भानुसँग एकालाप
– नरेन्द्रकुमार नगरकोटी
(बेलाबेला नेपाली कविताबारे सोच्न पुग्छु । त्यतिबेला आफूलाई मन परेका अनेकौं कविका कविता एकसाथ मनमा खेल्छन् । यस्तैबेला मनको एककुनामा बिर्खे टोपी लगाउने, मीठो छन्दमा राम–सीताको कथा लेख्ने कवि भानुभक्तको याद आउँछ । भानुभक्तमाथि विचारको तहमा ओर्लेर हेर्नभन्दा मनको तहबाट केही सोच्न मन लाग्छ, र म एकालापमा होमिन्छु ।)
।।१।।
नेपाल–अङ्ग्रेज युद्ध भएको साल एउटा बालकको जन्म भयो । वि.सं. १८७१ साल अर्थात् आजभन्दा दुई सय सात वर्षअघि । युद्ध चलेको तीन वर्षपछि सुगौली सन्धिमा ल्याप्चे लगाए युद्धरत पक्षले । यसपछि युद्ध रोकियो । देशले बेहोर्यो एउटा ‘ह्युमिलेसन’ । त्यतिखेर तातेताते गर्दै एउटा बालक उभिन खोज्दैथ्यो । नेपाली कला, साहित्य र चेतनाका लागि । उही चम्किला भानु– ‘भानुभक्त आचार्य’ । नेपाली साहित्यका उज्याला नक्षत्र ।
एकदिन मेरी एक साथीलाई एउटा प्रश्न तेर्स्याएँ । उनीसँग कविताको कुरा वा कवितामा कुरा, यो त चल्छ नै । मैले सोधें– ‘तिमीलाई नेपालका कुनकुन कविको नाम थाहा छ ?’
उनले एक नम्बरमा लिएको नाम थियो भानुभक्त आचार्य । उनले भनेका केही नामको सूचीमा मैले मेरो नाम पनि समावेश गरिदिएँ । यसपछि हामी खुबै हाँस्यौं । केही कविताहरू सुनायौं एकअर्कालाई ।
भानुभक्त हुर्केको समय कठोर थियो । हाँस्नु वा दाँत देखाउनु पनि मुस्किल थियो त्यतिबेला । नेपाल–अङ्ग्रेज युद्धले डसेका डामहरू अझै उस्तै थिए । मनमा बनेका घाउहरू आलै थिए । घाउमा लगाउने मल्हम केही थिएन । विक्षिप्त थिए मानिसहरू ।
भानुले यसै कालमा संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा अनुवाद गरे । नेपालीको जनजिब्रोमा छुनसक्ने गरी लेखे । उनले नेपाली भाषालाई प्रेम गरे । मानिसहरू उनको रामायण पढेर आल्हादित भए । आनन्दित भए । मन बहलाउने बाटो भानुभक्तको रामायण भयो । यसकारण भानु सबैको मनमनमा बस्न सफल भए ।
मेरी साथी/प्रेमिकाको मुस्कानलाई कायम राख्न मैले भनें, म चाहिँ अब ‘प्रेमायण’ लेख्छु । अनि मेरो नाम चाहिँ ‘तिमीभक्त’ राख्छु । हामी दुवै मुस्कुरायौं ।
।।२।।
भानुभक्त आचार्यको नाम नसुन्ने हाम्रो पुस्तामा कमै होलान् वा नहोलान् । प्रत्येक ‘असार २९’ मा विद्यालयमा कार्यक्रम गरिएको हुन्छ । ठाउँठाउँमा विभिन्न कार्यक्रम गरिन्छ । भानुको तस्विरमा माल्यार्पण गरिन्छ । तस्बीरको निधारमा टिका लगाइन्छ । रातो अबिरले । रामायण पाठ गरिन्छ । छन्दमा लय हालेर । फुटकर कविता पढिन्छ । सुनिन्छ, सुनाइन्छ । कविता प्रतियोगिता आयोजना हुन्छ । केही कवि र केही अकविले फेरि टिका थाप्छन् । पुरस्कार थाप्छन् ।
एक जना आचार्य थरकै भाइले कविता वाचन गरे । फूर्तिसाथ । स्रोतादिर्घामा थिए, शिक्षक र विद्यार्थीहरू । अर्को थिएँ म । स्कूलको आन्तरिक कविता प्रतियोगिता थियो । निर्णायकहरूले त्यो कवितालाई त्यै दिन दोस्रो बनाइदिए । मलाई पनि रमाइलो लाग्यो त्यतिबेला । यस खाले प्रतियोगिता र कार्यक्रम पछिल्ला दिनमा धेरै संयोजन र आयोजन गरियो । प्रतियोगिता नजिते पनि भानुभक्तको जस्तो कविताप्रेम र भाषाप्रेम हुन सके युगयुगान्तर मानिसले सम्भिनेछन् । रेस जित्न मात्र लागिपर्ने हो भने रेस जितेको दिन मात्रै टिका लाग्ने हो निधारमा । मुख धोएपछि टिका पखालिनेछ सदाका लागि । यस्तै कुरा सिकेको छु यो र यस्तै घटनाबाट ।
एसएलसीको तयारीमा जुटेको थिएँ म र पढ्नका लागि उही कविता वाचन गर्ने भाइको घरमा बसेको थिएँ । भाइले मेरो रूचिको काम गर्न भने । मैले सहर्ष मानेँ । मैले केही गरेको थिइनँ, भानुभक्तलाई सम्झेर कविता लेखेको थिएँ । त्यही कविताले ताली पायो । कविता वाचकले पुरस्कार पायो । मेरो जानकारीमा रहेसम्म त्यो भाइले त्यसपछि कहिल्यै कवितामा केही गरेन ।
गाउँमा साहित्यको गतिविधि हामीले गर्दैगरेको चित्र यो मनमा अहिले सल्बलाइरहेछ । कार्यक्रममा बालबालिका, युवा र आमाबुबाहरूको बराबर सहभागिता हुन्थ्यो । बा र हजुरबाहरूबाट रामायण सुन्न पाइन्थ्यो । सबैले आआफ्ना सिर्जना सुनाउँथे । विशेषतः कविता वाचन हुन्थ्यो । घाँस काट्ने घँसिया हातहरू, खेत रोप्ने रोपाहारहरू र बाउसे गर्ने लाठेहरू पनि कवितामा कला भर्न आउँथे । धेरैधेरै हातहरू यतिखेर गाउँमा भेटिन्नन् । खाडीमा, अरबमा, कतारमा, कोरयामा विनिमय गर्दैछन् पसिना, रगत, सिर्जना र सपना । कहिले ‘रेमिट्यान्स’ बनेर मुस्कुराउँदै देश चुम्छन् । कहिले बाकस बनेर विमानस्थलमा मौन झर्छन् । अनि झर्छन् आँखाहरूबाट ।
यतिखेर अमरावती कान्तिपुरी नगरीमा कोही हिँडिरहेको देख्नुभयो भने हातमा कान्तिपुर दैनिकको ‘वर्गीकृत डिस्प्ले’ च्यापेर लम्केको हो एउटा ‘ग्राजुएट’ युवा । गाउँबाट शहर पसेको वा शहरमा हुर्केको । अब उसँग रामायण पढ्ने, भक्तमाला पाठ गर्ने, बधुशिक्षामाथि आलोचना गर्ने, प्रश्नोत्तरमालाका दर्शन बारे सोच्ने वा भानु जयन्तीमा कविता पढ्ने कुनै पनि फुर्सद छैन । उसको सिधा दृष्टि विमानस्थलतिर छ, हातमा राहदानी छ । राहदानीमा उसको आफ्नै फोटो छ । मनमा उसको आफ्नै रामायण छ आँसुका अक्षरले लेखिएका ।
।।३।।
भानुभक्त तनहुँको रम्घामा जन्मिए । उनको जन्म हुनेखाने परिवारमा नै भएको थियो । घरमा शिक्षादिक्षाको प्रबन्ध थियो । जस्तोसँग उस्तै रङ भन्छन् नि, सानैमा हजुरबा श्रीकृष्ण आचार्यको साथले उनलाई सघायो । घरको माहोलले उनलाई कवितातर्फ तान्यो । कसैले सोधेको प्रश्नको उत्तर नै कवितामा नै भाका हालेर दिन्थे उनी ।
सबै भाषाको साहित्यलाई प्रेम गर्न सकौं । सबैको सृजनशीलतालाई उत्तिकै सम्मान गर्न सकौं । हरेक मातृभाषाका आआफ्नै भानुभक्त छन्, तिनलाई चिन्न सकौं ।
मोतिराम भट्टले भानुभक्तको साहित्यिक उचाइ बढाउन ठूलो योगदान पुर्याए । भानुका रचनाहरू छापिदिएर । उनका सिर्जनाहरूलाई जनमानससम्म पुग्ने बाटो बनाइदिएर । भानुको जीवनी लेखी प्रकाशन गरेर । त्यसैले भानुलाई सम्झिँदा मोतिलाई बिर्सिनु हुँदैन । मोतिरामले नै भानुभक्तलाई आदिकवि भनेर पहिलोपल्ट लेखेका थिए । नेपाली भाषामार्फत पुर्याएको योगदानले नै भानुलाई सम्झेर आज यी शब्दहरू कोर्न अभिप्रेरित भएको हुँ ।
।।४।।
हाम्रो भाषासाहित्य, संस्कृति र पहिचानका लागि योगदान दिने सबैसबै व्यक्तित्वलाई उत्तिकै सम्मानसाथ सम्झिने संस्कृति विकास गर्न सकौं । सबै भाषाको साहित्यलाई प्रेम गर्न सकौं । सबैको सृजनशीलतालाई उत्तिकै सम्मान गर्न सकौं । हरेक मातृभाषाका आआफ्नै भानुभक्त छन्, तिनलाई चिन्न सकौं ।
हरेक नेपालीजनले कविताजस्तै निश्छल र निष्ठावान् जीवन व्यतित गर्न सकौं ।
१ सय ५२ वर्षअघि भौतिक आँखा चिम्ले भानुले । यसबीचमा बागमतीमा कैयौं घनलिटर पानी बगिसक्यो । ‘ग्लोबल वार्मिङ’ले कैयौं हिमालहरू पुड्का भइसके । भानुको उचाइ भने चुलिँदैछ, चुलिँदैछ ।
०००
(लेखक ‘बालउदय’ मासिकका प्रधानसम्पादक हुन् ।)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस