• जीवनशैली | Jiwanshaili
  • कुन भिडियो कन्फेरेन्स सफ्टवेयर रोज्‍ने ?


    सफ्टवेयर निर्माताहरुले केही वर्षअघिदेखि भिडियो कन्फेरेन्स सफ्टवेयर विकास गर्दै आएका थिए । कोरोना भाइरसको कारणले ती सफ्टवेयरको माग र महत्व ह्‍वात्तै बढाइदिएको छ । कोरोना भाइरसबाट जोगिने उपायको रुपमा भएको लकडाउनले विभिन्‍न संघ, संस्था, स्कुल, कलेज लगायतका दैनिक गतिविधि ठप्पप्रायः भए । यस्तो परिस्थितिमा अनलाईन मिटिङ र कन्फेरेन्सको महत्व निकै बढ्यो । ठीक त्यही मौकामा वर्षौंदेखिको मेहनतबाट विकास भएका सफ्टवेयरले बजारमा आफ्नो प्रभुत्व जमाउने कोशिस गरिरहेका छन् । लकडाउनपछि विश्‍वभर अत्यधिक प्रयोग भइरहेका भिडियो कन्फेरेन्स सफ्टवेयरहरु यस्ता छन् ।

     

    गोटुमिटिङ

    अमेरिकाको बोस्टनमा सन् २००३ मा सुरु भएको कम्पनी लगमिइन इन्कले विकास गरेको भिडियो कन्फेरेन्स सफ्टवेयर हो, गोटुमिटिङ । मिटिङ ज्वाइन तथा च्याटका लागि सजिलो फिचर भएको यो सफ्टवेयर मोबाइल फ्रेन्डली छ ।

    गोटुमिटिङ सफ्टवेयर एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टमका लागि छुट्टाछुट्टै विकास गरिएको छ । अन्य सफ्टवेयरको तुलनामा यसको इमेज र भ्वाइस कल क्‍वालिटी निकै राम्रो मानिन्छ ।

    स्ट्यान्डर्ड फिचरसहित गोटुमिटिङको वार्षिक प्याकेज खरिद गर्दा प्रतिमहिना १२ डलर तिर्नुपर्दछ । यो प्याकेजमा १५० जनासम्म सहभागी हुन पाउँछन् । कम्पनीले यो सफ्टवेयरको वार्षिक बिजनेस प्याकेज १६ डलर प्रतिमहिना तोकेको छ । गोटुमिटिङको इन्टरप्राइज इडिसनमा ३ हजार जनासम्म सहभागी हुनसक्ने सुविधा रहेको छ ।

    इन्टरप्राइज इडिसनमा क्लाउड बेस्ड फोन सिस्टम र भीओआईपी सेवासमेत इन्ट्रीग्रेट गरिएको कम्पनीको भनाई छ ।

    रिङसेन्ट्रल

    रिङसेन्ट्रल भिडियो कन्फेरेन्सका लागि निकै नै लोकप्रिय छ । यो सफ्टवेयरमा कल सेड्युलिङ, कल रेकर्डिङ, स्क्रिन सेयरिङ, एनोटेसन र च्याटको सुविधा छ । डेभलपरका अनुसार रिङसेन्ट्रल फुल रेन्ज इन्डस्ट्री स्ट्यान्डर्ड फिचरसहितको सफ्टवेयर हो । यसलाई रिङ सेन्ट्रल आईएनसी, क्यालिफोर्नियाले विकास गरेको हो ।

    रिङ सेन्ट्रललाई स्ल्याक, गुगलको जी सुइट र माइक्रोसफ्टजस्ता थर्ड पार्टी प्लेटफार्मसँग प्रयोग गर्न सक्‍ने गरी विकास गरिएको छ । क्रस प्लेटफार्म इन्ट्रिगेसन फिचरलाई यसको सर्वाधिक महत्वपूर्ण फिचर मानिएको छ ।

    रिङ सेन्ट्रलको ड्यासबोर्ड निकै पावरफुल छ । यसमा प्रयोगकर्ताको लोकेसन, आइएसपी, नेटवर्क लगायतको विश्‍लेषण गर्ने सुविधा छ । रिङ सेन्ट्रल व्यावसायिक प्रयोजनको लागि हाइ क्‍वालिटी भिडियो कन्फेरेन्स सफ्टवेयर हो ।

     

    माइक्रोसफ्ट टिम्स

    कम्प्युटर सफ्टवेयरको दुनियाँमा निकै प्रसिद्ध माइक्रोसफ्ट कर्पोरेसनले विकास गरेको भिडियो कन्फेरेन्स सिस्टम हो, टिम्स । टिम्समा १० हजार जनासम्म सहभागीबीच भिडियो र अडियो मिटिङ गर्नसक्‍ने सुविधा छ ।

    टिम्सलाई माइक्रोसफ्ट-३६५ सँग इन्ट्रिग्रेसन गरिएको छ । यसले गर्दा बिजनेस अर्गनाइजेसनलाई मिटिङ सेड्युल गर्न र इन्भाइट गर्न निकै सजिलो छ । गेस्ट युजरले आफ्नो वेब ब्राउजरको सहायताले नै मिटिङमा सहभागी हुनसक्‍ने सुविधा छ । टिम्सको गेस्ट युजरले सफ्टवेयर डाउनलोड गरिराख्‍नु पर्दैन ।

    विश्‍वभरका शैक्षिक संस्था, व्यवसायिक संघ, संस्थाबीच माइक्रोसफ्ट टिम्स निकै लोकप्रिय छ ।

    गुगल मिट

    गुगल मिट टेक जायन्टको उपमा पाएको कम्पनी गुगलले विकास गरेको जी सुइटको कम्पोनेन्ट हो । यसअघि गुगल ह्‍याङआउटको नामले चिनिने सफ्टवेयरलाई गुगल मिट नामसहित रिब्रान्डिङ गरिएको हो । यसलाई व्यावसायिक मिटिङ प्रयोजनको लागि विकास गरिएको गुगलको भनाई छ ।

    निकै ठूलो संख्यामा सहभागी हुनसक्ने गरी यसको विकास गरिएको र वेटिङ टाइम निकै कम भएको कम्पनीको दाबी छ । गुगलका अनुसार यो फर्स्ट क्लास कन्फेरेन्स सफ्टवेयर हो । गुगल मिट प्रयोग गर्दा उच्‍च गुणस्तरको अडियो, भिडियो आउनेसाथै कल ड्रप नहुने गरी विकास गरिएको गुगलको भनाइ छ ।

    गुगल मिट प्रयोगकर्ताका लागि एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टममा अलग अलग एपको विकास गरिएको छ । कम्पनीका अनुसार गुगल मिट प्रयोग गर्दा अरु सफ्टवेयरमा जस्तो मासिक रुपमा ठूलो मात्रामा पैसा तिर्नुपर्दैन । गुगल मिटका प्रयोगकर्ताहरुले क्रोम, फायरफक्स र माइक्रोसफ्ट एड्जमात्रै प्रयोग गर्न मिल्ने व्यवस्था छ ।

    जुम मिटिङ

    जुम भिडियो कम्युनिकेसन्स आइएनसीले विकास गरेको जुम मिटिङ्स सफ्टवेयर डेस्कटप र मोबाइल प्रयोगकर्तालाई लक्षित छ ।

    यसको प्रयोग गर्दा १ हजार जनासम्म सहभागी हुनसक्‍छन् । सिङ्गल स्क्रिनमा ४९ वटासम्म भिडियो हेर्न सकिन्छ ।  जुम मिटिङ्स प्रयोग गरी भिडियो रेकर्ड तथा क्लाउडमा सेभ गर्न सकिन्छ । प्रयोगकर्ताले आपसमा स्क्रिन सेयर गर्ने तथा नोट सेयर गर्ने सुविधामा समेत यो सफ्टवेयरमा छ ।

    जुम मिटिङ्सको च्याट फिचरमा फाईल सेयरिङ गर्ने, हिस्ट्री सर्च गर्ने सुविधासमेत छ । यसको हिस्ट्री १० वर्षसम्म सुरक्षित रहने कम्पनीले जनाएको छ । यसको फ्री भर्सनबाट १०० जनासम्म सहभागी र ४० मिनेटसम्मको मिटिङ गर्न पाउने सुविधा छ ।

    क्लिकमिटिङ

    गेटरेस्पोन्स नामक कम्पनीले विकास गरेको क्लिकमिटिङ इन्टरएक्टिभ वेबिनार सफ्टवेयरको रुपमा परिचित छ । होस्टका लागि निकै महत्वपूर्ण सुविधासहित विकास गरिएको यो सफ्टवेयरमा प्रश्‍नोत्तर गर्ने तथा मत प्रकट गर्ने फिचर समेटिएको छ । यो फिचरको माध्यमबाट सदभागीको धारणा बुझ्न तथा महत्वपूर्ण तथ्याङ्क संकलन गर्न सजिलो हुने कम्पनीको भनाई छ ।

    ग्राहक तथा सहभागीको तथ्याङ्कमा आधारित व्यवसायका लागि क्लिकमिटिङ निकै महत्वपूर्ण मानिन्छ । क्लिकमिटिङलाई मार्केटिङ टुल तथा अन्य बिजनेस एपहरुसँग इन्टिग्रेट गर्न सकिन्छ । अटोमेटेड फलोअप यसको अर्को महत्वपूर्ण फिचर हो ।

     

    यु मिटिङ

    यु मिटिङ ताईवानी मल्टिमिडिया सफ्टवेयर कम्पनी साईबरलिङ्कले विकास गरेको भिडियो कन्फेरेन्स सफ्टवेयर हो ।

    यु मिटिङले आफ्ना प्रयोगकर्ताको लागि चारथरी प्याकेज उपलब्ध गराएको छ । यसको प्रयोग गरी २५ जनासम्म सहभागी हुने ३० मिनेटसम्मको मिटिङका लागि कुनै शुल्क लाग्दैन । त्यसबाहेक कम्पनीले प्रो-५०, प्रो-१०० र इन्टरप्राइज प्याकेज सशुल्क उपलब्ध गराउँदछ ।

    इन्टरप्राइज प्याकेजमा मिटिङ एनालाइसिस, कस्टुमर सपोर्ट तथा इन्क्रिप्सन फिचर समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यु मिटिङ वेब बेस्ड सिस्टम भएकाले कुनै सफ्टवेयर डाउनलोड गरिराख्‍नु नपर्ने कम्पनीको भनाई छ ।

    यु मिटिङको ‘पर्फेक्टक्याम’ फिचर प्रयोग गरी सहभागीले मेकअप गर्नसक्छन् । प्रयोगकर्ताले यो फिचर निकै रुचाएका छन् ।

     


    क्याटेगोरी : नवप्रर्बतन

    प्रतिक्रिया दिनुहोस