    अन्त्य हुन पुग्छ….नबोलूँ म कसैसँग हेर्छु वर्षैवर्ष
    किन–किन लाग्छ मलाई मीठो मधुपर्क !


    कथा पनि देख्छु उसमा
    गीत पनि सुन्छु
    दुःखैबाट पनि नयाँ
    जीवन रस चुम्छु
    आइदिएछ भेट गर्ने बल्ल यौटा पर्व
    किनकिन लाग्छ मलाई मीठो मधुपर्क ! 


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस