अविरल ओझेलका ३ कविता
१. डोरी
जुन डोरीमा झुन्डिएर
मैले उक्लिनै पर्ने थियोे
एउटा कहालीलाग्दो भीर
र पुग्नै पर्ने थियोे तिमीसम्म
अपशोच
त्यही डोरी तिमीले काटिदियौ
म भीरमुन्तिर लडेर
चुपचाप रोइरहें
तिमी भीरको थाप्लोमा उभिएर
अट्टहास हाँसिरह्यौ
तर डोरी काट्नुअघि
किन यत्ति सोचेनौ
कुनै दिन
तिमीले पनि त ओर्लिनै पर्नेछ
त्यही कहालीलाग्दो भीर
त्यही डोरीमा झुन्डिएर
अपशोच
त्यही डोरी तिमीले काटिदियौ ।
२. पहाड र जिन्दगीहरू
कुनै फूलजस्तै कलिला जिन्दगीहरू
कुनै मरिचजस्तै चाउरिएका जिन्दगीहरू
यस्तै यस्तै कैयन् जिन्दगीहरू
अजङ्गको पहाडले थिचिएर
निसासिरहेका छन् ।
त्यो पहाडको मांशपेशी छैन
त्यो पहाडको मुटु छैन
र, त्यो पहाडको मन पनि त छैन
त्यसैले त्यो पत्थरको पहाडले
दुख्न जानेकै छैन
मात्रै दुखाउन जानेको छ ।
जब तिनै प्रताडित जिन्दगीहरू
एकाएक जर्याकजुरुक उठ्नेछन्
तिनीहरूको शीरमाथि रहेको पहाड
तिनीहरूको डँडाल्नुमाथि रहेको पहाड
भुइँमा बज्रिनेछ
र धुजाधुजा हुनेछ
अन्ततः
तिनै जिन्दगीहरूका पाइतालामुनि पर्नेछ
त्यो पहाड ।
३. चरीमाया
यदि
कसैलाई साक्षत् देवीको
दर्शन गर्नुछ भने —
म उनलाई
अर्थात् चरीमायालाई देखाइदिन्छु
उनले निष्पट्ट अन्धकारमा
घाम र जूनको
आविष्कार गर्न जानेकी छिन्
र चम्किला ताराहरूको
माला बनाउन जानेकी छन् ।
‘संसारमै सबैभन्दा अग्लो कद कस्को ?’
कसैले सोध्यो भने—
गिनिज बुकले चोर औँलामार्फत्
जसलाई देखाए पनि
म एकसाथ दुवै हातले
उनलाई
अर्थात् चरीमायालाई देखाइदिन्छु
उनी सगरमाथाभन्दा पनि अग्ली छिन् ।
‘म भन्दा बहादुर कोही छ ?’
कोही विश्वविजेताले सोध्यो भने
म उनलाई—
अर्थात् चरीमायालाई नै देखाइदिन्छु
उनी यस्ती कर्मयोद्धा हुन्
जो आफैँ गोरेटो खन्छिन्
अरुलाई हिँडाउँछिन्
र आफैँले बनाएको आकाशमा
तमाम चरीहरूलाई सयर गराउँछिन् ।
कविज्यू !
कविता फुर्दै फुरेन भने
चरीमाया लेख्नुस्
उनी आफैँमा सुन्दर कविता हुन्
दार्शनिक महोदय !
चरीमायालाई पढ्नुस्
उनी दर्शनको निकै मोटो किताब हुन्
र पढाउनुस् सारा नानिहरूलाई चरीमाया
उनी सिङ्गो इतिहास हुन्
तर कृपया !
भाषण गर्नेहरूले
केवल भाषण गर्नेहरूले
भाषणमा चरीमाया नभन्दिनुस् है !
(काभ्रेपलाञ्चोकका कवि अविरल ओझेल थोरै तर ओजनदार कविता लेख्ने कवि हुन् । उनको ‘ओझेलमा एउटा बस्ती’ गजलसंग्रह प्रकाशित छ । प्रेम, जीवन र मानवीय मूल्यमाथि केन्द्रीत उनका कविता हृदयस्पर्शी हुन्छ ।)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस