सपनाको शहर
तिम्रो सपनाको शहरमा छु
पसिनाजत्तिकै आँशु खसाएको छु
अनमोल जीवनको मोल छैन
रात-दिन बिक्रीमा छु
कुन दिन मलाई नकिनिदेला
हरदम फिक्रीमा छु !
यहाँ बिक्नै पर्छ
खुद्रे समानसरह
प्रत्येक घण्टामा टुक्रिँदै
मलाई बेचेर त लिने हो सरकारले
मेरो मुल्यको ‘ट्याक्स’
नबिकेको समय थान्को लागेको ओतमा
आँखा झिमिक्क भएको महंगो भाडा
महिना सकिन पाउँदैन
बिजुली, ग्यास, गाड़ी
इन्टरनेट, फोन अत्ति आवश्यकको
बील हाँसीरा’को हुन्छ मेल बक्समा
थोरै ढिलो भए गालमात्र होइन
फाइनको पनि फाइन हुन्छ
इमान्दारीता पुरै माइनस हुन्छ !
फकाउँछन् खुब सुविधाको झिलमिलीले
यतिउति क्रेडिट दिन्छु भन्दै
मेल बक्समा धाउँछ दिनदिनै
त्यहि लोभमा कति फस्छन् दलदलमा
बाह्य सम्पन्न सुविधाभोगी
हाइप्रोफाइल आधुनिक ब्यक्तित्व
भित्र भने धमिरा लागेको पत्तै हुँदैन
यो तिम्रो सपनाको शहरमा
गगनचुम्बी घर र चिल्ला गाडीको
छेउमा उभिएको मेरो तस्वीरपछाडि
ऋणले बाँधिएर प्रवासमा कैदी भएको
औडाहा छटपटले आधा मरेको
अर्को रूपले तिमीलाई विचलित बनाउला
तिमीलाई नभनेर मैले मलाई ढाँटेको छु
आउँछु आफ्नै माटोमा भन्दाभन्दै
जेलिएको छु सिस्टमको जालोमा
आफैं सपनाको गला घोटेर
पसेको हुँ म मुगलानमा
भोकभन्दा ठूलो केहि हुँदैन रहेछ
पसिना बेचे तातो अँगेनामा
जुठो भाँडाकुडा र फोहर सोर्नेमा
इमान बेचिनँ स्वावलम्बी बेचिनँ
न देश बेचेको छु
गरेको दुःखको विज्ञापन गरिनस् भनेर
होडिङबोर्ड तिमीले झुण्डाउँदा अचम्मित छु ।
(प्रेम र जीवनका स-साना अवयवमाथि तीव्र अनुभूतिका कविता लेख्ने दीपा राईको कतिपय कविता गीतिशैलीका हुन्छन्। साथै कृतिम जीवनप्रतिको व्यंग्य पनि उनको कवितामा पाइन्छ। हाल संयुक्त राज्य अमेरिका बस्दै आएकी कवि राईको तीन कवितासंग्रह ‘तिम्रो सपनाको म’, ‘स्पन्दनका रागहरू’ र ‘छुटेको बागदाता’ प्रकाशित छ। सं.)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस