स्वर्गीय गोपाल योञ्जनलाई गीतकारको रुपमा हेर्दा
“हिमालसरि म अग्लीरहेछु
समात समात समात मलाई
बादल सरि म पग्लीरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई”
‘कान्छी’ फिल्मको उपरोक्त गीतको भाका र यसभित्रको मेलोडीलाई एकक्षण भुलौं र शब्दहरूलाई मात्र हेरौं। लाईनहरू उसै-उसै सङ्गीतमय लाग्छ। यो पक्कै कुनै न कुनै लयको फ्रेममा ट्याप्पै बाँधिएको रहेछ भन्ने हामीलाई अनुभूत हुन्छ। यहाँ यति सानो पंक्तिबाटै एकातिर गोपाल योञ्जन एक उत्कृष्ट गीतकार थिए भन्ने कुरा प्रमाणित हुन्छ भने अर्कोतिर गीत र कवितामा पार्थक्य हुँदा हुँदै दुईबीच निकट साईनो हुन्छ भन्ने कुराको बोध पनि हुन्छ।
“विपना नभई बाँचिदिने म भित्रका मेरा सपना
म मरे पनि रही दिने, मेरा प्यारा प्यारा सपना”
उन्नाइस वर्षकै उमेरमा “आकाश जस्ता अमर गीत मेरा, म जस्तो दुई दिनको पाहुना होईन” भन्दै भग्रल्तै सशक्त आकाश जस्ता अमर गीतहरू सृजना गरि नेपाली सङ्गीत जगतलाई झलमल्ल पार्दा-पार्दै उनले सन् १९९७ को २० मईको दिन यस लोकदेखि बिदा लिनु परेको थियो। “जीवनदेखि धेरै धेरै नै थाकेर, म मुर्दा भएको तिमी आज हेर” बोलको गीतको सङ्गीतकार गोपाल योञ्जनको निधन भएको पनि आज २३ वर्ष नाघिसकेछ। यद्यपि, उनीद्वारा रचिएका वा सङ्गीतवद्ध गरिएका असंख्य गीतहरूमा उनका “प्यारा प्यारा सपना” हरु जीवन्त छन्—अजम्बरी फूल जस्तै। यस्तो लाग्छ कि असमयमा यस लोकलाई छाडेर जानुपरे तापनि उनका सपनाहरू लेक, बेंसी, हिमाल, भञ्याङ्ग, चाँप, गुराँश, नेगबेली र चियाबारीहरूमा मगमग सुगन्ध छर्दै जीवन्त छन्।
नेपाली सङ्गीत क्षेत्रमा गोपाल योञ्जनको योगदान एक छुट्टै अध्याय हो। उनको योगदानको सही मूल्याङ्कन गर्न सकेनौं भने, उनको योगदानबारे टीपन-टापन कुरा मात्र गरेर नेपाली गायन र सङ्गीतको लेखाजोखा गर्ने जमर्को गऱ्यौं भने त्यो ठूलो अन्याय हुन जानेछ। सोझै भन्नपर्दा, गोपाल योञ्जनको प्रसङ्गबिना नेपाली सङ्गीतको चर्चा हुनै सक्दैन।
किन गोपाल योञ्जनको गीत-सङ्गीत र रचनाहरू यति कर्णप्रिय लाग्छ? यहाँ यही यावत् प्रश्नको उत्तर प्रष्ट पार्ने सानो जमर्को गरिन्छ।
इतिहासदेखि प्रसङ्ग तानौं। प्रथम गायक र गायिका सेतुराम र मलवादेवीदेखि मित्रसेन, रत्नदास हुँदै यात्रा तानिएर आएको नेपाली गीत सङ्गीतको फाँटमा आज पर्यन्त कैयौं सङ्गीतकार, गायक-गायिका र शब्दकारहरू देखा परिसकेका छन्। सबैको योगदान आ-आफ्नो ठाउँमा छँदैछ। सबैको योगदानले केही न केही दिएकै छ तर सबैलाई उत्कृष्टताको ट्याग लगाइदिन भने सकिँदैन। कति गीतहरू आए, हिसाबै छैन। कति गीतहरू यसै विस्मृतिको गर्भमा पनि पुरिए। यसरी विस्मृतिको गर्भभित्र पुरिएका गीतहरूसित आजका नयाँ पिढीले सरोकार राखेको पनि देखिन्न। यसो हुँदा-हुँदै पनि कलाकारहरूका यही भीडभित्र गोपाल योञ्जन त्यस्ता गायक, सङ्गीतकार र गीतकार हुन्, जसलाई प्रत्येक पिढीका सङ्गीत प्रेमीहरूले जान्न खोज्नेछन्, बुझ्न खोज्नेछन्। प्रत्येक पिढीका सङ्गीत मर्मज्ञहरूले उनको गीत-सङ्गीतबाट नयाँ-नयाँ रस पाइरहने छन्। आजका प्रत्येक नयाँ कलाकारहरूले उनको गायन, सङ्गीत र शब्दबाट उत्प्रेरणा र मार्गदर्शन पाइरहने छन्।
गोपाल योञ्जनलाई प्रसिद्धिको शिखरमा पुऱ्याउनुमा उनीभित्रका विशेषताहरूलाई नै श्रेय दिनपर्छ। उनी सङ्गीतकार मात्र थिएनन्, एक बेजोड गीतकार पनि भएकाले नेपाली सङ्गीत क्षेत्रमा उनको धरातल कसैले हल्लाउन नसक्ने दह्रिलो बन्न सकेको हो। गायन, सङ्गीत र शब्द रचना जस्ता तीनै गुणहरूका समिश्रण थिए उनी। उत्कृष्ट गायन क्षमता र उत्कृष्ट सङ्गीत सृजना क्षमता भएका प्रतिभाहरू त थुप्रै भेटिन्छन् तर सफल गायक र सङ्गीतकारको साथ-साथ सफल गीतकार पनि बन्न सक्नु भनेको सबैको बुताले भ्याउने कुरा भने होईन।
यसो त नेपाली गीत-सङ्गीतको क्षेत्रमा आफै गीत गाउने, आफै सङ्गीत भर्ने र गाउनु पर्ने गीत आफैले लेख्ने अभ्यास र जमर्को धेरैले नगरेका होईनन् तर प्रथम दुई विधामा सफलता प्राप्त गरे तापनि तेस्रो विधा अर्थात गीतकारको रुपमा सफल हुनु चाहिँ सबैलाई भाग्यले दिएको छैन। यसको एउटा करण छ, त्यो हो गीत रचनामा गुण स्तरीयता देखाउन सक्नु र नसक्नुको प्रश्न। सोझै भन्नु हो भने शब्द रचनामा दम नहुनु। तीनै विधामा पोख्त हुन खोज्ने उत्कण्ठा राख्दैमा सफलता प्राप्त हुन नसकेको तितो सत्यता हाम्रो सामु उदाङ्गो छँदैछ। स्वर राम्रो छ र सङ्गीतको पनि असल ज्ञान छ भने गायकहरूले आफूले गाउनु पर्ने गीतमा आफै सङ्गीत भर्न सक्छन् तर गीत रचनाको प्रसङ्गमा भने यस्तो दुस्साहस गर्दा धेरैजसो पछुतो गर्नुपर्ने स्थितिमा पुगेको पनि देखिएको छ। आफुमा गीतकारको लक्षण नहुँदा-नहुँदै पनि शब्दकारको पगरी पनि आफै गुथुँ भन्ने लोभले गीत रचना गर्न अघि सर्नु भनेको चित्रकला नजान्नेले रङ्ग र कुची समातेर क्यान्भासमा कोर्नु बराबर हो। कुनै पनि गीत हीट् हुनलाई गायक-गायिकाको स्वर, गीतमा भरिएको सङ्गीत पक्ष र शब्द रचना पक्ष जस्ता तीनै कुराको गुणस्तरीयता हुनपर्छ। असल रचनाकार हुनु भनेको बेग्लै विशेषता हो। कुनै गीतको मूल्याङ्कन गर्दा गाउनेको स्वर, गीतलाई सजाइएको सङ्गीत र गीतको शब्द रचना जस्ता तीनै कुराको मूल्याङ्कन गरिन्छ। गोपाल योञ्जन एक सफल र उत्कृष्ट गीत रचनाकार पनि भएकाले यही परम्परालाई समाउँदै कतिपय गायक-गायिका र सङ्गीतकाहरूले गीतको रचना पनि आफैले गर्ने मनोकामना राखेर साहस जुटाएका छन् तर हिमाल चढ्न साहसले मात्र हुँदैन। उनीहरूका गीतका शब्दहरू कोरा कल्पना र माया पिरथीका उत्मादिय अभिव्यक्ति र निरर्थक अभिव्यञ्जना मात्र बन्न पुगेका छन्। नारायण गोपालले पनि यसरी नै आफूले गाउनपर्ने गीत आफैले लेख्दै गाएका भए उनी जुन चुलीमा पुगे त्यो उनको लागि अर्को जन्ममा पनि सम्भव हुने थिएन। राम्रो स्वर भएको गायक-गायिकाले आफैले कुनीकुथी गीत लेख्दै त्यसमा लय भर्नुभन्दा बरु अन्य कुनै असल गीतकारको रचना मागेर त्यसलाई आफ्नो स्वर र सङ्गीतले सजाएर जनमानसमाझ ल्याए त्यो चर्चित हुन सक्छ भन्ने शिक्षा त नारायण गोपालबाटै लिनपर्ने, जसले सँधै असल गीतकारका गीतहरू मात्र गाउनु भयो।
प्रसिद्ध गीतकार डा. जस योञ्जन ‘प्यासी’ लेख्छन्- “रहरले मात्र गीतकार हुन सकिन्न। कसैको गीतको सिको गरी कनी कनी शब्दहरू जोडेर सङ्गीतमा सजाउँदैमा गीत बन्दैन”। उनी अझ लेख्छन् “दुई चार गेडा टिपेर माया-पिरतीका अल्लारे भावलाई पोखाउँदैमा शब्दकार बन्नु अर्को कुरा हो तर साँचो गीतकार बन्नुलाई त भाव, संवेदना, अनुभूति-चेतना, सतत् साधना पनि चाहिन्छ” (भारतीय नेपाली गीतकारहरू पारिचायिक चर्चा)।
हल्का शब्दहरू थुपारेर त्यसमा लय भर्दैमा बेजोड गीत बन्न सक्ने भए नेपालको राष्ट्रीय गीत किन १,२७२ रचनाकारहरूका रचनाबाट चुन्नपर्ने समस्या पर्थ्यो ? कुन रचनाकारको गीत रचनाभित्र अपेक्षित भावलाई उत्कृष्ट ढङ्गले सुललित शब्दहरूमा व्यक्त गर्न खोजिएको छ, त्यही नै हेरिन्छ। गीतकारहरूले प्रयोग गरेका शब्दहरू पनि लयमा प्रवाहित हुन सक्ने मिठास हुनपर्छ। जुनसुकै शब्दहरू लयमा प्रवाहित हुन सक्दैनन्। गीत रचना गर्दा एकातिर क्लिष्ट शब्दको प्रयोग हुनु हुँदैन, यसो भन्दैमा घरमा बोलिने व्यवहारिक शब्दहरूको पनि प्रयोग हुनु हुँदैन। बीचको मार्ग अवलम्बन गर्दै मिठास शब्दहरूका चयन गरिएको हुनपर्छ भन्ने कुरा त क्षमताशील शब्दकारहरूलाई मात्र थाहा हुन्छ। यहाँ गोपाल योञ्जनकै गीतको एक पंक्तिलाई हेरौ-
“जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक”
यदि कुनै व्यक्तिले यो गीतको भाका कस्तो छ त्यो कहिल्लै सुनेको छैन भने पनि यी दुई लाईन शब्दहरू मात्र देख्दा पनि यो त कविता नभएर कुनै असल गीतकारले कोरेका गीत नै होला भन्ने उसलाई आभास भइहाल्छ। कारण यी दुई लाईनहरूमा रचनाकारले आफ्नो अभिव्यक्ति पोखाउन मात्र खोजेका छैनन् तर लयमा बग्नसक्ने शब्दहरू चयन गरेर सजाएका छन्, त्यो पनि अलङ्कार, उपमा, अभिव्यञ्जना र अनुप्रासलाई ध्यानमा राखि। यसैबाट थाहा लाग्छ कि असल शब्दकार सजितै बन्न सकिँदैन, उभित्र साहित्यको ज्ञान पनि हुनपर्छ साथै लय अर्थात कुनै निश्चित भाकाको प्रवाहभित्र बग्न सक्नेगरि शब्दहरू चयन गरि गीतको रुप दिनसक्ने क्षमता पनि हुनपर्छ। भाका हाल्नभन्दा पहिले नै शब्द र लाईनहरू गीत नै जस्तो लागोस्। कविता जस्तो नलागोस्। एउटा गीत गहकिलो बन्नु हो भने त्यसमा गायक/गायिकाको स्वर राम्रो मात्र भएर हुँदैन। राम्रो स्वर भएकोले गाउँदैमा त्यो गीत चर्चित हुन सक्दैन। यसैले कतिपय गीतहरू राम्रो स्वर हुनेहरूले गाएका देख्छौं तर चर्चित बन्न सक्दैन। किनभने कि त गीतको सङ्गीत पक्ष कि त शब्द रचनाको फितलोपनले गर्दा यस्ता गीतहरू जन्मेर पनि जन-समाजभित्र जन्म सक्दैनन्। नेपाली गीत सङ्गीतको क्षेत्रमा मात्र होईन हिन्दी गीतहरूको क्षेत्रमा पनि गीतको शब्द रचनामाथि बढि जोड दिइएको देखिन्छ। हिन्दी फिल्मका प्रसिद्ध सङ्गीतकार ओ.पी. नय्यर शब्दलाई गीतको आत्मा र सङ्गीतलाई शरीर र स्वरलाई लिवास ठान्थे।
यस सन्दर्भमा कुरा गर्दा अगमसिहँ गिरीद्वारा रचित र अम्बर गुरुङ्गको स्वर र सङ्गीतमा ६० कै दशकमा ग्रामाफोन रेकर्डमा निस्केको गीत “नौलाख तारा उदाए” लाई पनि लिन सकिन्छ। गीतको शब्दहरू हेरौं-
“नौ लाख तर उदाए, धरती र आकाश हाँसेछ।
शरद लाग्यो बनैमा, फुलले प्रीति गाँसेछ।
नजली यहाँ झिलिली, मनको तारा निभेछ।
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ”
यस गीतमा गिरीले उत्कृष्ट ढङ्गमा सरल शब्दहरूले काव्यात्मक अभिव्यञ्जनालाई लयात्मक रुप दिएका छन्। गीतको शब्द संरचना उसै उसै लयात्मक देखिन्छन्। सफल गीतकारको विशेषता यसरी परिपुष्टि हुन्छ।
गीत र कविता बीच त्यति टाडाको साइनो छैन र नै गीतकारमा कविता रच्नसक्ने क्षमता हुनपर्छ। एउटा कविता नै गीत बन्न पनि सक्दैन। गीत तयार पार्न बसेपछि रचनाकारमा लयचेतना हुनैपर्छ। यही लयचेतना , श्रुतिमधुरता, बिम्ब र अनुप्रास प्रयोगले असल गीतको सजना हुन्छ। गीतकार हरिभक्त कटुवालको गीतलाई फेरि हेरौं—
कति कति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखा
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ।
सीधा बुझिने यी पङ्तिहरूमा फरक फरक अर्थ बोध गर्न सकिन्छ। श्रोताले पनि विषयलाई आ-आफ्नै सीमामा राखेर आफ्नै पाराले बुझ्छन्। भावको विचरणमा श्रोतालाई खेल्न दिनसक्नु नै असल गीतको विशेषता हो।
लय चेतना रहेकै कारणले होला हरिभक्त कटुवालका धेरैजसो कविताहरू पनि गीत जस्तै लाग्छ। कटुवाल गीतमा कवि भएर अनि कवितामा गीतकार भएर केही भनिरहेका हुन्छन्।
एक कविले नै गीतलाई उत्तम ढंगले न्याय दिन सक्छन् भन्ने कुराको उदाहरण हामी हिन्दी गीत सङ्गीत जगतबाट पनि लिन सक्छौं। हिन्दी तथा उर्दूका प्रख्यात कवि तथा शायर जावेद अख्तरको कुरा गरौं। उनी हिन्दी सिनेमाको अति चर्चित गीतकार बन्न पुगे। तर जावेद अख्तर त्यसअघि सलिम खानसँग मिलेर ‘सलिम-जावेद’ नाममा चलचित्रको संवाद लेख्ने काम गर्थे। ‘शोले’, ‘दिवार’ जस्ता फिल्महरूको पटकथा-संवाद लेखेर उनी यसै विधामा चर्चित भैसकेका थिए। सन् १९८१ मा ‘सिलसिला’ फिल्मको निर्माणको क्रममा निर्देशक यश चोपडासँग गायिका लता मंगेशकरले फिल्मको गीतकारको रुपमा जावेद अख्तरको नाम अघि सारेकी रहेछीन्। उनी राम्रा कवि हुन्, उनका कविता मैंले पढेकी छु र उनलाई गीत लेख्न लगाइयो भने नयाँपन आउँन सक्छ भनि सुझाउ राखेकी रहेछीन्।
लताकै अनुरोधमा चोपडाले ‘सिलसिला’-को गीत जावेदलाई लेख्न लगाए। यता जावेदले पनि हिन्दी सिनेमामा प्रयोग गरिने परम्परागत गीत भन्दा पृथक मात्र होईन तर गीतसँगै कविता पनि जोडेर तयार पारिदिए। लताले गाएकी ‘ये कहाँ आ गये हम, यूं ही साथ साथ चलते’ गीतको स्थाई अंश नै अमिताभ बच्चनको कविता वाचनबाट सुरु हुन्छ, ‘मैं और मेरी तनहाई अक्सर ये बातें करतें हैं’ । गंगा र यमुनाको मिलन जस्तो गीत र कविताको मिश्रण यो अति नौलो शैली थियो। सबैले मन पराए यो शैलीलाई। खुबै चर्चित भयो यो गीत। आज पनि संगीत प्रेमीहरू खुबै चाख मानेर यो गीत सुन्छन्। यहींबाट जावेद अख्तर एक सशक्त गीतकारको रुपमा स्थापित हुन पुगे। त्यसपछि उनले गीत लेखनको क्षेत्रमा अघि बढदै जाँदा अति उत्कृष्ट शब्दरचनाहरूले हिन्दी गीतको क्षेत्रलाई ढकमक्क पारेका छन्। एक कविको शीप गीतकारको रुपमा यस्तो हुन्छ।
यसैले कविता र गीतमा धेरै सामञ्जस्यता भए तापनि यी दुईमा धेरै भिन्नता पनि छ। यसो त कवि र गीतकार दुवैले सुक्ष्म भाव अभिव्यञ्जनालाई अलङ्कार, मुर्छना, लालित्य, उपमा, बिम्ब, प्रतीक आदिले सजाएर एक निश्चित बाटो दिन खोजेका हुन्छन्, तर कवितालाई शब्द प्रयोगमा धेरै छुट छ, गीतलाई छैन। कवितामा दुर्वोध्य शब्दहरू हुन सक्छन्, क्लिष्टता हुन सक्छ, कुनै फ्रेमभित्र बाँधिनु पर्छ भन्ने पनि छैन तर गीतमा शब्द नै त्यस्ता चयन गर्नुपर्छ, जसलाई लयले सहज रुपमा चपाउन सकोस्। यति मात्र नभएर गीतका लाईनहरू एक निश्चित फ्रेमभित्र सजिलोसित अँटाउन सक्नु पर्छ। एक कवि हुनलाई गीतकार बन्नु पर्दैन तर गीतकार बन्नलाई उसको मन, मस्तिष्क कविको हुनपर्छ अनि मात्र उत्कृष्ट गीत जन्मिनु सक्छ। रहरमात्र गर्नेहरू यहीँ नै असफल हुन्छन्।
कसैले राम्रो स्वरमा गाउँदैमा वा राम्रो सङ्गीत भर्दैमा असल गीत बन्न सक्दैन। फलाना गीत “यूटूब”-मा यति लाख श्रोताले सुने र उति लाख श्रोताले सुने भनेर आजको सामाजिक सञ्जालको जमानामा कतिले ठोकुवा गर्छन्, यो कुराले असल गीतको मूल्याङ्कन हुँदैन। यो त भर्च्यूअल श्रोताको संख्यात्मक मूल्याङ्कन मात्र हो। सबैभन्दा पहिले त लिरिक हेरेर गीतको लेखाजोखा गरिन्छ। वि.क्र. सं. २०४० सालमा नै सुप्रसिद्ध गीतकार रत्न शमशेर थापा (अहिले स्वर्गीय)-ले त्यसैबेला कुनै कार्यक्रममा गीतको परिभाषा दिंदै बोल्नु भएको भाषण ‘गरिमा’ पत्रिकाले छापेको रहेछ। त्यसमा गीतकार थापाले यसो भनेका रहेछन्- “म त भन्छु अहिलेका आधुनिक कविता लेख्नु भन्दा गीत लेख्नु साह्रै गाह्रो काम हो । थोरै शब्द र पङ्क्तिमा धेरै कुरा दिन सक्नु नै गीतको विशेषता हो, खुबी हो । के विषयमा मैले गीत लेखिरहेको छु नठम्याई गीत लेख्दा त्यो बहकिएर सही सन्देश प्रवाह नगर्न सक्छ । सीमित शब्दमा सम्पूर्ण भावार्थ दिनु पर्ने हुँदा गीत लेखन कठिन कार्य हो भने कवितालाई चाहिँ जति लम्ब्याएर पनि भाव स्पष्ट पार्न सकिन्छ”। उनी अझ भन्छन्- ‘‘सबैभन्दा पहिलो श्रोता तथा दर्शकलाई हान्ने भनेकै गीतले हो । त्यसपछि सङ्गीतले, अनि मात्र स्वरले। यी तीनवटैको राम्रो सम्मिश्रण र संयोजन मिलेपछि मात्र एउटा गीत सुन्दर बन्छ र त्यही हिट हुन्छ भन्ने मेरो मान्यता छ ।’’ कुनै अन्तरवार्तामा उनले यसो पनि भनेका छन्, “कविताको एउटा अंग भए पनि गीतको आफ्नै गन्ध हुन्छ, आफ्नै छन्द हुन्छ। यसैले म गीतलाई साहित्य र संस्कृतिको दोभान भन्छु”। उनको यो भनाइबाट पनि स्पष्ट हुन्छ, गीत र कवितामा निकटता पनि छ साथै भिन्नता पनि छ।
गीतमा शब्द रचनाको स्तरीयतामाथि जोड़ दिँदै नविन पौड्याल लेख्छन्- “गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। गीतमा विरह भाव सबैभन्दा प्रभावकारी मानिन्छ। मान्छेभित्रको पीर वेदना, पीडा, संवेदनालाई गीतले सबैभन्दा बढी अभिव्यक्ति दिन सक्छ”।
केही राम्रा-राम्रा गीतकारहरूलाई हेरौं, उत्कृष्ट कवि पनि भएका हुनाले उनीहरुले असल गीतको सृजना गर्न सकेका छन्। अगमसिहँ गिरी, ईश्वर वल्लभ, वैरागी काइँला, किरण खरेल, यादव खरेल, कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, राजेन्द्र थापा, माधव प्रसाद घिमिरे, हरिभक्त कटुवाल, राममान तृषित, विश्वम्भर प्याकुऱ्याल, नोर्देन रुम्बा, जस योञ्जन ‘प्यासी’, दिनेश अधिकारी, क्षेत्र प्रताप अधिकारी, नगेन्द्र थापा, रमन घिमिरे आदि मूलतः कवि हुन् अनि कवि हृदय लिएर उनीहरूले गीत लेखे।
यही परिप्रेक्ष्यमा हामी गोपाल योञ्जनलाई हेरौं। उनी रहरले मात्र गीतकार बन्ने मान्छे होईनन्। गोपाल योञ्जनको सङ्गीत यात्रालाई राम्ररी नियालेर हेऱ्यौं भने अम्बर गुरुङ्गको चेला हुँदा नै उनमा गायकीको साथ-साथ शब्दकार र सङ्गीतकारको प्रतिभा पनि उत्तिकै निखारिँदै गएको थियो तर उनले आफ्नो त्यो प्रतिभालाई लुकाएर राखेका थिए। गुरु नै अम्बर गुरूङ्ग जस्तो उच्च कोटीको प्रतिभा भएकोले उनको सामु आफूलाई सङ्गीतको एक विद्यार्थीको रुपमा मात्र सिमित राखेका थिए। गोपालकै स्कुले जीवनदेखि काठमाडौंसम्मकै साथी पिटर जे कार्थक भन्छन् ‘अम्बर गुरुङको चेलो हुञ्जेल उसले रचना र संगीतकारको प्रतिभा लुकाएर राखेको रहेछ”।
गोपाल योञ्जनका प्रत्येक गीतलाई हेर्दा, त्यसभित्र प्रयोग भएका उपमा, अलङ्कार, बिम्ब र अभिव्यञ्जनालाई हेर्दा, उनी पक्कै कवि हृदयको मान्छे हुन् भनेर सत् प्रतिशत ठोकेर भन्न सकिन्छ। आफूमा काव्य, गीत रचना र सङ्गीत तीनै थोकको क्षमता रहेकाले नै उनले गीतलाई न्याय दिन सकेका छन्। गोपाल योञ्जन गीत रचना र सङ्गीत तीनै विधाको समिश्रण भएकाले नै नेपाली सङ्गीतको क्षेत्रमा उनी यति प्रख्यात र लोकप्रिय बन्न सकेका हुन्। गीतको भाव र शब्दहरू अनुरुप उत्कृष्ट सङ्गीत भर्न सक्ने अब्बल दक्षताले हुनपर्छ, उनी स्वयंले गाएका गीत होस् वा उनको सङ्गीतमा अरु कसैले गाएको गीत होस्, जतिनै पटक सुन्दा पनि उत्तिकै कर्णप्रित लाग्छ। उनले रचेका गीतहरूका एक-एक शब्द र भावपक्षले श्रोतालाई कता कता भित्रसम्म फन्को मार्न वाध्य तुल्याइरहेको हुन्छ।
गीतकारमा सङ्गीतको केही ज्ञान छ भने मात्र उत्कृष्ट गीत बन्न सक्छ। गोपाल योञ्जन त स्वयम् असल सङ्गीतकार र गायक भएकाले गीत लेख्दा उनी शब्द, ताल, सूर, राग आदिलाई ध्यानमा राखि लेख्थे भनि गीतकार नगेन्द्र थापा र गोपाल योञ्जनबीच चल्ने पत्र व्यवहारको प्रसङ्ग निकाल्दै किरण भण्डारी लेख्झन्।
देशभक्तिका गीतहरूमा पनि उनले अभिव्यञ्जनालाई कति सुन्दर ढंगले सजाएका छन्। ‘देशले रगत मागे’ बोलको देशभक्ति गीतभित्र एक नमुना हेरौं-
“हामी वीर बनेर मर्छौं गोली त उ सहन्छे
माग्दिनन् सुनको अक्षर उ नेपालीकी छोरी”
उपरोक्त गीतमा देशभक्तिको साथ-साथ जातियताको भावना अति नै उत्कृष्ट ढंगले मुखरित भएको छ। गीतमा एकातिर देश रक्षाको लागि आफ्नो प्राणको आहुती दिने वीर नेपालीको वीरताको प्रतिबिम्ब छ भने अर्कोतिर सोही वीर सिपाहीको आमाको त्याग र वलिदानलाई पनि स्पष्ट देखाइएको छ। घरमा बुढी आमालाई बुढेसकालमा छोरोले देखभाल गर्नुपर्ने हो तर छोरो भने सेनामा छ, देशरक्षाको लागि सिमानामा शत्रुसित लडिरहेको छ। उसले घरमै रहेर निरन्तर आमालाई साहारा दिन पाउँदैन। यस्तो अवस्थामा आमालाई छोरोप्रति गुनाँसो हुनपर्ने तर आमालाई गर्व छ, छोरो देशको लागि लडिरहेछ भनि। तर अचानक युद्धमा छोरोलाई गोली लाग्छ। यो खबर सुनेपछि आमा कति मर्माहत् हुन्छिन्, त्यो पीर र व्यथालाई गीतकार गोपाल योञ्जनले यसरी व्यक्त गरेका छन्- “हामी वीर बनेर मर्छौं गोली त उ सहन्छे”। हेर्नुहोस्, कति सुन्दर अभिव्यक्ति छ यो एकै लाईनमा। ‘सुनको अक्षर’ लाई गीतमा बिम्बको रुपमा राखिएको छ। भाव अभिव्यञ्जनामा लुकेको सौन्दर्यता नै गीतकार गोपाल योञ्जनको विशेषता हो।
यसरी आफ्नो गायन र सङ्गीतले श्रोताको हृदयलाई नै छुन सक्नु र शब्द र भावले पनि झ्वाम्मै प्रभावित पार्न सक्नु जस्ता गुण संसारमा विरलै मानिसहरूलाई मात्र प्राप्त हुन्छ। यति गहन र ओजपूर्ण गीतहरू दिएर नेपाली सङ्गीत क्षेत्रलाई माथि उठाउनुमा उनले जुन योगदान पुऱ्याएका छन्, त्यसको तुलना कसैसित गर्न मिल्दैन। कसैले न उनको सङ्गीतलाई उछिन्न सकेका छन् न त उनको शब्द रचना र गायनको स्तरीयतालाई पछि पार्न सकेका छन्।
गोपाल योञ्जन पूर्णरुपमा एक कवि थिए। यसैले जिन्दगीका विभिन्न पक्षहरू र समाजभित्रका विसङ्गतिहरूलाई कविताभन्दा पनि बढि गीतमा सजाएर उनले व्यक्त गरे। सेनामा भर्ना भएर गएको एक लाहुरेको वाध्यता, भोगाई र जिन्दगीलाई उनले कति गहनता, मार्मिक र लयात्मक रुपमा सजाएका छन् त्यसको एक नमुना हेरौं—
“घर त मेरो हिमाली पाखा बेंसी हो रे
कुन दिनको संयोगले बने लाहुरे
शूरो बनी हेरें मैंले जङ्गार तरें सागर तरें
साथी भाईको माया खातिर कतिचोटी मरें मरें
जब सुने मलाई मेरै गाउँले नै बिर्से अरे
त्यही दिन साथी म त आत्मैबाट मरें मरें।
कतै म त पर्साएर राखिएको बोको बनें
परदेश र मधेशमा नाम्लो अनि डोको बनें
कतै मान्छे तर्साउने दोबाटोको लाखे बनें
आखिरमा घर फिर्दा घरैभित्र पाखे बनें”।
‘भारतीय नेपाली गीतकार पारिचायिक चर्चा’ मा डा. जस योन्जन ‘प्यासी’ लेख्छन्- “गोपालको सङ्गीत शिल्पलाई अलग राखेर उनका गीत रचनालाई मात्र लिएर केही भन्नु हो भने उनी शब्दका कारीगढ हुन् भन्न सकिन्छ। गोपाल योञ्जनले नेपाली गीतको उचाईमा अरु उच्चता थपिदिए”।
नेपाली काव्यको क्षेत्रमा देवकोटा आशुकवि थिए भने गीत रचनाको क्षेत्रमा गोपाल योञ्जनमा यस्तो विशेषता थियो। क्षणभरमा उनी एउटा राम्रो गीतको रचना गर्न सक्थे।
गोपाल योञ्जनको विशेषता भनेको एक धुरन्धर गायक, सङ्गीतकार र रचनाकारको रुपमा मात्र उदात्त छैन। कैयौं अन्य विशेषताहरू पनि छन्, जसको श्रेय गोपाल योञ्जनलाई दिनपर्छ।
जुन बेला गोपाल योञ्जन सङ्गीत क्षेत्रमा संघर्षरत् अवस्थामा थिए, त्यसबेला नेपाली सङ्गीत हिन्दुस्तानी सङ्गीतको प्रभावबाट मुक्त हुन नसकिरहेको अवस्था थियो। यस्तो अवस्थामा गोपाल योञ्जन नेपाली सङ्गीतमा नेपालीपन ल्याउने प्रचेष्टामा लागे, परिमार्जन ल्याउने कार्यमा जुटे।
अम्बर गुरुङ्ग र गोपाल योञ्जनकै प्रवेशदेखि नेपाली सङ्गीतमा राम्रा-राम्रा मेलोडी मात्र होईन तर मेलोडीसितै काउण्टर मेलोडीको परम्पराको थाल्नी पनि भएको बताइन्छ।
नेपालमा सिनेमाको गीत रेकर्ड गर्न बम्बई जाने परम्परा गोपाल योञ्जनले नै तोडेका रहेछन्। नेपालमै सिनेमाको गीत रेकर्ड गर्न सकिन्छ भनेर गोपालले नै गरेर देखाइदिएका हुन् भनि गातकार एवम् निर्देशक नीर शाहले एक ठाउँ प्रशंसा गरेका छन्।
गोपाल योञ्जनकै कारण नगेन्द्र थापा जस्ता असल गीतकार हामीले पायौं। थापा स्वयम् भन्छन्- “मलाई गीत दार्जीलिङ्गको परिवेश र गोपाल योञ्जनको मित्रताले लेखाएको हो। त्यो तहमा मलाई पुऱ्याउने गोपाल नै हो”।
नेपाली जगतलाई गोपाल योञ्जनले सङ्गीत सम्बन्धी दुई पुस्तकहरू ‘सङ्गीताञ्जली’ र ‘गीतमञ्जरी’ दिए। आज अप्राप्य यस्ता पुस्तकहरूको पुनः संस्करण छपाएर सबैलाई पढ्ने अवसर दिनेतर्फ कसैको ध्यान गएको देखिँदैन, जुन एक दुःखको कुरा हो।
नेपाली सङ्गीत क्षेत्रमा गोपाल योञ्जनको योगदानको कदर गर्दै “शुभारम्भ द म्युजिकल जर्नी”-ले बितेका दुई वर्षदेखि गोपाल योञ्जनको नाममा पुरस्कार स्थापना गरेर एक सराहनीय कार्य गरेको छ। यो पुरस्कारले पहिलो वर्ष दार्जीलिङ्गका लोकप्रिय र चर्चित र वरिष्ठ गायक दुर्गा खरेललाई सम्मानित गरियो भने गत वर्ष नेपालका सुमधुर स्वरका धनी गायक प्रकाश श्रेष्ठलाई प्रदान गरियो।
लगभग एक दर्जन जति सिनेमामा समेत सङ्गीत दिने अनि असंख्य फिल्मी र गैर फिल्मी दुवै प्रकारका कालजयी गीतहरूका सर्जक गोपाल योञ्जनलाई पिउँने व्यसनले गर्दा अन्तमा जण्डिस रोगले कहिल्यै नउठ्नेगरि थल्यायो। २०५३ को ज्येष्ठ ७ गते नयाँ दिल्लीको अपोल्लो अस्पतालमा गोपाल योञ्जनले यस लोकदेखि बिदा लिए। नेपाली गीत सङ्गीतको क्षेत्रमा अझै धेरै-धेरै ठोस् काम गर्ने उनको सपना थियो होला तर ती सबै-सबै अधुरै रह्यो। यद्यपि उनले जे जति कालजगी गीतहरू छाडेर गएका छन्, ती सबैको संरक्षण हुनपर्छ, संग्रह गरि राखिनु पर्छ। नेपाली सङ्गीतको फाँटमा उनले जे जति काम गरेर गएका छन्, त्यसबारे मूल्याङ्कन हुनपर्छ, शोध हुनपर्छ, मन्थन हुनपर्छ।
उनको सबै सृजना र कृतिहरूलाई संरक्षण गरेर राखिएन भने ती सबै नष्ट भएर जान सक्छन् भन्ने बिचारले उनका धर्मपत्नी रेन्छिन योञ्जन स्वयं विगत १८ वर्षदेखि यस कार्यमा सचेष्ट रहेर आएकी छीन्। यस दिशामा एक उल्लेख्य कामको श्रीगणेश भएको पनि देखिन्छ। गोपाल योञ्जनका सम्पूर्ण सिर्जनाहरु अमेरीकाको न्यू योर्क स्थित विश्व प्रतिष्ठित कोर्नेल विश्वविद्यालयको मातहतमा रहेको विरलै अथवा विलक्षण थरिका सामग्री तथा पाण्डुलिपीहरू संग्रह गरि राख्ने विभागको आर्काइभ्समा संरक्षण र सम्बर्धन हुन गइरहेको सुखद खबर आज भन्दा पाँच वर्ष पहिले नै नेपाली संचार माध्यमहरूमा देखा परेका थिए। महान कलाकार गोपाल योञ्जनका सम्पूर्ण सिर्जनाहरु विश्वभरका संगीत प्रेमी तथा अनुयायीहरुका लागि स्थलगत तथा अन लाईन अवलोकन साथै अध्ययनका लागि आर्काइभ्समा निःशुल्क उपलब्ध राखिएका छन्। यस आर्काइभ्समा उनका सम्पूर्ण सिर्जनाहरु साथै उनका हस्तलिखित गीतका डायरीहरु, म्यूजिक सीटहरु, तस्वीरहरु, उनका हारमोनियम र बाँसुरी, उनले लेखेका लेखहरु, उनीबारे अरुले लेखिएका विभिन्न लेखहरु, श्रव्य-दृश्य सामग्रीहरु, उनलाई प्रदान गरिएका केही पुरस्कार र सम्मान पत्रहरु लगायतका सामग्रीहरू राखिएका छन् भन्ने थाहा लागेको छ। सम्पूर्ण अभिलेखन (Archive) संरक्षण र सम्बर्धन र अध्ययनका लागि उपलब्ध गराइने कामको जिम्मेवारी कोर्नेल विश्वविद्यालयले लिएको बताइएको छ । यस कार्यका लागि गोपाल योञ्जन सम्बन्धित उनका सिर्जना तथा केही सामाग्रीहरु विश्वविद्यालयलाई निःशुल्क प्रदान गरिएको हुनाले कपि राईट संस्थाकै हातमा रहने बताइएको छ। एक नेपली कलाकारको सम्पूर्ण कृति तथा सिर्जनाहरु यसरी पू्र्ण रुपमा अभिलेखन (archive), संरक्षण र सम्बर्धन गरिएको अन्तर्राष्ट्रिय स्तरमा नै यो पहिलो हो, जो सम्पूर्ण नेपालीको लागि गौरवको विषय हो।
दार्जीलिङ्गबाट नेपाल पसेर आफ्नो एक-एक पल नेपाली सङ्गीत क्षेत्रलाई सम्पन्न बनाउनमा समर्पित रहने गोपाल योञ्जनले जीवनमा धेरै तीता-मिठा झेले। व्यक्तिगत र पारिवारिक उकाली-ओह्रालीभन्दा बढि जीवन पर्यन्त भौगोलिक घाउले नै कता-कता च्वास्स घोंचेको हुनपर्छ। आफ्नो गाउँ छोड़ेर नेपाल पसेपछि, उनी नेपालकै भए, नेपालकै माटोले भिजे, नेपाल आमाकै महिमा गाए, राम्रा-राम्रा राष्ट्रीय गीत रचना गरे तर जसै गरे तापनि प्रवासीको संज्ञा दिनेहरूले दिएका चोटदेखि उनी तर्कनु सकेनन्।
नेपालकै भएर जयगान गाउँदै नेपालकै आत्माभिमान सँधै शीरमा राखेर हिँड़ै। आफ्नो राष्ट्रिय गीतमा नेपाल आमाप्रतिको समर्पित भावना पोख्दै उनी भन्छन् “मेरो शीर उडाउ बरु त्यो सहन्छु तर कोही पराएले टेके सहन्न”। यहाँसम्म भन्ने नेपाल सपुत अचानक स्वर्गे हुँदा भनेजस्तो राष्ट्रिय सम्मान नपाउनु भनेपछि कति दुःखको कुरा हो, भनेर साध्य छैन। किन भेदभावको शिकार भए अनि यो भेदभावको आधार के हो, प्रश्नचिन्हले एउका लकिर कोरेको छ।
२०२५–२७ सालमा किर्तिपुरमा एम.ए पढ्दा पनि गोपालले प्रवासी हुनुको अपमान महशुस गर्नुपरेको रहेछ। यही घाउ जीवनभरि सायद उनलाई दुखेको थियो। यही पीडाले घोंचिएको उनको कवि हृदय गीतमा बढी मुखरित् भएर यसरी चिच्याउन खोजेको देखिन्छ—
“भनिदेऊ नेपाली दाजु मेरो देश कहाँ पर्यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो”
सन् १९४३ को अगष्ट २६ तारीखको दिन दार्जीलिङ्ग जिल्ला अन्तर्गत पर्ने मिरिक भेकको ओकाइटी चिया कमानमा एक मध्यम वर्गीय परिवारमा जन्मेका गोपाल योञ्जनको ‘राम कहानी’-भित्र निश्चय नै “एक दिनको घाम र सयौं दिनको पानी” भरिएको होला तर अल्पायु बाँचे पनि उनले आफ्नो सृजनाले नेपाली गीत सङ्गीत क्षेत्रलाई भने घमाइलो र न्यानो पारेर गए। गोपाल योञ्जन जस्तो कलाकार एक युगमा एकपटक जन्मन्छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस