• जीवनशैली | Jiwanshaili
  • एक्लो उभिएको साहित्य घर


    कुनै बेला पूर्वी पहाडी जिल्लाको केन्द्र थियो धनकुटा । डाँडाको काखमा बसेको पुरानो बजारसँगै टुँडिखेल पनि भएको सुन्दर बजार धनकुटाको आफ्नै विशिष्टता थियो । बजारबाट केही घण्टा माथि मुगा क्षेत्रमा जन्मेका सुर्यबहादुर थापा चार पटक देशको प्रधानमन्त्री भए ।

    धनकुटा बजारको सिरानमा पर्ने एउटा घर अहिले पनि धनकुटाको वैभव बोकेर उभिरहेको छ । ७२ सालको भूकम्पले थारै क्षति पुर्याए पनि उक्त घरको मेरुदण्ड गलेको छैन । बुट्टेदार झ्याल–ढोका अनि बरण्डासहितको यो तीनतले घरको आफ्नै इतिहास छ ।

    यो ऐतिहासिक घर कवि एवं संस्कृतिविद तुलसी दिवस (तुलसीप्रसाद जोशी)को हो । दिवसको जन्म यसै घरभन्दा मुनिको जोशी खलकको पुरानो मूलघरमा भएको हो । तर दिवसको बाल्यकाल, किशोरावस्था र युवावस्थाको केही समय यही घरमा बितेको छ । दिवस गोकुण्डेश्वर हाइस्कुल पढ्दा यही घरमा बसेर पढे । पछि क्याम्पस पढ्दा पनि उनी यही घरमा बसेर लेख्ने–पढ्ने काम गरे ।

    दिवस भन्छन्, ‘मेरो साहित्यिक व्यक्तित्व बनाउन धनकुटा र यो घरको महत्त्वपूर्ण भूमिका छ । घरसँग मेरो अनेक प्रकारको सम्बन्ध जोडिएको छ ।’

    दिवसका पिता महाप्रसाद जोशीले बनाएको यो घर दिवसको उमेरभन्दा चार वर्षमात्रै कान्छो छ । अर्थात् ७५ वर्षको इतिहास बोकेको दिवस–घर अहिले पनि आफ्नो वैभव बोकेर खडा छ । अहिले घर पछाडिको भाग भत्केको छ । चारैतिरबाट टेको लगाएर राखिएको छ । कवि दिवसका अनुसार दशैंपछि घरको पुननिर्माण थालिने छ । यदि पुननिर्माण गर्न नसकिए घरको दुवै छेउमा पर्खाल लगाएर भएपनि घरको संरक्षण गरिने उनी बताउँछन् ।

    दिवसको घरको अग्रभागमा सिसा राखिएका काठमा झ्याल छन् भने, अगाडिकै मोहडामा चारवटा साना वरण्डा छन् । सेतो कमेरो लगाइएको छरको अगाडिको भाग भूकम्पले बिगारेको छैन । घर अगाडिकै बाटो भएर पिच सडक जान्छ तर पनि घर एक्लो छ ।

    अहिले दिवस परिवारका केही सदस्य धनकुटामा नै छन् । तर दिवसकै घरमा भने कोही बस्दैनन् । घरमा ताला लगाइएको छ । धनकुटा घुम्न आउने लेखक तथा साहित्यकारले दिवसको यो ऐतिहासिक घर एकफेर घुमेर निस्कने गर्छन् ।

    ऐतिहासिक महत्त्व बोकेको यस घर सुरक्षा र संस्कृति दुवै कारणले संरक्षण गर्नुपर्ने स्थानीयहरू बताउँछन् ।

    यस्तो छ कवि दिवसको मूल परिचय :

    तुलसी दिवस (वास्तविक नाम तुलसीप्रसाद जोशी) नेपाली साहित्यकार तथा संस्कृतिविद् हुन् । यिनी सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति पनि हुन् ।

    तुलसी दिवसको जन्म सन् १९४१ जुलाईमा धनकुटामा पिता महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा भएको हो । उनले माध्यमिक शिक्षा धनकुटाकै गोकुण्डेश्वर हाइस्कूलमा पढे । त्यसपछि अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरे । यिनले नेपालमा विभिन्न समयमा प्राध्यापन गरेका छन् भने विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका छन् ।

    कवितालाई अभिव्यक्तिको माध्यमद्वारा पनि बुझाउन सकिन्छ भन्ने मतको हिमायती तुलसी दिवस कवितालाई सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा साथै कवितात्मक हाउभाउका साथ स्पष्ट रूपमा अभिव्यक्त गर्ने विशिष्ट खुबी भएका कवि हुन् । तुलसी दिवसले नेपाली साहित्यको भाषालाई लोक भाषासँग सम्बन्ध गराउन धेरै महत्त्वपूर्ण योगदान दिए । यसका साथै लोकसंस्कृतिलाई आम जनजीवनसँग सम्बन्ध गराउनको लागि अथक र निरन्तर प्रयासरत् छन् ।

    तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन् । त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन् । यिनले सङ्कलन गरेका ‘कान्छी मट्याङ्ट्याङ’लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए ।

    नेपाली लोककथा, नेपाली लोकबाजाहरू, अंग्रेजी र नेपाली, तुलसी दिवसका कविता, फोकटेल फ्रम नेपाल, तुलसी दिवसकी कविताएँ आदि यिनले लेखेका केही पुस्तकहरू हुन् । यिनले साहित्य, संस्कृति र संगीतको क्षेत्रका विभिन्न पुरस्कार पाएका छन् । सुप्रवल गोर्खाबाहु, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार, सिद्धिचरण काव्य पुरस्कारलगायतका पुरस्कार पाएका छन् ।

    उनले त्रिचन्द्र क्याम्पस र पद्मकन्या क्याम्पसमा लामो समय नेपाली भाषा प्राध्यापन पनि गरेका छन् । हाल उनी नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्षको रूपमा कार्यरत् छन् । प्रस्तुत छ दिवसको बहुचर्चित कविता – बाटो ।

    ‘बाटो’

    हिँड्दाहिँड्दै मोडमा
    हिँडेको बाटो नै मोडिएपछि
    हिँड्नेको पनि केही लाग्दो रहेनछ ।

    तेर्सिंदातेर्सिंदै तेर्सोमा
    तेर्सिएको बाटो नै उक्लेपछि
    तेर्सिनेको पनि केही लाग्दो रहेनछ ।

    उक्लँदाउक्लँदै उकालोमा
    उक्लेको बाटो नै ओर्लिएपछि
    उक्लनेको पनि केही लाग्दो रहेनछ ।

    ओर्लंदाओर्लंदै फेरि
    ओर्लेको बाटो नै उक्लेपछि
    ओर्लनेको पनि केही लाग्दो रहेनछ ।

    हिँड्दाहिँड्दै मोडमा
    हिँडेको बाटो नै मोडिएपछि
    हिँड्नेको पनि केही लाग्दो रहेनछ ।

     


    क्याटेगोरी : कला शैली, खोज/विशेष

    प्रतिक्रिया दिनुहोस