मौन, मात्र मौन, बिलकुल मौन
०००
एउटा राष्ट्र थियो, ग्लोबमा
मानचित्रमा एउटा सहर पनि थियो
एउटा देवल थियो, चोकमा
एउटा गिर्जाघर पनि थियो
एउटा मस्जिद पनि थियो
गीता थियो, बाइबल थियो, कुरान पनि थियो ।
विज्ञान थियो, संस्कृति थियो
त्यसमाथि एउटा लास थियो
लास, एउटी मृत आमाको थियो
त्यसमाथि चढेर एउटा जीवित दूधेबालक
मृत आमाका दूधका लाम्टाहरू चुस्दै थियो ।
इतिहास थियो, इतिहासको पुस्तक पनि थियो
तर यो स्पष्ट थिएन— ती आमाको मृत्यु किन भएको थियो ?
यो पनि स्पष्ट थिएन— कसरी ती आमाको मृत्यु भएको थियो ?
त्यो लास हेरेर दाबी यो गर्न सकिन्थ्यो कि
मृत्यु, एउटी आमाको थियो
मृत्यु, एउटा सृष्टिको थियो
मृत्यु, एउटा जीवनको थियो
इतिहासमा उल्लेख गरियोस् वा नगरियोस्
ती आमाको मृत्यु
कुनै अवैध पिताको बलात्कारद्वारा भएको थियो
कालगतिले भएको थिएन मृत्यु
अकालमा मरेकी थिइन् उनी
सृष्टिमाथि धावा बोल्ने हत्याराद्वारा
उनको हत्या गरिएको थियो
खबरमा यो कुरा प्रसारण गरियोस् वा नगरियोस् ।
एउटा देश थियो, देशको छातीमा एउटा बस्ती पनि थियो
एउटा घण्टाघर थियो, समय पनि थियो
त्यसभित्र एउटा लास थियो, लास एउटी आमाको थियो
एउटा छाती पनि थियो
छातीभित्र ममता थियो, स्नेह थियो
आस्था थियो, विश्वास थियो
मृत ममता, मृत स्नेह
मृत आस्था, मृत विश्वास
त्यस छातीमाथि चढेर एउटा जीवित दूधे बालक
मृत आमाका दूधका लाम्टाहरू चुस्दै थियो ।
अवश्य त्यहाँ सहर थियो, सभ्यता थिएन
मानिसहरू थिए, मानवता थिएन
आलिसान महलहरू थिए, आश्रय थिएन
गोदामघरहरू थिए, आहारा थिएन
अल्लाहको प्रतीक आयातुल्लाह पनि थियो
शान्तिको प्रतीक गौतम पनि थियो
अहिंसाको प्रतीक गान्धी पनि थियो
गीता थियो, बाइबल थियो, कुरानसमेत थियो
संस्कृति थियो, विज्ञान पनि थियो
नागरिकहरूमाथि घरी–घरी अतिक्रमणको साइरन बजाउने
लाज नभएको एउटा गतिछाडा राष्ट्र पनि थियो ।
भूगोल थियो, भूगोलभित्र एउटा मुलुक पनि थियो
मुलुकको छातीमा मृत आमाको एउटा लास थियो
त्यसमाथि एउटा टुहुरो बालक थियो
पाठशाला थियो, अदालत थियो, अनाथालय पनि थियो
मौन, मात्र मौन
बिलकुल मौन ।
०००
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस