• जीवनशैली | Jiwanshaili
  • प्रिय प्रोफेशर र अप्रिय पत्रकार


    प्राध्यापन पेशाको भ्रुण विद्यालयमा बिताएका राम्रा नराम्रा दिनहरुको प्रतिशोध गन्ध वा बासनाबाट प्रभावित भएको हुन्छ । शिक्षा आर्जन गर्ने र कालान्तरमा आर्जन गर्नेलाई गर्जनेहरुको व्यवहार यहि भन्छ ।

    मेरा मित्रको व्यथा पनि त्यही नै हो । उनी गाउँमा पढे र पहिले गाउँमै शिक्षक बने । शहरमा आएर थप अध्ययन गरेर फेरि शहरमा लेक्चरर भए । विश्वविद्यालयको छायाँमा शिक्षकहरुको संगतमा परेर उनले पनि आधा देशभित्र र आधा देशबाहीरको छात्रवृतीपछि पाएको डिग्री नै प्रोफेशर बन्ने क्षमता ठहरीयो । र उनी विश्वशिक्षा हासिल गरेको अनुभव चर्चा र प्रमाणपत्र झोलामा हाले । उनी गाउँमा शिक्षक हुँदा साइकलमा चढेर केश उडाउँथे, शहरको शरणमा परेपछि मोटरसाइकलको चक्कामा घुम्न थाले, जसै उनी विश्वविद्यालयको ज्ञानग्रहणमा परे उनी पहेलो कार चढ्ने भएका थिए । पहिलेपहिलेका शिक्षक हुँदाबखतका किस्साहरु उनी निस्फक्री सुनाउँथे । तिनै अनन्य मित्रले भित्रीया साथीहरुमाझ विश्वविद्यालयका अग्ला रुखमुनिको छायाँमा बसेर दुबो चबाउँदै कहेका कथाहरु कटहरको बोक्रामा भएका बचेरा थुनहरुझैँ असरल्ल थिए । उनी आफैँले गरेका कार्य कुकार्य कसरी सुकार्य बनेर समाजमा चम्किरहेका थिए, ती सबको बृतान्त स्वयंमले गर्वपूर्वक भनेका थिए । र हामी साथीभाइको जमातलाई चिन्तनगर्भमा धकेलेका थिए ।

    प्रोफेशर मित्रको काया पातलो छ । प्रायः सेतो रंगको सर्ट लाउँछन् । खुकुला पहिरनमा यिनको बिशेष रुचि छ तर महिलाका मामलामा भने उनी पुष्ट र कम उमेरका भ्रान्तीहरुको छनोट निर्विरोध गर्छन् । प्रोफेशरको केशराशी घुम्रेकोछ । मानौं ती घुङ्ग्रीला कपालमा उनी आफूले गरेका कुकृत्यका कथाहरु सङ्केतमा, कोडमा लुकाईराखेका छन् । मसिनो आवाजमा रुग्णता भरिएको छ, कम्पनको जलप छ । उनलाई सुनीरहदा लाग्छ रातभरी दोहोरी गाएर उनको आवाज बसेकोछ, घिस्रेकोछ । दिनदुःखीको आवाजी शैलीमा उनी बिस्तारै उठान गर्छन् र ठूलो भोल्युममा बोलिलाई उठाउँछन् र धारापरवाह बोल्दछन् । कुनैबेला यिनले सिनेमा, नाटकमा पनि अभिनय गरेका थिए । थाहा छैन दर्शकहरुले कसरी बुझ्न सके उनको गरिमामय आवाजसहितको प्रस्तुतीलाई । सर्टको माथिल्लो बटन खोलेर मित्रले आफ्ना स्मृतीको झोला खोल्नुपहिले अन्य साथीले के अनुमान लाउँथे कुन्नि तर मलाई सधै लाग्थ्यो, यिनी जसरी कुरा गर्नमा माहिर छन्, यिनलाई कहिले लाग्दो हो कि श्रवणकुमार, कुमारीहरु मेरो आवाज सुन्नलाई सुपारी, गुट्खा वा पानमसला फर्माइस गुप्तरुपमा गरिरहेकाछन् । तर यिनी सधै आफूलाई धेरै बोल्नुपर्ने बक्ताकोरुपमा चित्रण गराइछाड्थे र हामी आम

    साथीहरु उनको शैलीमा भिजेर त्यो अवसर नमागिकनै उनलाई दिने गर्दथ्र्यौ ।
    विवाहीत प्रोफेशर सन्तानले सुसज्जती थिए तरपनि पृथ्बीवासी पुरुष हुनुको दम्भ र परचक्रि चरित्र उनको भिजिटिंगकार्डमा पनि अंकित थियो । उनी बाहीर हिँड्दा एकथान श्रीमती, केही थान विकसीत भ्रुण र धेरै थान अविकसीत भ्रुणहरुको श्रेस्तेदार हो भन्ने परिचायक तथ्यलाई आफ्नो कर्लि केशमा लुकाउँथे र एकल जीवन विचरण गरिररहेको विश्वमानव, सत्यको शोधार्थी, एकल शक्तिशाली कामारुखकारुपमा प्रस्तुत गर्थे । मित्रले सामान्य युवतीको असामान्य चित्रण धेरैपल्ट धेरै प्रसंगमा हामी मित्रगणलाई सुनाएका थिए ।

    प्रोफेशरले गाउँबाट भर्खरै शहर पसेकी एकजना युवतीलाई विश्रामगृहमा संरक्षण दिएका थिए र उनको अभिभावकत्व सगर्व बहन गरेका थिए । सर्ला बुर्लाकोटी नामकी ती युवती पछि मित्र प्रोफेशरको संगतमा परेपछि अनुभवि बनेर होनहार बौद्धिक छायाँछबि लिइ चर्चामा आउन थालेकी थिइन । उनको उधरो ज्ञान चर्ममैदानलाई धावनमार्ग बनाएर दौडिरहेको थियो, यदाकदा उडेको पनि देखिन्थ्यो । मिस बुर्लाकोटीका अविजात्य अभिभावकहरु शहरमा धेरै थिए । सबैले उनलाई प्रेम गर्दथे र वापत्को प्रेमील कदम चुकाउँथे । मोडमोडमा वृद्ध, अधवैशे र समकालिन् शरिरहरुले सरको उपमा पाएपछि युवतीको दशा जिनखोजातिनपाइया को अवस्थामा थियो ।

    विश्रामगृहमा मित्र बरोबर गइरहन्थे । प्रोफेशर भएपछि किनेको उनको पहेलो रंगको कारमा सवाररत आफ्नो शरिरलाई उनी लाश भन्थे र अपुष्ट दर्शनदंशको विष चारैतिर छर्कन्थे । एकचोटी उनी तीनै संरक्षित युवती मिस सर्लाकहाँ साँझपखको समय सिलाउन भनि गएका थिए । साथमा मनपर्ने खाद्य पदार्थको जोहो पनि गरेका थिए । घरमा परिवारलाई कुनै जरुरी काम छ भन्ने जनाउ पहिल्यै नै दिइसकेका थिए । उनी हिँड्दा खाली झोला बोकेर हिँडिरहेको गह्ुगो व्यक्ति झै लाग्थ्यो । मनपर्ने पेय पिउँदा मित्र आफ्ना बारेमा सक्कली कुरा गर्दथे । उनीसँगै बसेर पिउने अरु मित्रले त्यो बानीका बारेमा चाल पाएकाछन् । त्यसरात मिस सर्लाले मित्रलाई अबेरसम्म अल्झाइरही र उनको घुम्रीएको केशसम्म पुग्नेगरी मताउन एकपछि अर्को ग्लास थपिइरहेकी थिइ ।

    जसै ससाना गड्यौला शिरमा ओइरिएझैँ उनको कपालमा मदिराको मात चढ्यो उनी ओइलाएर भूईमा लडे । मध्यरातपनि भएको थिएन, प्रोफेशर चिसो भूईमा तातो शरिर लिएर गालाको सहायताले हिँड्न खोजिरहेका थिए । बर्बराऊने बानी बकिरहेको थियो, मेरो हातमा लालटिन देऊ मलाई खोजमा निस्कनुछ, मनको क्रान्तिमा लाग्नु छ । मिस सर्लाले सँगसँगै पिएको स्वागँ पारेर उसले ओठमात्र जोतेर आफ्नो अवस्थालाई ठिकठाकमा राखीरहेकी थिइ । उसले अर्का वरिष्ठ व्यक्ति जो अभिन्न अभिभावकको भूमिकामा भर्खरै प्रवेश गरेका थिए तिनै महामहिमको प्रतिक्षामा थिइ । रातको बाह् बजेको संकेत टेबलमा रहेको घडिले दियो र उ हतारमा प्रोफेशरलाई भूईमा छोडेर बाहिर निस्की ।

    मेनरोडमा साइडलाइट बालेर ढुकेर बसिरहेका समाजका भद्र व्यक्ति नाबालीग सर्ला बुर्लाकोटिलाई आश्रय दिन तम्तयार भइ बसेका थिए, त्यो आजन्म पनि हुनसक्छ भनेर पुष्ट आश्वासन पहिलेनै थमाइसकेका थिए । नयाँ सेलफोन र साप्ताहीकरुपमा डेटाप्याक र अनलिमीटेड कल्स जो नियमित कर्म बैनाकारुपमा चलिरहेको थियो । दुबैजना शहरभन्दा बाहिर रहेको तासकटेजमा समय बिताउँन गए । अर्कोतर्फ विद्धान प्रोफेशर भूईमा लम्पसार थिए, उनको मोबाइलको स्क्रिन अनअफ भइरहेको थियो ।

    यी सारा ताडण्व दृश्य श्रीमतीले पठाएको भाडाको स्पाइमार्फत थाहा भएको थियो । गुह्य कुराको सुइको सुइरो बनेर श्रीमतीको निर्देशमा गुप्तचर र अनि श्रीमान् प्रोफेशरको काँधमा आएको रहेछ । सारा बृतान्त सचित्र, सदृश्य प्रोफेशरले पाएका थिए । त्यसपछि घरमा उनी दोस्रो दर्जाको सदस्यकोरुपमा विस्तारै बोल्ने र हिँडडुल गर्ने शर्तमा सहमत भएका थिए । केही बोल्दा वा जादा श्रीमतीको अनुमति अनिवार्य थियो । यो इतिश्री वृतान्त प्रोफेशर मित्रले नै मित्रमण्डलीमा न्यास्रो अनुहार लाएर बकेका थिए । त्यसपछि श्रीमतीले उनलाई देविथानमा लिएर गएकि थिइन् र आइन्दा कहिल्यै यस्तो नगर्ने भाकल गर्न लायकी थिइन् । तर मित्रको मुखले एउटा वाक्य निकालेपनि भित्रीमनमा भने, ‘देवि म कहाँ सक्छु यस्तो पवित्र काम नगरी बस्न ! यो दर्शन त श्रीमतीको जोडबलमा मात्र भएको हो । मेरो मनको दर्शनका बारेमा हजुरलाई ज्ञातै छ । जो नारीशक्ति हजुर पर्नुभयो । सबै महिलाका समस्या र क्रन्दन साझा नै हुन् । मेरो स्तुतीलाई बुझिदिनुहोला ।’

    मित्रको लीला अपरम्पार थियो । उनले आफ्नो प्रतिभा सानो उमेरदेखि नै देखाएका थिए । सानो उमेरमा ठूलो मान्छेको अभिनय गरेर कथित क्रान्तिको नाममा उनी पनि गाउँका चोथालेहरुसँग मिलेर लालपर्चा बाँड्ने काममा लागेका थिए । त्यहि क्रममा उनले बिद्यालयको कक्षा छोडेर महिला समानता, दलित आन्दोलन र बालबालिकाको रक्षाको निम्ती आयोजन हुने कार्यक्रममा भाग लिन्थे । त्यही सभावाट मनपरेका फूलजस्ता बालिका टिप्ने र सिउँरिने काम गर्दथे । प्रोफेशरको शाश्वत सत्य कि उनीलाई थाहा छ कि हामी संगतीलाई ।

    साँझपखको नित्यताका बारेमा बोल्दै भन्थे उनी, ‘सहयोगीले खाना पकाउँछिन् नत्र श्रीमती भइहालीन् । खाना पस्कने श्रीमतीको पुरानो बानी अहिलेसम्म पनि गएको छैन । खाना खायो, त्यसपछि एक्लै कोठामा पस्यो । संसारभरीका शुभचिन्तकलाई निहार्यो । मोबाइलको पातोमा प्रतिक्रिया जान्नलाई कामबल्छी फाल्छु र भन्छु म कोठामा एक्लै छु, श्रीमती अर्को कोठामा छिन्, प्रिय अब त्यो अभावको अभिनय तिमीबाट होस् भन्ने चाहना मेरो छ । शुभचिन्तकले अरुमार्फत मेरो बारेमा सुनेर बनाएको धारणाभन्दा मेरो असली रुप प्रितकर लाग्छ क्यारे ! उनी राजी हुन्छीन पहिले विद्युतिय पातोमार्फत तात्नलाई तत्पश्चात शशरिरी अवतारमा ओर्लनलाई ।’

    सोसल साइटमा भेटिने युवतीहरुलाई गजबको अफर हुन्छ प्रोफेसरको । केहि भेटपछि उपसंहारमा पुगिहाल्ने उनको अचुक बानी छ । उनको अन्र्तमुखि प्रतित हुने तर सार्वजनिन भइसकेको बानिबारेमा श्रीमतीलाई अक्षरंश थाहा छ, किनकी उनी पनि कुनै बखत यसरी नै कुटील बल्छीमार्फत घुम्रीएको केशमा बल्झन पुगेकी थिइन् । रहस्यमयी खप्परमा मैले थाहा नपाएका सुत्रहरु छोपिएर बसेका होलान् भन्ने थियो । तर उनको आकाशगंगाको आकलन त्यसैत्यसै स्खलन भयो जसरी प्रोफेशरको नित्यक्रम साँझपख हुन्थ्यो वा बिहानी प्रहरमा ब्यूझन्थ्यो ।

    प्रोफेशरले कैयौपल्ट आफ्नो नीरस दाम्पत्यजीवनका बारेमा बेली बिस्तार हामीमाझ लाएका थिए । जहाँ उनकी हालकी श्रीमती पूर्व प्रेमिका हुनुपहिलेका प्रेमीहरुउपरको इष्र्या क्षयरोगजसरी फैलिरहेको थियो । एक आम मगन्तेको भेषमा ढोका कुरेर, गल्छेडो रुँगेर जो प्राप्ती उनले हात लाएका थिए । प्रेमिका पाउनलाई आत्महत्यासम्मको धम्कि दिन सक्ने उनीसँग परिवारले खनिदीएको भिरालो बाटो थियो, त्यहाँ उनी इन्धन बन्द गरेर मोटर चलाउथे । उनी भन्थेः
    ‘यसरी चलाउँदा दोहोरो फाइदा हुन्छ, पहिलो परिवारले मोटरको आवाज सुन्दैन । दोस्रो इन्धनको बचत हुन्छ ।’

    साहित्य पढेपछि साहित्य लेखनमै आउँनुपर्छ भन्ने छैन । धेरै शिक्षकपेशामा रम्दछन्, केही पत्रकारीतामा मेरुदण्ड दोब्राउँछन् र भक्तिगानमा लिप्छ हुन्छन्, केही पर्यटनमा हात हाल्छन् र गाइडबाट उक्लेर होटल, ट्राभल मालिकसम्म बदलिन्छन् । मित्र प्रोफेशरको गुजुल्टाभित्र सञ्चारको भूतपनि पसेको छ । रुपचन्द्र बिष्टकाजिको थाहा नपाएपनि उनले इतरका पात्रले लालटीन बालेर, बालटिन बोकेर खोजेको खोज, सोच र मनोक्रान्तिको घुमाउरो प्रश्नवाचक चिन्हमा फसेर कैयौ प्रेमिकालाई नागरुपि टिकुली, औठी र झुम्का उपहारमा टक्राएका थिए ।

    जाडोमा उनले लाउने ओभरकोटको झझल्को उनले अंग्रेजि साहित्यकारको प्रभावमा परेर लाउने गर्दथे । भन्थे, यसरी लाउँदा मेरो खल्तीको गहिराइमा गज्ज्बको कृति पाण्डुलिपि अवतारमा बसीरहेको भान हुन्छ भन्थे । सोह्खुट्टेको पाटीमा उनी सधै साँढेको झुण्डलाई हेर्न जाने गर्दथे, कहिले भुस्याहा कुकुरहरुका जत्था यिनका प्रिय दृश्यहरु हुन्थे । पशुपति रुँगेर बसेको साँढेले केव चिसो फाल्छ भन्थे उनी । एकबारको कुरा हो, उनलाई सोह्खुट्टे ओरालोमा हुत्तिएर आएको साँढेले धक्का दिँदा मूच्र्छा नै परेका थिए । हामी साथिहरु मिलेर सहयोग राशी जम्मा गरेका थियौ र अस्पतालको आपत्कालिन डेस्कमा दाखिला गरेका थियौ ।

    हाम्रा प्रिय प्रोफेशर मित्रले साथमा अर्का अभिन्न मित्र लिएर आउथे, पछि गएर उनि पनि हाम्रो समूहको अघोषित सदस्य बने वा मानार्थ सदस्य पाउनलाई रुख्खासुख्खा हाँसोको बिनय गरे । उनको खास नाम उनी आफैलाई मन पर्दैनथ्यो । नाम वा जातीथरमा अरुचि राख्नेहरु अपूरो नाम वा नयाँ नाम बोकेर हिँड्नेहरुझैँ प्रोफेशरका मित्र पनि एक भइगए । उनलाई सबैले ‘बिकु डन’ भन्थे । बिकुडन अखवारी लेखन र टिभीमा कार्यक्रम सञ्चालन गर्थे । उनको अग्लो कायाको काइदा हेर्दा उनको मुलमा संदेह गर्ने ठाउँ प्रसस्त थियो । पश्चिम नेपालमा तपसिलका कृत्यहरु सामान्य नै हुन् तथर्स बिकुडनको रसविहीन् हाँसो र निख्रदै गएको तालुतन्तुमा नेताहरुले ओइराइदिएको मदिराका खतहरु बाक्लै थिए । प्रोफेशरझैँ बिकुडन पनि लेख्ने प्रयास गर्दथे । तर उनको लेखनी पाँडे पुराण भन्दा माथि उठ्न सक्दैनथ्यो । नश्लचेतको चोपले च्यापीएको भान गर्दै सधै हिनहिनाउँने बिकुडनले पत्रकारीताका आडमा धेरै रीतका अण्डाहरु फुटाउन सफल भएका थिए ।

    उनको अश्लिल श्रमलाई छोप्न बिकुडन धर्मगुरुको शरणमा जाने गर्दछन् । बिकुडनका दुव्यर्सनी धेरै छन् । तिनलाई लुकाउन उनी काँचको पर्दामा वाणिविलास वा भनौ तर्कको भँगालोमा पस्न पुग्छन् र मुहारमा खरानी धस्सछन् । बिकुले बोलेको बोली कहिल्यै कर्णप्रिय भएन तरपनि उनलाई पर्दामा आउने र बोल्ने कुलतबाट उठ्न सकेनन् । फेरि उनले समाएको अक्षरखेतीमा पनि सबैभन्दा जानेको बुझेको मै हुँ भन्ने हात्ती भ्रान्ती लिएर पाठकलाई ठग्ने काम गर्न सुरु गरेको दशर्कौ भयो, अब ती यिनलाई लत वा कुलत के भन्ने बोकेर हिँड्ने बोकाको सिंग भइगयो । पत्रकारको परिचयपत्र बोकेर विदेशी दुतावास वा नेता र उच्चपदस्थ व्यक्तिहरुका घरसम्म पुग्ने र भत्ता बुझ्ने कर्मसँगै उनले मन्दमन्दरुपमा आग्रह गर्ने अमूल्य मदिरा आग्रहलाई धेरैले सामान्यरुपमा लिने गर्दथे । बिकु यसरी मालिकका घरदैलोमा पुग्दथे र कुत उठाउँथे मानौ उनको त्यो जन्मसिद्ध अधिकार हो । समाजमा पत्रकार, साहित्यकार, कलाकार आदीको मदिरासँगको मितव्ययिता कुनैबेलाको मितज्यू प्रहरभन्दा प्रगाढ हुनपुग्थ्यो ।

    हाम्रो जमातमा गफीदैगर्दा प्रोफेशरले बिकुडनको हात समाउँदै भने,
    ‘साइदुआ ब्रो ! तिमीले चाकडि गरेको, फिटान भएर रक्सि खाएको, सौजन्यमा बिदेश गएको उपलथ्यमा नियात्रा भाषण? आफ्नो निवासमा जोइटिग्र्रे भएर भूइँमा सुत्ने तर अरुको सोफामा वमन र पिशाव गर्ने छुट तिमीलाई कसले दियो? सक्छौ आफ्नै पैसाले रक्सि धोक्, हैन भने अरुको खाने र त्यही प्रसंगलाई बढाईचढाई गरेर आफैलाई ठूलो बनाउँने मपाइँ लेख रचनाको गैरकानूनी आख्यानीकरण? मुलापात कुरा बुझ् ! यो स्वास्थ्यको संकटकालिन् मौसममा तिम्रो लेख छापिएको पत्रिका त्यो पनि अग्र्यानिक शौचालयमा राख्ने काम बाहेक अरु कुनै सम्भावना र उपादेयीता छैन ! साथीहरु तपाईहरु नै भन्नोस् न ! यो बिकुडनले लाएको लुगामात्र होइन्, जुत्ता र मोजा अनि यसले कपालमा लाएको चमेली तेलपनि उधारोमा लिएको छ वा सौजन्यमा लिने गरेको छ ।’

    ‘मेरो अप्रिय मित्र बिकु ! शहरका कैयौ शयनकक्षहरुमा सुरक्षित सल ओढेर छिरेको मैले देखेको छु, किनकी म पनि त्यसरी नै हिँड्नेक्रममा जम्काभेटवशः भेटेको हुँ यो बज्जेलाई । तर मैले ती रतीरागका गल्छेडाहरुबारे कहिल्यै लेखेको छैन । कुनै औपचारीक सभामा भनेको छैन तर यो मुला हो कि फोक्सेमुला ? लुते ! बाउन्सर डन भए भन्दैमा अरुलाई होच्याएर लेख्न वा भन्न मिल्छ त ! यसले गरेको पाप त यसका गुरु ओशो वा रिम्पोछे वा मृतकिशुजीको अमृत आत्माले पनि पवित्र बनाउँन सक्दैन । छोरी उमेरका युवतीहरुसँग यसले कटुता साँधेकोछ, दिदी आमा उमेरका महिलाहरुसँग महिलासमानता बारेको तर्कज्ञान लडाउँदै हिँहिँ गर्दै महिनावरी नहुनुको फाइदा उठाएको छ । श्रीमतीको घर, खेत, खल्यानमा नाचेको छ अहिले आफैलाई महान् आत्मा भन्ठान्छ र त्यही तातोमा फलाकिरहेकोछ ।’

    चक्के प्रोफेशरले बिकुडनउपर आफ्नो शोधसहितको मन्तव्य राखेपछि साथीहरु सबैले ताली बजायौँ । बिकुडन अनन्य मित्र प्रोफेशरले गरेको कुराबाट प्रशन्न त भए किनकी जो साँचो कुरा बोले उनले तर बाँकि जीवन मेरो शैलीमा बाँच्न पाउनुपर्छ भन्दै पातलो पाइला सार्दै नजिकै रहेको रुखमुनि छेको पारेर लघुशंकामा जुटे । त्यपछि उनी यता छलफलमा सरीक होलान् भनेको त उनी रुखको छायाँ छल्दै झाडितर्फ गए ।

    भिडमा एक्लो यायावर बोल्यो ।
    परिचीत शरिरहरु जब औपचारीकताको जामा लाउँछन् ती नचिनीनेगरी बोल्दछन् र हामीलाई नै विस्मीत तुल्याइदिन्छन् । चाकडिको कौशलता ओढेर, आउने दिनको लोभमा रातो मनमौजि कार्पेटमा नवअतिथीलाई हिँडाइरहेका हुन्छन् । निमेषको रातो कार्पेटले डोर्याउँने घरभित्रको घारमा भएको महको लोभमा भन्कीरहेका मोहक शरिरी संगित धेरैको नियति हो सायद । सपना हेर्न सुत्न पल्केका स्वप्नदर्शीहरुको यो समाजमा सत्यको नगडा बजाउँने दमाहा दाई कहिँ टाढाबाट मृत्युको संकेत दिइरहेको छ ।

    प्रिय पात्र प्रोफेशर समाजको अगुवा कर्ता हो तर ऊ आफै बिलखबन्दमा परेको छ । विवेकलाई बलवान छाप खैनिको डिब्बामा थुनेकोछ । एलोपेथी बिक्रेता भएको हुँकारसँगै उ नेचुरोपेथीका बिक्रेता र उपभोक्ता दुबैको ढाड भाँचिनेगरी तिब्र प्रहार गरीरहेकोछ । उससँग केहि हुँदा केहि नभएझैँ बात माथ्र्यो । अहिले अभाव र चिन्तनको गरीबीमा घिस्रीरहेका बेला धेरै भएको भान पार्न ऊ बहुलाकाजिको सिको गरीरहेकोछ र नगरमा हिँड्ने साढेहरुको अण्डकोष नियालीरहेकोछ ।

    अप्रिय पत्रकार समाजको चौथो लिंगीको अगुवा कार्यकर्ता हो । उ आजीवन संरक्षकत्व लिन चाहन्छ र सौजन्यमा मदिरा पिउन चाहन्छ र लडेकोमा कारण खोज्न प्याजको दाना लिइ अम्बाको रुखमा बसेकोछ । अक्षरखेति उसको पुख्यौली मौजा हो तसर्थ ऊसको भ्रम देशबाहिरपनि त्यस्तै हुन्छ जस्तो रवाफ यहाँ छ । उसको ज्ञानको वाफको शक्तिलाई चियाको कित्ली हल्लाउँने बाफसंगितले चियाएर हेर्छ । बिकुडन कुनै बिकाउमालको रुपमा एकजोडा हात्तीछाप चप्पल र एकजोडी गोल्डस्टार हरियो जुत्ता लिएर गुह्यज्ञानको खोजमा निक्लेकोछ ।

     

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस