• जीवनशैली | Jiwanshaili
  • दाङले जोडेको साहित्यिक विमर्श


    राप्ती क्षेत्रमा ७० को दशकदेखि क्रियाशील एक साहित्यिक संस्था ‘उदाहरण समूह’ले गत वर्ष दाङमा साहित्य महोत्सव गर्यो । सानो आकार र थोरै सहभागिता भएको कार्यक्रमलाई ‘दाङ लिटरेचर मिनी फेस्टिभल’ नाम दिइएको थियो ।
    कोरोना महामारीको सकसपूर्ण समयलाई पनि सिर्जनशील रुपमा अगाडि बढाउने लक्ष्यका साथ संस्थाले भर्चुअल रुपमा ‘दोस्रो दाङ लिटरेचर फेस्टिभल’ आयोजना गर्यो ।

    महोत्सवमा २ दर्जनभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, प्राध्यापक, सामाजिक अभियानताहरुको सहभागिता रहेको छ । असोज १ देखि चलेको महोत्सवले दाङलाई नेपालका सबै क्षेत्रसँग जोडिरहेको छ । साहित्य राजनीति र समसामयिक सामाजिक मुद्दामा बहस, रचना वाचन र छलफल चलाइएको फेस्टिभल हेर्ने दर्शको संख्या तेस्रो दिनसम्म आइपुग्दा निकै बढेको छ ।

    असोज १ गते ‘हमार माटि, हमार कविटा’ (थारु भाषा विशेष) मा थारु भाषाका कविहरूले कविता सुनाए । यस्तै ‘झण्डाको राजनीति’ सेसनमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, कवि भूपाल राईबीच गुरुङ सुशान्तको सहजीकरणमा विमर्श भयो । निकै दर्शकले हेरेको यो सेसनमा राष्ट्रवादको पक्षमा गुरुङ र समावेशीताको पक्षमा राई केन्द्रीत भएको देखियो ।

    यस्तै असोज २ गते ‘सिनेमामा आदिवासी कथा’ सेसनमा अनिल बुढा मगर र छविलाल कोपिलाबीच विष्णु सन्यासको सहजीकरणमा विमर्श भयो । अर्को सेसन ‘अक्षरमाथि भष्ट्रचार’मा आख्यानकार राजन मुकारुङ, लेखक अर्चना थापा, बुकहिल प्रकाशनका भुपेन्द्र खड्काले बहस गरे ।

    ‘डायस्पोरा साहित्यभित्रको डिप्रेसन’ मा कवि हाङयुग अज्ञात, गोविन्द गिरी प्रेरणा र चन्द्र गुरुङबीच कुमारी लामाको सहजीकरणमा विमर्श भयो ।

    फेस्टिभलले राष्ट्रिय सरोकारको मुद्दालाई समेट्न गरेको  प्रयास सार्थक बनेको उदाहरण समुहका सदस्य एवं फेस्टिभलका मिडिया संयोजक विकास रोका मगरले जानकारी दिए ।  महोत्सव असोज ३ गते शनिबारसम्म चल्नेछ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस