• जीवनशैली | Jiwanshaili
  • सर्पको गाउँ : रमाउँदै सिकाउने पुस्तक


    यशु श्रेष्ठ नेपाली बालसाहित्यमा परिचित नाउँ हो । बाल मनोविज्ञान र सिकाईमा आधारित दर्जनौं कृतिका लेखक श्रेष्ठको पछिल्लो कृति ‘सर्पको गाउँ’ शीर्षकमा प्रकाशित छ । सर्पको गाउँका प्रत्येक पृष्ठमा विषयवस्तुसँग मिल्ने रंगीन चित्र छापिएको छ । पुस्तकमा छापिएका चित्र सुनिल थापाले कोर्नुभएको हो ।

    पुस्तक तराईको गाउँले परिवेशमा हुने सर्पको बिगबिगी र त्यसबाट बालबालिकामा पर्ने प्रभावमा केन्द्रित छ । यो कृतिको केन्द्रीय विषय सर्प र मानिसबीचको अन्तरक्रिया हो । पुस्तकले सर्पको वासस्थान, आहार, त्यसको आक्रमणबाट जोगिने उपाय, सर्प भगाउने परम्परागत तरिका, सर्पले वातावरणमा गर्ने योगदान जस्ता विषयमा जानकारी दिन्छ ।

    पुरनले आफ्नो गाउँ वरिपरि देखेका सर्पहरुका गतिविधि, तिनबाट हुने खतरा हुँदै सर्प भगाउन गाउँलेहरुले गरेका कामसम्म पुगेर पुस्तक टुंगिन्छ । सर्फ भन्नेबित्तकै मारिहाल्नुपर्ने वा देवताको अवतार नाग भन्ने गलत मानसिकतालाई वैज्ञानिक तथ्यबाट देखाइएको छ ।

    विषयवस्तु

    सर्पको गाउँमा मुख्य पात्र पुरनले विभिन्‍न अवस्थामा देखेका सर्पले उसको मनोविज्ञानमा पार्ने असरलाई निकै रमाइलो ढंगले वर्णन गरिएको छ । पुरन र सर्पको कथालाई चारवटा शीर्षकमा समेटिएको छ । पहिलो अध्यायमा पुरनलाई सर्पको आक्रमणबाट जोगाउने गम्छाको वर्णन छ भने दोस्रोमा स्कुल जाने बेला भेटिएको गोमन र गोमनलाई उठाएर लैजाने गरुडको कथा छ ।

    ‘गुँड’ शीर्षकमा पुरनका साथीहरुले गुँडबाट चराका बचेरा झिक्न जाँदा भेटिएको सर्पको कथा छ । अन्तिम अध्यायमा गाउँमा भेटिने गोमन र तिनलाई भगाउन गाउँलेहरुले गरेको मेहनतको रोचक वर्णन गरिएको छ ।

    तराईको यौटा गाउँमा बस्ने पुरनलाई उसकी आमाले ‘लौकी’ टिप्न पठाएको घटनाबाट कथा सुरु हुन्छ । लौकी टिप्न जाँदा बारीमा भेटिएको सर्प पुरन भाग्ने क्रममा उसको जीउबाट खसेको गम्छामा अल्मलिन्छ । यसरी बालबाल जोगिएको पुरनले अर्कोदिन स्कुल जाने क्रममा बाटोमा गोमन भेट्छ । गोमनले फणा फुलाउँदै पुरनलाई लखेट्न थाल्छ । ठीक त्यहीबेला गरुडले गोमनलाई उडाएर लान्छ । पुरन दोस्रोपटक पनि जोगिन्छ ।

    जंगलमा घाँस काटेर फर्किने क्रममा पुरनका साथीहरूले चराका बचेरा झिक्न रुखमा चढेको देख्छ । गुँडमा हात हाल्नै लाग्दा सर्पको स्वाँ स्वाँ सुनिन्छ । पुरनले निकै जोडबल गरेर साथीहरुलाई सर्पको आक्रमणबाट जोगाउँछ । गाउँमा उसको घरमा र घरनजिकै देखिएको सर्पलाई भगाउन गाउँलेहरु जुटेर प्वालहरु टाल्ने, आगो बाल्ने, झाडी फाँड्ने आदि काम गर्छन् । योसँगै सर्प गाउँमा देखिन छाडेको प्रसंगमा पुगेर कथाको अन्त्य हुन्छ ।

    ‘सर्पको गाउँ’ले बालबालिकालाई सर्पबाट जोगिन र सर्पका विभिन्‍न गतिविधिबारे बुझ्न सिकाउँछ । अतः यो कृतिलाई रमाउँदै जीवन उपयोगी ज्ञान हासिल गर्न सघाउने पुस्तकको रुपमा लिन सकिन्छ । पुस्तक सात वर्षभन्दा माथिका बालबालिकालाई लक्षित गरिएको प्रकाशकको भनाई छ । लेखक श्रेष्ठले सरल भाषामा कथाको वर्णन गरेका छन् जसले गर्दा बालबालिकालाई कथा सम्झनसमेत सजिलो हुन्छ ।

    ‘परिचय पब्लिकेसन’ले बजारमा ल्याएको पुस्तकमा ३८ पृष्ठ छन् । पुस्तकको मूल्य १ सय ६० रुपैयाँ राखिएको छ ।

     

    यो पनि पढ्नुहोस् :

    बालसाहित्य शाखा वा पुच्छर होइनः यशु श्रेष्ठ


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस