मसानघाटको एक्लो लाश
हरेक दिन मसानघाटमा दर्जनौं शरीरहरू पोल्न तयार भइराख्दा एक–एक शरीरको मूल्य देख्दै गर्थे ! तर आज माहोल अलिक फरक छ ।
आज मन्दिरछेउको साइनबोर्डमा नयाँ मूल्यसूची लेखिएको थियो– लाश काठबाट पोलेको बीस हजार अनि बिजुलीबाट आठ हजार रूपैया मात्र !
तपाईंहरूलाई थाहा नै छ–
जन्म अनि मृत्युको डायरीहरू एकादेशका कथा बन्दै जान्छन् जब मसानघाटमा मान्छेको शरीर पोलिरहेको देख्न पाइन्छ ।
शरीर पोल्दै जाने क्रममा
एकजना सत्तरी वर्षको बुढा आफ्नो सिपाही छोरोको लाश पोलिदिन पैसाको बिटो निकाल्दै बस्छन् । भक्भकाउँदै पागल झैं खोक्न थाल्छन् । सोच्छन्– सरकारले मेरो छोरोलाइ शहिद त घोषित गर्यो, तर दियो चाहिँ के ?
गणतं्रन्त्र ल्यायो, आन्दोलन गर्यो, तर पैसाको लागि जोत्ने पनि साधारण जनता । मर्ने पनि सोझो बाख्रो, (अर्थात साधारण जनता) त्यही जनताको छोराहरूको रगत लिने अनि राज्य चलाउनेचाहिँ मोटा पेट भएका अनपढ नेताहरू ! उनीहरूलाई न युद्धको लागि मर्नु छ, न शहिद हुनको दुःख ! हाँसौ त मेरै उमेरको सरकार दरबारमा छन् म चाहिँ छोरो पोल्न मसानघाटमा ?’
दृश्य ।।२।।
आर्यघाटको अलिक पर अर्को शरीर थियो, मिडियाकर्मीको ओइरो थियो ।
ठूलो पर्दाको हिरोको मृत्यु भन्दै गुहार्दै थिए पत्रकारहरू । मिडियाको लर्को थियो । सबै न्युज च्यानलमा अनि युट्युबमा प्रशारणको लागि एक–एक भिड्दै थिए ।
आखिर सबैलाई अगाडि न्युज दिएर देशको सर्वोत्कृष्ट न्युज मिडिया र भ्युज कमाउनु थियो । पापी पेटको सवाल जो छ, उनीहरूमा पनि लागू हुने भइगयो । मिडियाका मान्छेले मृतकको रोइरहेकी आमा र दिदीबहिनीको फोटो निकाल्दै हाँस्दै, अन्तर्वार्ता लिँदै थिए ।
सायद, मानवताको देहान्त यसैलाई भनिँदो हो !
मिडियाको प्रश्नावली यसप्रकारको थियो– ‘किन आत्महत्या गर्यो ? के उहाँ पागल हुनुहुन्थ्यो र ?’
‘गर्लफ्रेन्डले धोका दिएको हो र ?’
‘पास्ट सम्बन्धबारे हल्का जनतालाई भन्दिनुस न ?’
नियाल्दै जादाँ क्यामेराले मरेको शरीरको एउटा पनि अंग छोडेन । त्यसै मिडियाकर्मीले कहाँ छोड्छन् र तेल–मसाला हालेर सित्तैंमा हाल्न मिल्ने एक घण्टाको ‘शो’ गर्नु थियो उनीहरूलाई ।
।।दुईभित्ता पर।।
फलानो लेखकको मृत्यु भयो– भलाकुसारी हुँदै थियो । न त उनी कुनै मिडियाका सेलिब्रिटी, न धनी मान्छे । एकाध किताबहरू बेचे होलान् तर किड्नी इन्फेक्सनको लागि पैसा नभएर एउटा कोटसमेत बेच्न भ्याएका लेखक । सम्पतिको नाममा घाटमा कात्रो छ । ‘बाँच्दा आफ्नो घडीसमेत भिखारीलाई दिएर आउने भलो मानस, उमेर नै राम्ररी नपाकिकन गएछन् !’ मानिसहरू खासखुस गर्दै थिए ।
कठै उसको जिन्दगी !
तर दर्जनौं लाशको पोलाई सँगसँगै अर्को चितामा चिल्लो गाडीबाट किसमिस र काजुमात्र खाएर जन्मेको खाइलाग्दो शरीर हेर्न पुग्छु । धनाढ्य परिवारको मानिसहरू एकअर्कामा झगडा गर्दै थिए ।
विद्रोह थियो छोरा र दाजुभाइ बीचमा । यो शरीरले त्यसको बदलामा त्यों घर आधि मलाइ दे, नत्र काजकिरिया गर्नै दिन्न भन्दै कराउँदै थिए । सबैजना यतैकै रमिता हेर्दै थिए । कोहि वकिललाई फोन गर्दै थिए, कोहि सान्त्वना दिँदै थिए । आखिर नरम छालामा मान्छेको खोक्रो आडम्बर देखेरै घीन लाग्न थाल्यो मलाई ।
झल्यास्स हुन्छु, आज खास के छ ? यो सबको पोलाईमा मेरो शरीरको पालो कहिले आउला ?
हो, म आत्मा हुँ ! मसित कुनै कथा छैन, म त चिया बेचेर कमाउने व्यक्ति जो हुँ । न मसित कुनै आठ हजारको नोट छ न त्यो तिरिदिने नातेदार छन् । म त अनाथ, मेरो शरीरको आज दागबत्ती हुन्छ कि हुदैन त्यो पनि थाहा छैन ।
आखिर मैले मेरो लाशको गन्तव्य यहाँ देखिनँ ।
पैसा छैन महोदय ! सायद म यहि बाटोमा मेरो छाला र हड्डी मकाएर, कुहाएर बस्न सक्छु । यसमा कुनै आपत्ति मान्दैन मेरो आत्मा ।
किनकि मलाई थाहा छ, म यो मसानघाटको एक्लो लाश बन्नेछु क्नै दिन !
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस