कोरोना भाइरस : मानिसहरू अनुहार नछोईकन किन बस्न सक्दैनन् ?
मानवलाई अन्य जीवभन्दा भिन्न देखाउने गुणमा अनुहार छुने स्वभाव पनि हो। आफूले थाहै नपाई अनुहार छोइराख्ने स्वभाव भएको सम्भवतः हामी एकमात्र प्रजाति हौँ। त्यो स्वभावले कोरोना भाइरस (कोभिड-१९) जस्ता रोग फैलाउन सघाउँछ।
हामी किन यस्तो गर्छौँ र हामीले यस्तो स्वभाव कसरी हटाउन सकिन्छ ?
हाम्रो बानी कस्तो छ ?
हामीले बारम्बार आफ्नो अनुहार छोइराखेका हुन्छौँ। सन् २०१५ मा अस्ट्रेलियामा चिकित्साशास्त्रका विद्यार्थीहरूको स्वभावको अध्ययन गरियो। त्यति बेला उनीहरूमा समेत अनुहार छोइराख्ने बानी रहेको पाइयो।
चिकित्साशास्त्रका विद्यार्थीहरू जोखिमबारे अरूभन्दा बढी सचेत हुनुपर्ने हो। तर सहभागीहरूले एक घण्टामा कम्तीमा २३ पटकसम्म आफ्नो मुख, नाक वा आँखा छोएको पाइयो।
विज्ञहरूका अनुसार त्यसरी अनुहार छोइराख्ने बानी खतरनाक हुन सक्छ। कोभिड-१९ बाट जोगिन हामीले आफ्ना हातलाई विश्राम दिने, धेरै नचलाउने र धेरै सफा गरिरहने सुझाव दिइएको छ।
हामी किन बारम्बार अनुहार छुन्छौँ ?
मानव र वानर प्रजातिका केही सदस्यले हात नचलाई बस्नै नसक्ने गरेको पाइएको छ। हामी त्यसैगरी बनेका हुन सक्छौँ। केही प्रजातिले अनुहार राम्रो बनाउन वा कीरा धपाउन अनुहारमा हात लैजाने गर्छन्। मानव र केही वानरजातिले विभिन्न कारणले अनुहारमा हात लगिरहन्छन्।
यूसी बर्कलीका मनोविज्ञानका प्राध्यापक ड्याचर केल्ट्नरका विचारमा अनुहारलाई सहज बनाइराख्न हामीले हात प्रयोग गर्ने गरेका हुनसक्छौँ। तर अरू बेला हामीले थाहै नपाई अनुहार छोएर ‘जिस्किने वा सामाजिक नाटकको एक चरणबाट अर्को चरणमा प्रवेश गरिरहेका हुन्छौँ।’
अन्य विज्ञहरूले हामीले आफैँलाई छोएर आफ्ना संवेग र ध्यानलाई नियन्त्रणमा लिन खोज्ने गरेको निष्कर्ष निकालेका छन्। लाईप्सिग विश्वविद्यालय जर्मनीका मनोवैज्ञानिक एवं प्राध्यापक मार्टिन ग्रुन्वाल्ड भन्छन्, ‘यो हाम्रो प्रजातिको आधारभूत स्वभाव नै हो।’
‘आफैँलाई छुने स्वभाव कसैले कुनै सन्देश दिनको लागि बनाएको होइन, यो त प्रायः थाहै नपाई हुने गर्छ,’ ग्रुनवाल्डले भने।
‘यो स्वभावले हाम्रो सबै चेतनशील र संवेगात्मक प्रक्रियामा प्रमुख भूमिका खेल्छ। यो सबै मानिसमा हुने गर्छ।’ आफैँलाई छुने यस्तो स्वभावको एउटा समस्या के हो भने हाम्रा आँखा, नाक र मुखबाट खराब वस्तु वा कीटाणु सहजै हाम्रो शरीरभित्र पस्न सक्छ।
उदाहरणका लागि कोरोना भाइरस कुनै सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा ससाना बिन्दुको रूपमा नाक वा मुखबाट सहजै प्रवेश गर्न सक्छ।
भाइरस कति शक्तिाशाली हुन्छ ?
भाइरसको यही शक्ति र हाम्रो अनुहार छोइराख्ने बानीको मेल खतरनाक हुन सक्छ। सन् २०१२ मा अमेरिका र ब्रजिलका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कुनै मानिसहरूको एउटा समूहले सार्वजनिक स्थलका सतहहरूमा एक घण्टामा तीन पटकसम्म हातले छोएको पायो।
मानिसहरूको त्यो समूहले प्रतिघण्टा ३।६ पटकसम्म नाक वा मुख छुने गरेको पायो। त्यो अस्ट्रेलियाली विद्यार्थीहरूले घण्टामा २३ पटकसम्म अनुहार छोएकोभन्दा कम हो।
कक्षाकोठाभित्र भन्दा बाहिर अन्य कुराले ध्यान भङ्ग गरेको हुनाले बाहिर रहेका मानिसको अनुहार छुने क्रम कम भएको हुन सक्छ। मानिसहरूको यस्तै अनुहार छोइराख्ने स्वभावका कारण पनि केही विज्ञहरूले हातको छुवाइबाट बचाउन पनि नाक र मुख छोप्ने मास्क लगाउने सल्लाह दिइरहेका छन्।
हामी के गर्न सक्छौँ ?
हामीले हातले आफ्ना अनुहार छोइराख्ने दर कम गर्न के गर्न सक्छौँ होला ?
कोलम्बिया विश्वविद्यालयमा स्वभावबारे अनुसन्धान गरेका वैज्ञानिक माइकल हल्स्वर्थ भन्छन्ः सल्लाहसुझावलाई व्यवहारमा बदल्न निकै गाह्रो हुन्छ। ‘मानिसले थाहै नपाई गर्ने गरेको कामलाई रोक्नुहोला भन्नु आफैँमा एउटा समस्या हो,’ उनले भने।
‘अनुहार नछुनू भन्नुभन्दा पनि मानिसलाई हात धोइराख्नू भन्न सजिलो हुन्छ।’
समाधान के होला ?
हल्स्वर्थका विचारमा हामीले आफैँलाई छोइराख्ने कारण पत्ता लगाएर पनि समाधाननजिक पुग्न सकिन्छ। ‘हामीले छुनुपर्ने कारणहरू पत्ता लगाएर पनि त्यसको समाधान निकाल्न सक्छौँ,’ उनले भने। ‘आँखा छोइराख्नुपर्ने मानिसले घामचस्मा लगाउन सक्छन्।’ ‘अथवा हातमाथि नै बसिदिँदा हातले अनुहार छुने क्रम घट्ला।’
जोखिमबारे आफैँलाई सम्झाइरहने गर्नाले पनि स्वभाव बदल्न सहयोग पुग्न सक्छ।
‘यदि कसैमा कुनै स्वभाव डरलाग्दो छ भने साथी वा आफन्तलाई त्यसबारे आफूलाई चेतावनी दिइरहन सुझाव दिएमा पनि सहयोग पुग्न सक्छ,’ हल्स्वर्थले भने।
पन्जा लगाउँदा के होला ? बारम्बार नधुने वा नफेर्ने हो भने त्यो झनै फोहर र सङ्क्रामक हुन सक्छ।
सबैभन्दा राम्रो उपाय के हो ?
अरू जेसुकै गरे पनि हात धुने बानीले जति फाइदा अरू उपायबाट हुँदैन। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले फेब्रुअरी अन्तिम साता एउटा पत्रकार सम्मेलनमा भने, ‘हामीले खोप वा औषधिलाई कुरिरहनै पर्दैँन। हामीले यस्तै ससाना कदम चालेर आज आफूलाई बचाउन सक्छौँ।’ बीबीसी
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस